वालिङ नगरपालिकाद्वारा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक (विस्तृत विवरण सहित)

तोलाकान्त बगाले/वालिङ : स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणका आधार’ भन्ने मुलमुन्त्र रहेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आईतबार बिहान नगर कार्यपालिकाको बैठकबाट पास भएको नीति तथा कार्यक्रम आईतबार नै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले सार्वजनिक गर्नुभएको हो ।वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, दीगो विकासका लक्ष्यहरु, नेपाल सरकारको १५ औं योजना, गण्डकी प्रदेश सरकारको मार्गदर्शन तथा प्राथमिकताहरु र नगरपालिकाको आवश्यकता एवं रणनैतिक योजना, स्मार्ट सिटी सम्बन्धी योजनाहरुलाई समेत आधार मानी नीति तथा कार्यक्रमहरु निर्माण गरेको जनाएको छ ।
नगरका १४ वटै वडाका प्रत्येक एक गाउँलाई प्राविधिक तालिम उपलब्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रम, एक घर एक रोजगारी सिर्जना गर्ने, कृषिलाई ब्यवशायीकरण गर्ने, हाईटेक नर्सरीको स्थापना, टनेल तथा सरल थोपा सिञ्चाई जस्ता प्रविधिको विस्तार गर्ने, उत्पादनमूलक कार्यक्रममा सबैको सहभागिता र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, पशुपंक्षी र कृषिमा आत्मनिर्भर बनाईने, कृषिमा सहुलियतपूर्ण ब्याजदरको सुविधालाई नगरपालिका जमानत बसी ऋण उपलब्ध गराउने, बीउ पूजीँलाई यसवर्ष पनि निरन्तरता दिईने, पशु तथा कृषि बीमा सञ्चालन गरिने, स्थानीय बीउ संरक्षण र विकास गर्ने, उपयुक्त वडा छनौट गरी एक घर एक घार नीति अवलम्वन गर्ने, ब्यवस्थित बधशाला तथा प्रोटेबल शितभण्डार निर्माण गर्ने, फलफूल तथा तरकारी प्रशोधन केन्द्र स्थापना गर्ने लगायतका नीति तथा कार्यक्रम आर्थिक विकास सम्बन्धी कृषि तथा पशुपालन नीतिमा समावेश गरिएको छ ।

