आँधीखोलामा केही वर्षमै मध्यम खालको पानीजहाज चल्न सक्छः मुख्य सचिव रेग्मी ।
तोलाकान्त बगाले / वालिङ :
नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले विकासमा सबैको साझा प्रतिवद्धताको खाँचो रहेको बताउनु भएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङमा ईनोभेशन सेन्टर र थ्री डी मोडेलको मंगलबार उद्घाटन गर्दै उहाँले सबै पक्ष एकजुट भएमात्रै विकास निर्माणले सार्थकता प्राप्त गर्ने विचार ब्यक्त गर्नुभयो ।
उहाँले कुनै पनि ठूलो लक्ष्य प्राप्तिका लागि शुरुवाती चरण असम्भव जस्तो देखिए पनि अन्ततः पछि सोही सम्भव भएर जाने बताउनुभयो ।
“ठूला ठूला विकास योजनाहरु थालनी गर्दा शुरुमा अस्वभाविक, महत्वाकांक्षी जस्तो लाग्न सक्छ” मुख्य सचिव रेग्मीले भन्नुभयो, “साहित्यकार गोपालप्रसाद रिमालको ‘आमा त्यो दिन आउँछ र ? हो बाबु त्यो दिन अवश्य आउँछ’ भने जस्तै ठूला योजनाहरु अन्ततः पूर्ण भएरै जानेमा विश्वास दिलाउन चाहन्छु ।”
आँधीखोलाको सभ्यतालाई अझै विस्तार गरी बृहत योजनाबाट अगाडि बढ्नुपर्नेमा जोड दिंदै मुख्य सचिव रेग्मीले आँधीखोलामा केही वर्षमै मध्यम खालको पानीजहाज चल्ने संभावना रहेको बताउनु भयो ।
“अब युवाहरु वैदेशिक रोजगारीमा जानेभन्दा पनि यहीको विकास गरी विदेशीलाई स्वदेशमा रोजगारी दिनुपर्छ” मुख्य सचिव रेग्मीले भन्नुभयो, “वालिङ, भीरकोट र गल्याङ नगरपालिकालाई मिलाएर आँधीखोलाको किनारमा एकीकृत बस्ती विकास, आँधीखोलामा जल विहार र कृत्रिम सामुद्रिक स्थलको रुपमा विकास गर्नुपर्छ ।”
थ्री डी मोडेलबाट वालिङ नगरपालिकाभित्रका १४ वटै वडाको हरेक बस्तुस्थितिका बारेमा जानकारी प्राप्त हुने भएकाले पूर्वाधार निर्माण तथा योजनाहरु बनाउन प्रत्यक्षरुपमा सहयोग गर्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनु भयो ।
“थ्री डी मोडेललाई आधार मान्दा हरेक बजेट र कार्यक्रमहरु सन्तुलित ढंगले न्यायपूर्ण तरिकाले हरेक नागरिकमा पु¥याउन सकिन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “कुनै गाउँमा योजनाको थुप्रो हुने र कुनैमा हुँदै नहुने समस्या हट्ने छ भने स्मार्ट सिटीका कम्पोनेन्ट र ईण्डिकेटरहरु प्रत्यक्षरुपमा मापन र समूचित विकासका लागि यो प्रभावकारी हुनेमा विश्वस्त छु ।”
वालिङ नगरपालिकाको बृहत योजना भित्र रहेर भू–उपयोग योजना, पूर्वाधारहरुको योजना निर्माण गर्नका लागि थ्री डी मोडेललाई आधार मान्ने गरेको र यो मोडेल सैनिकहरुले प्रयोग गर्ने गरेता पनि स्थानीय सरकारकातर्फबाट पहिलो प्रयोग भएको नगर प्रमुख खाँणले बताउनुभयो ।
थ्री डी मोडेलमा नगरभित्रका सबै ठाउँमा भएका विकास निर्माण तथा त्यहाँको हरेक बस्तुस्थिति झल्कने भएकाले पनि गाउँका समस्याहरु पहिचान गरी त्यसको समाधान गर्नमा थ्री डी मोडेलले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुखको भनाई थियो ।
थ्री डी मोडेलको निर्माण भूतपूर्व भारतीय सैनिकमा कार्यरत वालिङ १० का लोकबहादुर मल्लले निर्माण गर्नु भएको हो ।
३० वर्ष भारतीय सैनिकमा कार्यरत रहनुभएका मल्लले १५ वर्ष थ्री डी मोडेलमा काम गर्नु भएको थियो । मल्लले विदेशमा सिकेको सीपलाई अहिले आफ्नै गाउँ ठाउँमा प्रयोग गरेको बताउनु भएको छ ।
“सैनिकहरुले विशेष गरी विपक्षीहरुलाई आक्रमण गर्नका लागि यसको प्रयोग गर्छन्” निर्माण कर्ता मल्लले भन्नुभयो, “तर यहाँ वालिङले सोही मोडेललाई विकास निर्माण तथा योजनाहरु बनाउनका लागि प्रयोग गरेको छ ।”
थ्री डी मोडेलमा पक्की, कच्ची सडक, खोला नाला, बाँझो जमिन, खेतीयोग्य जमिन, बन जङ्गल, कार्यालयहरु, बजार तथा घरहरु, एक ठाउँबाट अर्को ठाउँको दूरी, प्रत्येक ठाउँको उचाईहरु सांकेतिक बोर्डमा स्पष्टसँग बुझ्न सकिन्छ ।
कार्यक्रममा भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल, नेकपा वालिङ अध्यक्ष राजेन्द्र डुम्रे, नेपाली काँग्रेस कार्यवहाक नगर सभापति भीमलाल सुबेदी, समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य टिकाराम रेग्मी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे, राप्रपाका द्रोणबहादुर गुरुङ, ईलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्मा, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेललगायतले वालिङको विकास निर्माणमा सबै एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।
वालिङ नगर उपप्रमुख कल्पना तिवारीको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…