न्याय बिना सभ्यता,विकास र ज्ञानको कुनै औचित्य हुँदैन – नगर प्रमुख खााँण ।

राधाकृष्ण डुम्रे/वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले न्याय बिना सभ्यता,विकास र ज्ञानको कुनै औचित्य नहुने बताउनु भएको छ । वालिङ नगरपालिकामा शुरु गरिएको सामुदायिक मेलमिलाप तथा अभिमुखीकरण कार्यक्रम अन्तर्गत वडा नम्वर १० मा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख खाँणले भन्नुभयो सरल र सहज न्यायले मात्रै समग्र मानव जातीको हित हुन सक्दछ ।
उहाँले न्याय, घर तथा समाजमा सहज रुपमा पाउने वातावरण तयार गर्न नगरपालिका लागि परेको जानकारी दिनुभयो । उहाँले थप्नुभयो गाँउ तथा टोलमा नै न्याय तथा आत्म सम्मान पाईने वातावरणको सृजना गर्नु अहिलेको आवश्यक्ता हो ।


नगरपालिकाले पाईलट प्रोजेक्टका रुपमा नै यो अभियानलाई शुरु गरेको भन्दै प्रमुख खाँणले दुवै पक्षले जित्ने गरी न्यायको अनुभूती गराउने नगरपालिकाको अभियानमा साथ दिन नगरवासीलाई आग्रह समेत गर्नुभयो ।
वालिङ नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रको सहजीकरणमा भएको कार्यक्रममा वोल्दै वालिङ नगरपालिका न्यायिक समितीका संयोजक तथा उपप्रमुख कल्पना तिवारीले न्यायिक समितीले मेलमिलापकै आधारमा धेरै मुद्धा किनारा लगाएकोे जानकारी दिनुभयो । प्रहरीमा जाँदा दुवै पक्षलाई असहज हुन्छ भन्दै उहाँले भन्नुभयो गाँउमा नै एक आपसमा बसेर समस्याको सहज निकास निकाल्ने पहल गर्नु पर्छ र फाटेका मनहरुलाई सिलाउनु पर्छ ।


उपप्रमुख तिवारीले स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ को धारा १ र २ ले व्यवस्था गरे अनुरुप न्याय सम्पादन गरिरहेको जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले दुवैलाई आत्सम्मान पुग्ने गरी समाजमा नै मेलमिलाप गर्नु पर्ने बताउनु भयो । उहाँले समाजमा नै मेलमिलाप गर्दा उनीहरुको जीवन सहज बन्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र प्रसाद गैह्रेले समाजको विकासको लागि यो अभियान सफल हुने बताउनु भयो ।
सो अवसरमा वडा अध्यक्ष अनन्तराज गैह्रेले सामान्य घटनाको वडामा नै मेलमिलापको पहल गरिने जानकारी दिनुभयो ।


कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका संयोजक सीताराम पौडेलले सहजीकरण गर्नु भएको कार्यक्रमको सञ्चालन अनुशा काफ्ले गर्नु भएको थियो । वडा नम्वर १० को कार्यालयमा आयोजना गरिएको कार्यक्रममा मेलमिलाप सम्वन्धी तालिमका लागि ६ जनाको समेत छनौट गरिएको छ । यस्तै सोमवार नै वालिङ नगरपालिकाको वडा नम्वर १४ मा कार्यक्रम गरिने बताईएको छ ।

Facebook Comments Box
TOP