वालिङ नगरभित्रका पर्यटकीय संभावना बोकेका क्षेत्रहरुको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने, आवश्यक पूर्वाधारहरु निर्माण गर्ने, होमस्टेमा गएर खाने बानीको विकास गर्नका लागि विशेष छुट दिने ब्यवस्था मिलाउने, विभिन्न जातजाती, भेषभूषाको संरक्षण, बाजागाजाको संरक्षण गर्ने, पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने पर्यटन सम्बन्धी नीतिमा समावेश गरिएको छ ।
उद्योग स्थापना, घरेलु तथा साना उद्योगहरुको विकास तथा प्रवद्र्धन, वालिङ १०को बैंडी र बौवामा औद्योगिक क्षेत्र विस्तार, सार्वजनिक निजी साझेदारीमा केवलकार, पार्क, सडक, उद्योगहरु स्थापना गर्ने, आगामी आर्थिक वर्षमा वालिङमा लगानी सम्मेलन गरी लगानी भित्र्याउने, लगानी प्रवद्र्धनका लागि कर छुट तथा सहुलियत दिने, वालिङ मार्ट र होल्डिङ कम्पनी स्थापना गर्ने नीति तथा कार्यक्रम उद्योग तथा घरेलु उद्योग विकास अन्तर्गत समावेश गरिएको छ ।
प्रत्येक वडामा एउटा नमूना सहकारी स्थापना र सञ्चालन गर्ने, उद्यम सहकारी तथा कृषि सहकारी स्थापना गर्ने, भिन्न क्षमता भएका जेष्ठ नागरिक र जोखिममा परेका नागरिकका लागि सुरक्षित सेल्टरको ब्यवस्था गर्ने, नगरभित्रका सबै विद्यालयलाई एकै प्रकारको रङ रोगन लगाउने, कक्षा १ र ६ सम्म एकै प्रकारको स्थानीय पाठ्यक्रम लागू गर्ने, आवश्यकता अनुसार विद्यालय समायोजन गर्ने, प्रत्येक वडामा एउटा माध्यमिक विद्यालयलाई नमूना विद्यालय र ईनोभेशन सेन्टर खोल्दै लैजाने, अंग्रेजी माध्यममा सञ्चालन गर्न प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयको समग्र ब्यवस्थापन सुधारका लागि बायोमेट्रिक हाजिरीको ब्यवस्था गर्ने, विद्यालयलाई बालमैत्री र फरक क्षमता मैत्री बनाउने, सबै माध्यमिक तहमा सेनेटरी प्याडको ब्यवस्था मिलाउने, स्मार्ट क्लब गठन गरी स्मार्ट सर्भिसका बारेमा जानकारी गराउने शिक्षा सम्बन्धी नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरपालिकाभित्र विशेषज्ञ सेवासहितको ५० शैयाको अस्पताल जतिसक्दो छिटो निर्माण गर्ने, नगरबासीलाई स्वास्थ्य बीमामा समेट्ने, शिक्षण अस्पतालको पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने, सबै वडा केन्द्र, स्वास्थ्य संस्थामा कम्तिमा एक÷एक वटा एम्बुलेन्सको ब्यवस्था गर्ने, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट मोबाईल हाईवे अस्पतालकोरुपमा सञ्चालन गर्ने, यसैबर्षबाट वालिङलाई क्षयरोग शुन्य बनाउने अभियानको थालनी गर्ने, नगरबासीलाई शुद्ध, भरपर्दो र गुणस्तरीय खानेपानीको सेवाका लागि एक घर एक धारा नीति सबै वडाहरुमा विस्तार गर्ने, मुख्य बजार क्षेत्रमा ढलको ब्यवस्थापनलाई प्रभावकारीरुपमा अगाडि बढाउने, लोपोन्मुख जातीहरु माझी, कुमाल, दलितहरुका साथै विपन्न वर्गहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, १४ वटै वडामा रहेका खरका छाना भएका घरहरुको लगत लिने र नगरभित्र खरकोे छानारहित अभियान सञ्चालन गर्ने, नगरभित्रका सबै कच्ची सडकहरुमा बाह्रै महिना निर्वाधरुपमा सडक सञ्चालन गर्ने, सिद्धार्थ राजमार्गलाई विस्तार गर्ने र सडकको क्षेत्राधिकार भित्रका घर टहराहरु हटाउने र दुर्घटनामुक्त क्षेत्रको रुपमा विकास गर्ने, डेडिकेटेट लेनको विकास गर्ने, वर्सपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, सडकहरु स्तरोन्नति तथा कालोपत्रे गर्ने, सडकको छेउछाउमा बोटहरु लगाएर हरित शहरकोरुपमा विकास गर्ने, टेम्पोलाई ब्यवस्थित गर्ने, नयाँ बजार र नयाँ बस्ती विकासका लागि योजनाबद्ध विकास गर्ने, बायटारी देखि छाङ्छाङ्दीसम्म आँधीखोला करिडोर सम्पन्न गर्ने, वालिङ–ग्रहौंसुर–बाहुनथान केवलकारको संभाब्यता अध्ययन गर्ने नीति तथा कार्यक्रम रहेको छ ।

