कृषिमा क्रान्ति नभए सम्म नेपालमा दीगो आर्थिक उन्नती हुन सक्तैन -रेग्मी ।

आँधीखोला खवर/वालिङ:
समाजसेवी एवं नेपाली कांग्रेसका नेता लक्ष्मीकान्त रेग्मीले कृषिमा क्रान्ति नभए सम्म सिंगो नेपालको आर्थिक उन्नती हुन नसक्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, “हामी निर्वाहमुखी कृषि प्रणालीमा मात्रै अल्झियौं अव आमुल परिवर्तन ल्याउने गरी कृषिको क्षेत्रमा काम गर्नु पर्छ । ”
वालिङ नगरपालिकामा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा नम्वर ७ मा भएको अन्तरक्रियामा बोल्दै साविक केवरे गाविसका अध्यक्ष समेत रहनु भएका रेग्मीले भन्नुभयो, “ जुन सुकै काम पनि जागर सँग गरौं सफलता हामी सँगै छ । ”


कार्यक्रममा बोल्ने बक्ताहरुले कृषि प्रणालीमा आधुनिकता नहुदा आफूहरु समस्यामा परेको गुनाशो गरेका थिए । उनीहरुले माटो परिक्षण, बजारको समस्या, उचित सीप तालिमको अभाव आदिको बारेमा आ—आफुनो भनाई राखेका थिए ।
कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष पाण्डु कुमार थापाले वडाको आवश्यक्ता, हुन सक्ने खेती र उद्यमका बारेमा जानकारी गराउनु भयो ।


पूर्व वडा सचिव चन्द्र प्रसाद रेग्मीको स्वागतसँगै शुरु भएको कार्यक्रम वडा अध्यक्ष पाण्डु कुमार थापाको सभापतित्व र वडा सदस्य तुल्सीराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै वडा नम्वर ११ मा भएको कार्यक्रममा बोल्दै व्यवशायिक कृषक श्याम प्रसाद अर्यालले वडाको वास्तविक सर्भेक्षणले कार्यक्रम सञ्चालन गर्न सहज हुने धारणा राख्नुभयो । उहाँले सरकारले वास्तविक कृषकलाई सहयोग गर्नु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले कृषिका विभिन्न समस्याका बारेमा आ—आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष बसन्त कुमार मल्लले वालिङ नगरपालिकामा शुरु भएको परियोजनालाई अवसरका रुपमा लिन कृषक तथा उद्यमीहरुलाई आग्रह गर्नुभयो । उहाँले विषादी रहित तरकारी उत्पादनमा जोड दिन सुझाव समेत दिनुभयो ।


दुवै वडामा भएका अन्तरक्रियामा परियोजनाका प्रमुख राधाकृष्ण डुम्रेले कार्यक्रमको योजना, लक्ष्य, तथा दीर्घकालिन प्रभावका बारेमा जानकारी गराउनु भएको थियो ।

Facebook Comments Box
TOP