जनैपूर्णिमा र रक्षाबन्धन ।

ज्यो. चक्रपाणी डुम्रे (शास्त्री) :
      विविध सास्कृतिक चाड पर्वहरू मध्ये हिन्दू धर्मावलम्बीहरूले  मनाउने एउटा पवित्र दिन एवं प्रमुख चाड हो जनैपूणिर्मा वा रक्षाबन्धन। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई ऋषि तर्पणी तथा रक्षा बन्धन पनि भनिन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन  ब्राह्मणहरूले  नुहाई-धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षासूत्र पनि भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षाबन्धनबाँधेर टिका लगाईदिने गर्छन । बदलामा शिष्य – यजमानहरू ब्राह्मणलाई दक्षिणा वस्त्रादि उपहार दिने गर्छन ।यसैगरी, योदिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाईब’ऋषितर्पणी’का नामले पनि चिनिन्छ । यसै  दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ। दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

   सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । अर्को  पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेका थिए ।
पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरेका थिए ।

    त्यसैका आज पनि ब्राह्मण वा आचार्य गुरूहरू शिष्य- यजमानहरू लाई 
“येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल “।। अर्थात् जुन रक्षासूत्रले अत्यन्तवलशाली राजा वलि बाँधिए पछि सारा देवगण सुरक्षित भए,म त्यही रक्षासूत्रले बाँधी तिमिलाई सुरक्षितगर्दछु ।” तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमारक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । एक अर्को प्रसङ्ग अनुसार जब यमराजले आफ्नो बहिनी यमुनासंग राखीबांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ ।

   हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थातवेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा , विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि ( कश्यप, अत्री, भारद्वाज, गौतम , जमदग्नि , वशिष्ठ र विश्वामित्र ) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिन्छ। 

वैज्ञानिक एवं ब्यवहारिक  दृष्टिबाट पनि जनै लगाउँदा मानिसलाई स्वस्थ  रहने महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । जस्तै :
– यसले हृदय रोगको सम्भावनालाई कम गर्छ ।
– चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष गुप्तेन्द्रियसँग जोडिएको हुन्छ ।
– पिसाब फेर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा 
हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देखे समस्याबाट मुक्ति मिल्दछ ।
– निन्द्रामा भुत प्रेत आदिबाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति 
मिल्छ ।
– काँधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचाप समस्याबाट बच्न सकिन्छ ।
– जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन्
– जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो,  यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बल श्रीवृद्धि हुन्छ ।

   खासगरी जनैपूणिर्मा एवं पबित्रताको पर्व हो। जसलाई धार्मिक उत्सव पनि मान्न सकिन्छ । आपसी सम्बन्धलाई पनि मजबुत राख्न प्रेरणा दिने पर्व पनि हो तसर्थ पर्व भित्रको रहस्यलाई बोध गर्दै बिकृतीलाई निरुत्साहित गर्दै संस्कार संस्कृती सम्बर्द्धनमा जोड दिदै अगि बढ्यौ भने पर्वको गरिमा अझ उच्च रहन्छ । अस्तु।

Facebook Comments Box
TOP