गरीब घर परिवार पहिचान/परिचय पत्र सम्वन्धी अन्तरक्रिया ।

आँधीखोला खवर/वालिङ :
स्याङ्जाको वालिङमा आईतबार गरीव घर परिवार पहिचान तथा परिचय पत्र वितरणसम्बन्धी अन्तरक्रिया गरिएको छ ।
वालिङ नगरपालिकाको आयोजनामा गरिएको गरीव घर परिवार पहिचान तथा परिचय पत्र वितरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले वालिङको गरीवी अन्त्य नहुँदासम्म नगर स्मार्ट हुन नसक्ने भएकाले पनि अब हरेक ब्यक्ति आर्थिक समृद्धितर्फ जोडिनु आवश्यक रहेको बताउनुभयो । उहाँले नगरभित्रका हरेक बस्तीमा पुगेर गरिने गणनाले वालिङ नगरपालिकामा गरीवीको रेखामुनी रहेकाको संख्या आउने भएकाले सोही वर्गलाई लक्षित गरी आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नगर प्रमुख दिलिपप्रताप खाँणले कार्यक्षेत्रमा खटिने गणकहरुले यथार्थ तथ्यांक ल्याउने र नगरपालिका, प्रदेश र संघीय सरकारले संयुक्तरुपमा परिचय पत्र वितरण गर्ने बताउनुभयो ।
“तपाईहरुले जति यथार्थ विवरण यहाँ ल्याउनुहुन्छ त्यति नै हामी लक्ष्य प्राप्तिमा नजिक पुग्छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “यो विवरणबाट नगरभित्र गरीवीको रेखाभन्दा मुनी रहेकालाई माथि उकास्न महत्वपूर्ण हुने छ ।”


कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले गणकहरु बढीभन्दा बढी जिम्मेवार भएर यथार्थ तथ्यांक ल्याउन आग्रह गर्दै आवश्यक सहयोगका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेकपा वालिङ नगर अध्यक्ष राजेन्द्र डुम्रे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे लगायतले गरीव घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमलाई सफल बनाउन लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी र शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सहभागीबाट उठेका जिज्ञाशाहरुको सहजीकरण गर्नुभएको थियो ।
जनप्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रम वालिङ १० नं. वडा अध्यक्ष अनन्तराज गैह्रेको स्वागतसँगै शुरु भएको थियो भने नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्व र गरीब घर परिवार पहिचान कार्यक्रमका सुपरीवेक्षक मोहन गुरुङले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP