डिजिटल प्रविधिले जीवन सरल बन्दै : सञ्चारमन्त्री-प्रवक्ता बाँस्कोटा (भिडियो सहित)

तोलाकान्त बगाले/ वालिङ :

सरकारका प्रवक्ता सञ्चार सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिकतासँगै बढ्दो प्रविधिले जीवन सरलतातर्फ उन्मुख हुँदै गएको बताउनुभएको छ ।

वालिङ नगरपालिकाले शुक्रबार वालिङमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै प्रवक्ता बाँस्कोटाले नेपालका केही कार्यालयहरुमा डिजिटल प्रविधिको शुरुवात गर्नेक्रममा वालिङ नगरपालिका पनि छनोट भएको स्मरण गराउँदै सरकारकोतर्फबाट पूरा गर्नका लागि सहयोग हुने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

“सपना कममात्रै मान्छेले देख्छन् देखिएका सपना पूरा गर्नका लागि लाग्ने बेला हो” प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “चन्द्रमामा पुग्न जसरी संभव भयो त्यसैगरी सुखी र समृद्ध बनाउन सकिन्छ ।”

सूचना तथा प्रविधिको सही प्रयोगले जीवनलाई सरलतातर्फ लैजाने र यसैको दुरुपयोगका कारण समाजमा अनेक विकृतिहरु प्नि भित्रन सक्ने भएकाले सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सरकार प्रगति देखाउने गरी अगाडि बढेको भूमि ब्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताउनुभयो । उहाँले सरकार डिजिटल प्रविधिमा फड्को मार्दै अगाडि बढेको बताउँदै देखिएका सपनाहरु पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । केही सरकारी झण्झटिलोका कारण सिद्धार्थ राजमार्ग चौडा गर्ने प्रक्रिया कार्यान्वयनमा ढिला भएको बताउँदै मन्त्री अर्यालले अब उक्त कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ नगरपालिका डिजिटल प्रविधिबाट काम गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

वालिङ नगरपालिकाले आधुनिक सूचना तथा प्रविधिलाई प्राथमिकतामा राख्दै नगरपालिकाबाट प्रदान गर्ने सेवाहरुलाई पेपरलेस, क्यासलेस तथा समग्रमा डिजिटल प्रविधिबाट सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

वालिङ नगरपालिका कार्यालयभित्र प्रवेश गर्दा दलगत कुरा अहिलेसम्म नउठेको र विकासका लागि सबै दल एकजुट भएर अगाडि बढ्नु वालिङका लागि उदाहरणीय कार्य भएको नगर प्रमुख खाँणले बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले वालिङको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्व एवं स्वागतमा सम्पन्न कार्यक्रममा धन्यवाद नगर उपप्रमुख कल्पना तिवारीले र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले गर्नुभएको थियो ।

भिडियो

Facebook Comments Box
TOP