वालिङ : मेलमिलापकर्ताहरुका लागि ४८ घण्टे तालिम शुरु ।

तोलाकान्त बगाले/वालिङ :
स्थानीय सरकार सवलीकरणसम्बन्धी आधारभूत सामुदायिक मेलमिलाप तालिम आजबाट वालिङमा शुरु भएको छ ।
‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ वालिङ नगरपालिकाको आयोजना, अष्ट्रेलियन एड र दि एशिया फाउण्डेशनको सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा तालिम हुने भएको हो ।

वालिङ नगरपालिकाका १४ वटै वडाबाट ६/६ जना छनौट भई आएका ८४ जनालाई मेलमिलापकर्ताको आधारभूत तालिममा सहभागी बनाईएको हो ।
तालिमको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलिपप्रपताप खाँणले वालिङ नगरपालिकाभित्रको न्याय प्रणालीलाई मजबुत बनाउन मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण हुने भएकाले तटस्थ भएर लाग्न सुझाव दिनुभयो ।
“अनेक बाहनामा द्वन्द्व उत्पन्न हुन्छ, मेलमिलापका माध्यमबाट मिलाउन सकिने स–साना द्वन्द्वहरु आफ्नै गाउँ ठाउँमा मिलाउन मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण हुन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “द्वन्द्व ब्यवस्थापन मेलमिलापबाट गराउने जिम्मेवारी मेलमिलापकर्ताको भएको हुँदा तपाईहरु तटस्थ र नैतिकतामा रहेर अगाडि बढ्नुहोस् जसले भोलिका दिनमा पनि तपाईलाई नै खोज्ने र रोज्ने वातावरणको सिर्जना होस् ।”
द्वन्द्वको बीउलाई जरैपाई निर्मूल गरी द्वन्द्व ब्यवस्थापन गर्दै वालिङको न्याय प्रणालीलाई नमूनायोग्य बनाउन सबै एकजुट भएर लाग्न पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले वडा वडाबाट जिम्मेवारी पाएसँगै छनौट भएर तालिममा सहभागी हुनुभएकाले भोलिका दिनमा तालिममा सिकेका सीपलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मेलमिलापको माध्यमबाट दुबै पक्षको जित हुने भएकाले पनि यो प्रणाली प्रभावकारी हुँदै गएको उपप्रमुख तिवारीको भनाई थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले न्याय सम्पादनका दृष्टिले वालिङलाई नमूना नगरकोरुपमा विकास गर्नका लागि वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरी आफ्नै गाउँ ठाउँमा न्याय पाउने वातावरण बनाउन लागिएको बताउनुभयो ।
उद्घाटन समारोहमा नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष केदार काफ्ले, दि एशिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका लेखा अधिकृत रमिला हुमागाईले कार्यक्रमकाबारेमा प्रकाश पार्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले र सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…