चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदै

काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदैछन्। २३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिक्तामा राखेको छ। हाल सी भारत भ्रमणमा छन्। शुक्रवार दिउँसो भारतको चेन्नई पुगेका सीले मोदीसँगको छलफलपछि केहीबेर आराम गरेर आजै नेपाल आउनेछन्। सीको भ्रमणलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। सीको भ्रमणका क्रममा केही घण्टा सडक खाली गराउने हुँदै सर्वसाधरणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
चिनियाँ राष्ट्रपति सी दिउँसो करिब ४:३० मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछन्। उनले नेपालमा करिब १९ घण्टा समय बिताउनेछन् । सी सहितको चिनियाँ प्रतिनिधिमण्डललाई ताहाचलस्थित सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ।
सोल्टीमा केही समय विश्राम गरेपछि सीले बेलुकी ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा बेलुकी ७:३० बजे सोल्टी होटलमा ‘स्टेट डिनर’ आयोजना गर्नेछिन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सीले शनिवार नै भेट गर्नेछन्। राष्ट्रपति सीले आइतवार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नेछन्। त्यसपछि करिब ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्वीपक्षीय वार्ता हुनेछ। त्यसक्रममा केही सन्धी- सम्झौतामा हस्ताक्षर हुनेछ।
सी जिनपिङसँगको वार्तामा नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई मुख्य एजेन्डा बनाउने तयारी गरिरहेको छ। ‘मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत मुख्यरुपमा कनेक्टिभिटीका कुराहरु पर्दछन्। यसमा रेलवे, सडक, फाइबर, विद्युत ट्रान्समिसन पर्छन्। जसबाट दुई देशका नागरिकहरु बीचको व्यापार, सम्बन्ध आदिलाई टेवा पुग्ने नेपालले विश्वास लिएको छ।
आइतवारै दिउँसो १ बजे चीनका राष्ट्रपति सी स्वदेश प्रस्थान गर्ने जनाइएको छ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…