बैंकिङ तथा बित्तीय कारोबारका विषयमा अन्तरक्रिया,कृषि तथा पशुपालनका लागि सहुलियतमा कर्जा उपलब्ध गराउनुहोस् : नगर प्रमुख खाँण।

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले कृषि तथा पशुपालनलाई ब्यवसायिकरुपमा अगाडि बढाउनका लागि बैंक तथा बित्तीय संस्थाले सहुलियत दरमा कर्जा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
वालिङ उद्योग वाणिज्य संघ र गरिमा विकास बैंकको संयुक्त आयोजनामा वालिङमा शुक्रबार भएको बैंकिङ तथा बित्तीय कारोबारका विषयमा व्यवसायीहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख एवं बैंकका पूर्व अध्यक्ष खाँणले विकास बैंकहरुमध्ये उत्कृष्ट बन्दै गरेको गरिमा विकास बैंक अब छिट्टै कमर्सियल बैंककोरुपमा रुपान्तरण हुने बताउनुभएको छ ।
“उत्पादन र उद्यमशिलता विना आर्थिक विकास हुन सक्दैन” नगर प्रमुख खाँणले भन्नुभयो, “अब बैंक तथा वित्तीय संस्थाले उत्पादन तथा उद्यमशिलतातर्फ जोड दिनु आवश्यक छ ।” कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले वालिङबाट शुरु भएको बंैकले ठूलो फड्को मारेको र आगामी दिनमा अझै उत्कृष्ट बन्न सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्चालक श्यामप्रसाद बस्यालले बैंकले व्यवसायीहरुलाई सरल तथा सहज ऋण प्रवाह गरिहेको बताउनुभयो । कार्यक्रममा व्यवसायीहरुका जिज्ञासा तथा प्रश्नहरुकाबारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष गोविन्द ढकालले सहजीकरण गर्नुभएको थियो । बैंककाबारेमा जानकारी कम्पनी सचिव माधवप्रसाद आचार्यले गर्नुभएको थियो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले र सञ्चालन महासचिव केशरबहादुर खांणले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP