लक्ष्मी मूर्ति विसर्जन बिबाद : प्रहरीको गोली लागि १ जनाको मुत्यु, कृष्णनगर क्षेत्रमा कर्फ्यू

मणि प्रसाद गैह्रे/कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्‍फ्युको अवज्ञा गरेको आरोपमा प्रहरीले चलाएको गोली लागि १ जना स्थानीयको ज्यान गएको छ ।

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो। झडपमा प्रहरीको गोली लागेपछि स्थानीय कृष्णनगर नगरपालिका वडा नं २ का २० बर्षिय सुरज पाण्डेयको मुत्यु भएको छ। स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । गोली लागि मारिएका पाण्डेको टाउकोमा रामनामी लगाएको देखिन्छ।

बुधबार साँझदेखि सुरु भएको विवादले विहिबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्‍फ्यु जारी गरेको छ।

मूर्ति विसर्जन गर्ने क्रममा रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो । विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि स्थिति थप तनावग्रस्त बनेको प्रहरीको दावी छ।

प्रशासनले विहान ११ बजे देखि अर्को आदेश नभएसम्मका लागि कर्‍फ्यु जारी गरेको छ । कर्फयू कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फयू जारी गरिएको प्रशासनद्धारा जानकारी दिइएको छ ।

गत बर्षपनि कृष्णनगरमा दुर्गा पूजाको मूर्ती विसर्जनका बेला यस्तै कर्‍फ्यु जारी गरिएको थियो । बेला बेला कृष्णनगर क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ ।

मुस्लिम समुदाय आफ्नो क्षेत्रबाट हिन्दु समुदायको दुर्गा/ लक्ष्मी विसर्जन गर्न दिन अवरोध गर्दै आएको छ भने स्थानिय हिन्दुहरुले परम्परागत बाटो प्रयोग गर्न पाउनु पर्ने बताउँदै आएको छ। स्थानीय पाण्डेयको मुत्यु पछि अहिले स्थानीय प्रहरीप्रति झनै आक्रोशित भएका छन् ।

Facebook Comments Box
TOP