धार्मिक पर्यटन प्रवर्द्धनको लागि वालिङको बोलबम टोली मनाङको तिलिचो तर्फ ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
धार्मिक पर्यटन प्रवर्द्धनको लागि भन्दै स्याङ्जाको वालिङबाट बोलबमको टोली मनाङको तिलिचो ताल तर्फ प्रस्थान गरेको छ । एक दशक देखि वालिङ बोलबम समितिले शान्तिका लागि बोलबम यात्रा गर्दै आएको छ । हरेक श्रावण महिनामा नेपालका विभिन्न धार्मिक स्थलमा पुगेर कालीगण्डकीको जल चढाउदै आएको बोलबम समितिले यो पटक भने धार्मिक प्रवर्द्धनका लागि मनाङ्को तिलिचो ताल तर्फ प्रस्थान गरेको हो ।


सरकारले सन् २०२० लाई पर्यटन बर्षका घोषणा गरे सगै वालिङ बोलबम समितिले यो पटक धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले धार्मिक यात्रा शुरु गरेको बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिनुभयो । आईतवार देखि शुरु भएको यात्रा नेपाल कै अग्लो ताल तिलिचो पुग्ने छ । तिवारीका अनुसार तनहुँको इशानेश्वर महादेव मन्दिरमा कालीगण्डकीको जल चढाए सँगै तिलीचो ताल पुगेर फर्कने कार्यक्रम रहेको जानकारी दिनुभयो ।


हरेक बर्ष शान्तिका लागि बोलबम भन्ने नारा तय गरेर धार्मिक क्षेत्रको दर्शन गर्ने गरेका थियौं समितिका अध्यक्ष तिवारीले भन्नुभयो, “यो पटकको हाम्रो यात्रा शान्ति सगै पर्यटन प्रवर्द्धनलाई जोड दिएका छौं ।” सरकारले २०२० लाई पर्यटन बर्ष घोषणालाई हाम्रो धार्मिक यात्राले पनि सघाउ पुग्ने विश्वास लिएका छौं तिवारीले भन्नुभयो ।
आईतबार देखि शुरु भएको यात्रा २० गते तनहुँको इशानेश्वर महादेव मन्दिरको दर्शन बेसीशहरमा बास बस्ने, बेसी शहरबाट मनाङ्को खाङ्सारमा बास बस्ने र २२ गते बेस क्याम्पमा पुगेर बास बस्ने गरी २३ गते तिलिचो ताल पुग्ने यात्रा तालिका रहेको संयोजक राजु तिवारीले जानकारी दिनुभयो । यात्रामा कुनै कठिनाई वा समस्या नआउने गरी सबै व्यवस्थापन मिलाएको अर्का व्यवस्थापक युवराज गौतमले जानकारी दिनुभयो ।


बोलबमको टोलीलाई विदाई गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले भ्रमण धार्मिक सँगै पर्यटन प्रवर्धनमा सहयोगी हुने विश्वास व्यक्त गर्नु भयो । भ्रमणलाई स्याङ्जाका धार्मिक स्थलहरुको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोगी गराउन सहभागीहरुलाई आग्रह समेत गर्नुभयो ।
विदाई कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी,नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष केदार काफ्ले, वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल,बोलबम समितिका चन्द्रमान् श्रेष्ठ र युवराज गौतमले यात्राको विभिन्न पक्षका बारेमा जानकारी गराएका थिए ।


विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्र पराजुलीको स्वस्तीबाचनसँगै यात्रा शुरु भएको थियो ।
वालिङ बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव राजु तिवारीले गर्नु भएको थियो । यात्रामा १ सय जनाको सहभागिता रहेको छ ।
२०६१ सालबाट बोलबम समितिले हरेक श्रावण महिनामा मुलुकका हरेक धार्मिक स्थल पुग्दै आएका छन । पहिलो मुक्तिनाथ बाट यात्रा शुरु गरेको समितिको यो १४ औं संस्करणको यात्रा हो ।

Facebook Comments Box
TOP