वालिङमा शुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम ।


तोलाकान्त बगाले / वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले प्रधानमन्त्री रोजागार कार्यक्रम अन्तर्गत सूचिकृत कामदारहरुलाई रोजगार दिन शुरु गरेको छ । मंगलबार वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ २ स्थित छप्राक–सिद्धबाबा पैदलमार्गबाट यस अभियानको थालनी गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले विकास निर्माणलाई दीगो र प्रभावकारी बनाउनका लागि स्थानीयले अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।

“आँफैले पसिना काढेर काम गरियो भने त्यो काम प्रति अपनत्व भएको महशुस हुन्छ भने कामप्रति माया पनि बढेर जान्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अर्काले गर्दिएको कामलाई माया नि नहुने साथै अपनत्वको महशुस नहुने भएकाले विकास निर्माणमा आशा अनुसार प्रगति हुन सकेको छैन ।”
स्मार्ट वालिङ निर्माणका लागि नगरबासीहरु आफ्नो गाउँ ठाउँको विकास निर्माणका लागि बढी सक्रिय भएर लाग्न पनि नगर प्रमुख खाँणको आग्रह थियो । “जबसम्म तपाईहरु जागरुक हुनुहुन्न तबसम्म विकास हुँदैन अर्काले दिएको पैसाले मात्रै विकास असम्भव छ” नगर प्रमुख खाँणले भन्नुभयो । छप्राक गाउँका स्थानीयले थालेको यो अभियान नमूना र पहिलो पनि भएकाले यस अभियानबाट अन्य वडा बासीले पनि सिकेर फाईदा लिन सक्ने नगर प्रमुख खाँणको भनाई थियो ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकाका लागि रु. २३ लाख रकम प्राप्त भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार ब्यक्तिहरुलाई सार्वजनिक क्षेत्रमा गरिने कार्यक्रम तथा आयोजनाहरुमा सहभागी गराउने मुख्य उद्धेश्यले यस अभियानको थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।
“समुदायस्तरमा स–साना रोजगारमूलक आयोजनाहरु सञ्चालन गर्नेछौं” वालिङ नगरपालिका अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका शाखा संयोजक सरस्वती लामिछानेले भन्नुभयो, “यस शाखामा सूचिकृत कामदारहरुलाई रोजगारमा संलग्न गराई रोजगारीको प्रत्याभूति दिलाउनका लागि प्राथमिकताका आधारमा छप्राकमा अभियानको थालनी गरिएको हो ।”
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका प्रदेश नं. ४ मै कार्यान्वयनको थालनीका हिसावले पहिलो रहेको संयोजक लामिछानेको दाबी छ । संयोजक लामिछानेका अनुसार वालिङ नगरपालिकाका १४ वटै वडाबाट चैत र बैशाख महिनामा कूल सत्र सय ८२ जनाले बेरोजगारीको फारम भरेका छन् ।
स्थानीयहरुको भेलाले गोविन्दबहादुर सार्कीको संयोजकत्वमा सूचिकृत श्रमजीवीहरुको समिति बनाएर कार्य थालेको हो । आगामी एक महिनाभित्र सकिने लक्ष्यसहित आरम्भ गरिएको ‘छप्राक–सिद्धबाबा पैदलमार्ग’ आयोजनाका लागि पहिलो चरणमा तीन लाख रकम बिनियोजन गरिएको नगर प्रमुख खाँणले बताउनुभयो । झण्डै चार सय मिटर लम्बाई रहेको उक्त गोरेटो बाटो निर्माण गरी ढुंगा टाँस्ने योजना रहेको निर्माण समितिका अध्यक्ष गोबिन्दबहादुर सार्कीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…