वालिङमा २ करोडको कृषि सम्वन्धी मोडेल प्रोजेक्ट सञ्चालनमा, ९ महिनामा १ हजार उद्यमी सृजना गरिने ।

आँधीखोला खवर/वालिङ :
स्याङ्जाको मध्यमागमा रहेको वालिङमा कृषि सम्वन्धी मोडल प्रोजेक्टको थालनीे भएको छ । यूएनडिपिको १ करोड र वालिङ नगरपालिकाको १ करोड गरी २ करोड लगानी रहने गरी मोडल प्रोजेक्टले दिर्घकालीन फाईदा दिने अपेक्षा लिईएको छ । प्रारम्भमा नगरपालिकाको १ करोड भए पनि यस्को स्वामित्व र अन्य लगानी समेत नगरपालिकाले गर्नेछ ।
योजनाका बारेमा जानकारी गराउन बुधबार समन्वयात्मक बैठक तथा पत्रकार सम्मेलन गरीएको थियो । दियालो गैह्र सरकारी संस्थाले यूएनडिपी र वालिङ नगरपालिकाको सहयोगमा योजना सम्पन्न गर्नेछ । योजना अन्र्तगत शीप, तालिम र कृषि उद्यम विकासद्वारा आर्थिक सशक्तिकरणमा जोड दिईनेछ । १४ वटै वडाका वडा अध्यक्षहरु, बोर्ड सदस्यहरु सहितको समन्वयात्मक बैठकमा नगरप्रमुख दिलिपप्रताप खांणले १४ वटै वडामा २ सय सहकारीमार्फत किसान समक्ष पुगिने जानकारी दिनुभयो ।


प्रमुख खांणले भन्नुभयो, “यूनडिपिको एसडिजि—२०३० कार्यक्रम अन्र्तगत योजना दिगो विकास लक्ष्य प्राप्तिका लागि हो ।” वडा अध्यक्षको अध्यक्षतामा समिति गठन गरी प्रत्येक टोलमा के उत्पादन गर्न सकिन्छ सोही अनुसार योजना लगिने प्रमुख खांणको भनाई थियो । साथै वालिङ प्रोडक्ट होल्डिङ को–अपरेटिभ मार्फत यहाँका उत्पादन देश विदेशमा पुग्ने गरी योजनाको शुरुवात गरिएको प्रमुख खांणले बताउनुभयो । कार्यक्रममा यूएनडिपिका गण्डकी प्रदेश कार्यालय प्रमुख सुदिप अर्यालले दीगो विकास लक्ष्य स्थानीयकरणको लागि मोडल प्रोजेक्ट शुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘सन २०३० सम्म १७ लक्ष्यहरु र १ सय ६९ वटा उद्देश्य रहेकाछन् , जसको लक्ष्य प्राप्तीको लागि स्थानीय सरकार र जनताको अहम भुमिका रहन्छ ।’


त्यस्तै पत्रकार सम्मेलनमा प्रमुख खांणले गाउँ – गाउँमा मानिस धनी नभईकन मुलुक समृद्ध हुन नसक्ने भन्दै त्यसका लागि उत्पादन बढाउनुपर्ने बताउनुभयो । नगरपालिका भरी २०० टोल र ३१० गाउँहरु रहेको भन्दै गाउँलाई मर्ज गर्दै टोलमा समेटेर सहकारी माफर्त काम गरिने उहाँले ताउनुभयो ।
प्रमुख खांणले भन्नुभयो, “पुरानालाई सोही अनुसार अगाडि बढाउँछौँ नयाँलाई दर्ता काम सुरु गरी कृषि उपज खरिद गर्ने, कृषकलाई ऋण दिनेछ, प्रत्येक सहकारीले ३० प्रतिशत कृषिमा लगाउनुपर्नेछ ।” “अवको २ वर्षमा आयात प्रतिस्थापन गरी नगरपालिकाको उत्पादन देश तथा विदेशमा पुर्याउने दीगो विकासको लक्ष्य हामीले लिएका छौँ” प्रमुख खांणले भन्नुभयो । कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले भन्नुभयो, “योजनामो मुख्य उद्देश्य भनेको बैदेशिक रोजगारी न्युनिकरण गर्ने उद्यम बन र कमाउ आर्थिक रुपमा सक्षम होउ भन्ने नै हो ।” विशेषगरी कृषिलाई प्राथामिकता दिईएको भन्दै कृषि औजार,ऋण तालिम विउविजन समेत किसानलाई दिईने र बैज्ञानिक कृषिमा रुपान्तरण गरिने अध्यक्ष गैह्रेको भनाई छ । योजनाका लागी १९ जना कर्मचारी परिचालन गरिनेछ ।
कार्यक्रम दियालो संस्थाकी अध्यक्ष कविता गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी र सञ्चालन संस्थाकी सचिव सिता गौडेलले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP