ग्रहौँसुर मन्दिर-बडादशैँको अवधिमा साढे उन्नाइस लाख भेटी सङ्कलन ।

वालिङ : स्याङ्जाको प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा बडादशैँको अवधिमा रु १९ लाख ५० हजार भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ मा रहेको ग्रहौँसुर मन्दिर परिसरमा प्रहरी पोष्ट निर्माणका लागि रु आठ लाख २० हजार सङ्कलन भएको छ ।

ग्रहौँसुर धार्मिक एवम पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाणका अनुसार भेटीस्वरुप रु तीन लाख एक हजार, पाठाको टाउको बिक्रीबाट रु दुई लाख ७९ हजार, परेवा बिक्रीबाट रु ८७ हजार, होटल भाडाबाट रु ७७ हजार, सवारीसाधन पार्किङ शुल्कबाट रु ६७ हजार, सदस्यता वितरणबाट रु ६२ हजार, दानपात्रबाट रु ४० हजार तथा दानबाट रु १६ हजार आम्दानी भएको छ ।

बडादशैँको अवधिभर मन्दिरमा रु तीन लाख २४ हजार खर्च भएको ग्रहौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो ।

“बचत रकम विभिन्न पूर्वाधार निर्माणमा खर्च गरिनेछ”, उहाँले भन्नुभयो, “मन्दिरको विकासका लागि बृहत्तर गुरुयोजना बनाएका छौँ ।” मन्दिरमा बडादशैँ र चैतेदशैँका अवसरमा मेला लाग्छ । बडादशैँको अवधिभर झण्डै ८० हजार श्रद्धालुले मन्दिरको दर्शन गरेको गुरुङले बताउनुभयो । यहाँ स्याङ्जासहित पाल्पा, पर्वत, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, बाग्लुङलगायत जिल्लाबाट बढीजसो भक्तजन आउने गरेका छन् । रासस

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP