संविधान दिवसका अवसरमा वालिङमा विरामीहरुलाई फलफूल वितरण ।

आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिकाले संविधान दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण गरेको छ । रोटरी क्लब वालिङको संयोजनमा ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र र वालिङ हस्पिटलमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।


कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले संविधान दिवस नेपालीहरुका लागि ऐतिहासिक दिन भएको बताउनु भयो । उहाँले भन्नुभयो, “यो संविधानले सवैको अधिकारलाई संरक्षण गरेको छ ।”
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले संविधान दिवसलाई ३ दिनसम्म मनाउने क्रममा पहिलो दिन विरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको जानकारी दिनुभयो । कार्यक्रम रोटरी क्लव वालिङका अध्यक्ष राजेन्द्र डुम्रेको अध्यक्षता र सचिव मधुसुदन आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।


आजै नगरस्थित सबै विद्यालयहरुमा संविधान सम्बन्धी कविता, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै भोली वालिङ उद्योग वाणिज्य संघ तथा राष्ट्रिय दलित समाजको संयोजनमा नगरपालिका कार्यालयबाट विभिन्न समुदायका झाँकी, बाजागाजासहित प्रभातफेरी तथा अन्तरक्रिया, साँझ ५ बजे वालिङ जेसीजको संयोजनमा वालिङ मोडमा दीप प्रज्वलन गर्ने र पदम गुरुङको संयोजनमा वालिङ मोडमा देशभक्तिपूर्ण कन्सर्ट गर्ने कार्यक्रम तय भएकाछन् ।
त्यस्तै असोज ४ गते सरसफाई समितिको संयोजक यु्गमाया पंगेनीको संयोजनमा सरसफाई अभियान सञ्चालन गरिने भएको छ । संविधान दिवसका अवसरमा आजदेखि ४ गतेसम्म बस्तु तथा सेवाको बिक्रीमा छुट दिने, घर घरमा नेपालको राष्ट्रिय झण्डा राख्ने तथा दीपावली गर्ने, रेडियो तथा टेलिभिजनमा संविधानसम्बन्धी परिसंवाद गरिँदैछ ।
यस्तै वालिङ ९ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ, वालिङ टेलिभिजन र प्याब्सनको संयोजनमा टिशर्ट,क्याप तथा झण्डा वितरण गर्ने काम शुरु भएको छ ।

Facebook Comments Box
TOP