स्मार्ट सिटीका लागि शिक्षामा परिवर्तन आवश्यक : नगर प्रमुख खाँण ।
![](https://aadhikholakhabar.com/wp-content/uploads/2019/06/Waling-8-no-1.jpg)
तोलाकान्त बगाले / वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले वालिङलाई स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि अबको १÷२ वर्षभित्रमा शिक्षामा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । नगर प्रमुख खाँणले वालिङलाई परिवर्तन गर्नका लागि विद्यालय परिवर्तन हुनु आवश्यक रहेको धारणा राख्नुभएको हो ।
![](https://aadhikholakhabar.com/wp-content/uploads/2019/06/Waling-8-no-2.jpg)
वालिङ नगरपालिका ८ नं. वडा कार्यालयको आयोजना र हाम्रो जनसेवा केन्द्र नेपाल वालिङको प्राविधिक सहयोगमा बिहीबार वालिङमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रम बोल्दै प्रमुख खाँणले शिक्षा क्षेत्रमा विगतदेखि रहेका कमी कमजोरीहरुलाई सुधार गर्नु अहिलेको चुनौति भएको बताउनुभएको हो ।
नगर प्रमुख खाँणले शिक्षा क्षेत्रमा परिवर्तन गर्नका लागि एकल प्रयासभन्दा पनि अब शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवाला निकायहरु जागरुक हुनपर्नेमा जोड दिनुभयो ।
“शिक्षामा देखिएको परम्पराबादी सोंचलाई तोड्नुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अबको शिक्षाले भोलिको पुस्ताको भविष्य हेर्नुपर्छ, पछिल्लो पुस्ताको भविष्य राम्रो बनाउनेतर्पm केन्द्रीत हुनुपर्छ ।”वालिङ नगरभित्रको शैक्षिक गुणस्तर सुधारका लागि असल कार्य गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई कानूनी आधारभित्र रहेर दण्डित गर्ने ब्यवस्था ल्याईने नगर प्रमुख खाँणको भनाई थियो । “अब नगरभित्रका १४ वटै वडामा रहेका वडा शिक्षा समितिहरुलाई परिचालन गर्छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “विद्यालय ब्यवस्थापन समितिहरुलाई पनि अझै जिम्मेवारी थपेर मजबुत बनाईने छ ।”
![](https://aadhikholakhabar.com/wp-content/uploads/2019/06/Waling-8-no-1.jpg)
कार्यक्रममा वालिङ नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम सापकोटाले वालिङलाई शैक्षिक नगरीकोरुपमा विकास गर्नका लागि शाखाले विभिन्न योजनाहरु अगाडि सारेको उल्लेख गर्दै अब कार्यान्वयनको चरणमा जाने बताउनुभयो ।
वालिङका सामुदायिक विद्यालयहरुमा चालु शैक्षिक सत्रको शुरुवात चरणदेखि नै शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालय समायोजन तथा केही विद्यालयको तह घटाईएको जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनीले आगामी दिनमा शैक्षिक गुणस्तर बृद्धिका लागि यस खालका अभियानले शिक्षा क्षेत्रमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्नमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा वडा भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावकहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा र सहयोगी संस्थाका सहजकर्ता रामचन्द्र केसीले सहजीकरण गर्नुभएको थियो ।
वडा नं. ८ का वडा सदस्य चेतनारायण श्रेष्ठको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह वडा अध्यक्ष कमलप्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव प्रेमनारायण सुबेदीले र धन्यवाद ज्ञापन कार्यपालिका सदस्य गीता रनपालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री![](https://aadhikholakhabar.com/wp-content/uploads/2025/01/student-waling-468x300.jpg)
वालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…