वालिङका व्यवसायीलाई कर शिक्षा, व्यवहारीक कर प्रणाली बनाउन माग ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
नेपाल सरकारले व्यवस्था गरेका वर्तमान कर÷राजस्व नीति तथा व्यवस्थाको सन्दर्भमा वालिङका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । श्रावण १ गते देखि सरकाले भीटिसिएस लगायतका कर प्रणाली लागु गरेपछि अन्योलमा रहेका व्यवसायीलाई कर शिक्षा मार्फत जानकारी गराइएको हो । अनलाईन सिस्टमबाट कर असुली गर्ने प्रणालीको विकास सगै वालिङका व्यवसायी अन्योलमा पर्दै आएका थिए । एक हप्ता अगाडि वालिङ उद्योग वाणिज्य संघले यो प्रणालीलाई विस्तारै लागु गर्न आग्रह गर्दै विज्ञप्ती मार्फत समेत सरकारलाई ध्यानाकर्षण गराएको थियो । वालिङ उद्योग वाणिज्य संघको आयोजना र आन्तरीक राजस्व कार्यालय पोखराको प्राविधिक सहयोगमा कर शिक्षा कार्यक्रम आयोजना गरिएको थियो । अधिकांश व्यवसायीले सरकारले लागु गर्न खोजेको कर प्रणाली व्यवहारीक नभएको गुनासो गरेका छन् ।


व्यवसायीहरु सरकारलाई कर तिर्न उत्सुकता भएपनि झन्झटीलो परिपाटीले गाह्रो हुने गरेको व्यवसायीहरुले बताएका थिए । सहज र सरल प्रणाली लागु गर्न सकेमा साना व्यवसायीलाई करको मुलधारमा ल्याउन सहज हुने उनीहरुको भनाई छ । व्यवसायी पुराना तर करको कानुन नयाँ आउदा कर प्रणाली अत्यन्तै झन्झटिलो महशुष भएको सहभागी व्यवसायी टिकाराम डुम्रेले बताउनु भयो । सयौंको संख्यामा सहभागी भएका व्यवसायीले उठाएको जिज्ञासाको उत्तर आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले दिनुभएको थियो । सरकारले ल्याएको कर प्रणाली अत्यन्तै सरल छ, तर व्यवसायी कर कार्यालय सम्म पुग्नै चाहानु हुदैन उप्रेतीले भन्नुभयो,“विचौलियाका कारण कर प्रणाली झन्झटिलो महशुष भएको होला ।” खरिद र बिक्रिको हिसाब किताव राम्रो सगँ राखेर आएको फाइदाको कर तिर्न किन बिचौलियाको प्रयोग गर्ने उप्रेतीले व्यवसायीलाई भन्नुभयो ।


बर्षको एक पटक कर कार्यालयमा गएर आफ्नो खाता हेर्ने परिपाटीको बानी बसाल्न सक्ने हो भने कर के हो भन्ने सबैलाई सजिलै थाहा हुने उप्रेतीको भनाई छ । अब किन्नेले पनि विल लिने र बिक्रि गर्नेले पनि विल दिने काम गर्नु होला उप्रेतीले भन्नुभयो,“किन्ने र खरिद गर्ने दुवैले बिलको कारोवार नभएमा दुवैलाई सजायको व्यवस्था छ ।” त्यसैले अनिबार्य खरिद बिक्रिमा विलको प्रयोग गर्न नछुटाऊ कर प्रमुख उप्रेतीले सहभागीलाई सुझाउनु भयो ।


कर शिक्षा कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले कर तिर्नु नागरिकको दायीत्व भएको बताउनु भयो । कर प्रणालीको कानुनलाई सरल र जनताले बुझ्ने खालको हुनुपर्ने सुझाव खाँणले दिनुभयो । बाह्रय सामाग्री खरिद गरेर राष्ट्रवादी नहुने बताउदै नगर प्रमुख खाँणले स्वदेशमै उत्पादन र स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्न सरकार सगँ माग गर्नु भयो । मुलुकमै उत्पादन गर्ने उद्यमी राष्ट्रवादी हुने संज्ञा दिदै नगर प्रमुख खाँणले भारत र चिनलाई गाली गरेर राष्ट्रवादी नहुने जिकिर गर्नु भयो । मुलुकको आर्थिक आय बढाउन स्वदेशमै उत्पादनको खोजी हुनुपर्ने सुझाव खाँणको थियो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, उपाध्यक्ष गिरमान गुरुङ्, महासचिव धु्रवविक्रम खाँण लगायतका व्यवसायी नेताहरुले सबै व्यवसायीलाई कर तिर्ने प्रणालीका बारेमा बेला बेलामा छलफल हुनुपर्ने बताएका थिए । सहजै तिर्दै आएका व्यवसायीलाई एकै चोटी झन्झटिलो व्यवस्था लागु गर्दा व्यवसायी शसंकित हुन पुगेको उनीहरुले वुझाई छ ।

Facebook Comments Box
TOP