वालिङ : मेलमिलापकर्ताहरुका लागि ४८ घण्टे तालिम दिईयो ।

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिकामा सञ्चालित स्थानीय सरकार सवलीकरणसम्बन्धी ४८ घण्टे आधारभूत सामुदायिक मेलमिलाप तालिम मंगलबार सकिएको छ ।

‘दीगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ वालिङ नगरपालिकाको आयोजना, अष्ट्रेलियन एड र दि एशिया फाउण्डेशनको सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा तालिम समापन भएको हो ।
वालिङ नगरपालिकाका १४ वटै वडाबाट ६/६ जना छनौट भई आएका ८४ जनालाई मेलमिलापकर्ताको आधारभूत तालिममा सहभागी भएका थिए ।

तालिमको समापन तथा सहभागी मेलमिलापकर्ताहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै जिल्ला न्यायधिश बलराम त्रिपाठीले मेलमिलापबाट युद्ध र द्वन्द्वलाई रोक्न सकिने भएकाले मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । वालिङ नगरपालिकाले न्याय सम्पादनमा जिल्लामै उत्कृष्ट कार्य गरेको गर्दै नमूनाकोरुपमा अगाडि बढाएको न्यायधिश त्रिपाठीले बताउनुभयो ।
“कानूनको मूल उद्धेश्य न्याय दिनु हो” न्यायधिश त्रिपाठीले भन्नुभयो, “तपाईहरुले कोही कसैलाई कर गरेर होईन तटस्थ भएर न्याय दिनुहोस् ।”
कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रपताप खाँणले वालिङ नगरपालिकाभित्रको न्याय प्रणालीलाई मजबुत बनाउन मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण हुने भएकाले तटस्थ भएर लाग्न सुझाव दिनुभयो । स्थानीय स्तरमै न्याय साटासाट गर्ने वातावरणको सिर्जना गर्न मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो ।
“नागरिकले न्याय र मानवताको अनुभूति प्राप्त गर्न सक्ने गरी जिम्मेवारीपूर्वक अगाडि बढ्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “आगामी दिनमा तपाईहरुलाई आवश्यक पर्ने पुनर्ताजगी तालिमहरु प्रदान गर्दै जाने छौं ।”

द्वन्द्व ब्यवस्थापन मेलमिलापका माध्यमबाट गराउने जिम्मेवारी मेलमिलापकर्ताको भएको हुँदा तपाईहरु तटस्थ र नैतिकतामा रहेर अगाडि बढ्न नगर प्रमुख खाँणले सुझाव दिनुभयो ।
कार्यक्रममा उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले वडा वडाबाट जिम्मेवारी पाएसँगै छनौट भएर तालिममा सहभागी हुनुभएकाले भोलिका दिनमा तालिममा सिकेका सीपलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मेलमिलापको माध्यमबाट दुबै पक्षको जित हुने भएकाले पनि यो प्रणाली प्रभावकारी हुँदै गएको उपप्रमुख तिवारीको भनाई थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीले तालिममा सिकेका सिपलाई दैनिक ब्यवहारमा लागू गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले न्याय सम्पादनका दृष्टिले वालिङलाई नमूना नगरकोरुपमा विकास गर्नका लागि वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरी आफ्नै गाउँ ठाउँमा न्याय पाउने वातावरण बनाउन लागिएको बताउनुभयो ।
समापन समारोहमा दि एशिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका लेखा अधिकृत रमिला हुमागाई, सहभागीहरुबाट विद्या श्रेष्ठ, कविता भुसाल लागयतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको स्वागतसँगै शुरु भएको समापन समारोह उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले गर्नुभएको थियो ।



समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…