त्यस्तैगरी वालिङ नगरभित्रका १४ वटै वडाका घरहरुमा पिङ्क कलर अनिवार्य गर्ने र पुराना घरहरुमा पिङ्क कलर लगाउँदा खर्चको आधारमा केही रकम अनुदान दिने, सुर्कौदीमा ब्यवस्थित शहर विकास गर्ने, एक घर दुई रुख तथा एक घर एक गमला अभियान सञ्चालनलाई प्रभावकारी बनाउने जस्ता नीति तथा कार्यक्रमहरु समावेश गरिएको छ ।
नगरभित्र प्लाष्टिकको फोहोरलाई निरुत्साहित गर्ने, नगरपालिकालाई पूर्ण सरसफाईयुक्त नगर बनाउने, विपद ब्यवस्थापनका लागि अस्थायी सेल्टर तथा उद्धार गर्न सहजताका लागि प्रत्येक वडामा एमआई १७ हेलिकोप्टर बस्न सक्ने हेलिप्याड निर्माण गर्ने, जडिबुटीहरुको उत्पादन र बजारीकरणमा विशेष जोड दिने, फोहोरलाई आधुनिक प्रविधिबाट प्रयोग गरी स्रोतकारुपमा विकास गर्ने, दिसाजन्य लेदो ब्यवस्थापनलाई थप ब्यवस्थित र सुरक्षित तरिकाले स्रोतकोरुपमा विकास गर्ने, सम्भव भएसम्म नजिकका स्थानीय सरकारहरुसँग सहकार्य गरी बारुणयन्त्र सञ्चालन गर्ने, जननिर्वाचित जनप्रतिनिधिहरुका लागि आचारसंहिता बनाई लागू गर्ने, खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने, खेल प्रतिष्ठान बनाउने, मेयर कप खेलकुदलाई नियमित गर्ने, प्रत्येक वडामा खेल मैदान स्थापना गर्ने, वडा र नगरका विभिन्न स्थानहरुलाई फ्री वाईफाई जोन बनाउने, मोबाईल एपमार्फत घर घर बाटै सेवा लिने कार्यको शुरुवात गर्ने रहेको छ ।

त्यस्तैगरी आन्तरिक आयमा सबल बनाउन राजश्वमा सुधार गरी सहज, सरल र दायरा फराकिलो बनाई सर्वसुलभ बनाउने, आन्तरिक आय बृद्धि गर्नका लागि राजश्वका करका विभिन्न क्षेत्रहरुको पहिचान गर्ने, बहाल बिरौटी कर लागू गर्ने, गुनासो ब्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्टाचार अन्त्यका लागि गेटवे मार्फत भुक्तानीको ब्यवस्था मिलाउने, वालिङ नगरपालिकाको शहरी क्षेत्रलाई स्मार्ट सिटीकोरुपमा विकास गर्ने, सामाजिक सुरक्षा भत्तालाई अझ ब्यवस्थित गर्दै ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई थप उपचार खर्च प्रदान गर्ने, ३५ दिनभित्र जन्म वा मृत्यु दर्ता गराउनेलाई प्रोत्साहनस्वरुप रु. पाँच सय भत्ता उपलब्ध गराउने, समाजलाई ब्यवस्थित बनाउनका लागि मादक पदार्थ बिक्री वितरण गर्न निश्चित समयमा पाउने तथा मदिरा सेवन गर्न मदिरा सेवन परिचय पत्र वितरण गर्ने, बाँदर लखेट्न तथा नियन्त्रणका लागि आविष्कार गरिएको मेसिन प्रयोग गर्ने, न्यायिक समितिलाई ब्यवस्थित र सर्वसाधारणको पहुँमा पु¥याउनेलगायतका नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

नगर प्रमुख खाँणले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि विभिन्न राजनीति दल तथा संघसंस्थाहरुले कार्यान्वयनमा सशक्त ढंगले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेकपा वालिङ नगर अध्यक्ष राजेन्द्र डुम्रे, नेपाली काँग्रेस नगर कार्यबहाक सभापति भीमलाल सुबेदी, संघीय समाजवादीका जगदिशप्रसाद गैह्रे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे, राप्रपाका द्रोणबहादुर गुरुङ, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वालिङ साना शहरी खानेपानी समितिका अध्यक्ष विद्या श्रेष्ठ, प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
आईतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई असार १० गते बस्ने नगर सभाबाट अनुमोदन भएपछि मात्रै लागू गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।
“नीति तथा कार्यक्रम बनाउनका लागि हामीले विभिन्न चरणमा धेरै समूहहरुसँग सल्लाह सुझावहरु माग गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “यो नीति तथा कार्यक्रम हाम्रो मात्रै होईन, सर्वपक्षिय र सर्वदलिय पनि हो ।”
नगरपालिकाले निर्माण गरेको नीति तथा कार्यक्रमलाई जति नागरिकको पहुँचमा पु¥याउन सक्यो त्यति नै अपनत्व बढेर जाने भएकाले नगरबासीसँग पटक पटक छलफल गरिएको र आगामी मंगलबार बस्ने नगरसभाबाट पारित भएपछि सबैको हात हातमा पु¥याउने नगर प्रमुख खाँणले बताउनुभयो ।
वालिङ नगर उपप्रमुख कल्पना तिवारीको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


