वालिङ खत्रीखोलामा कृषि उपज संकलन केन्द्र तथा सामुदायिक भवनको शिलन्यास ।
तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिका वडा नम्वर १ खत्रीखोलामा कृषि उपज संकलन केन्द्र तथा सामुदायिक भवनको शिलान्यास गरिएको छ ।
भवन शिलान्यास गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले किसानले उत्पादन गरेका हरेक कृषिजन्य बस्तुहरु संकलन गर्नका लागि यस प्रकारका भवनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले हरेक गाउँलाई उत्पादनसँग जोडिने बताउँदै पायक पर्ने स्थानहरुमा संकलन केन्द्र स्थापना गरी नगरपालिकाले बजारीकरणको ब्यवस्था मिलाउने बताउनुभयो ।
“तपाईहरुले आफ्नो खेतबारी बाँझो नराख्नुस्, तपाईले गर्नै सक्नुभएन भने बाँझो रहेको जग्गा नगरपालिकाले भाडामा लिएर अर्को काम गर्ने किसानलाई उपलब्ध गराउने छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “तपाईहरुले अब बजारको चिन्ता नलिनुहोस् उत्पादनमात्रै गर्नुहोस् बजारीकरणको ग्यारेन्टी नगरपालिकाले लिन्छ ।”

शिलान्यास समारोहमा वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले भवन निर्माणका लागि वडाले विनियोजन गरेको रकम प्रर्याप्त नभएको बताउँदै थालनीका लागि उत्साहमात्रै थपेको उल्लेख गर्नुभयो । उहाँले निर्माण थालिएको भवनका लागि आर्थिक स्रोतहरुको खोजी गरी सम्पन्न गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा वडा सदस्य अर्जुनप्रकाश अर्यालले भवन निर्माणसँगै यस क्षेत्रमा उत्पादन भएका कृषिजन्य उपजहरुको संकलन तथा अन्य सामाजिक कार्यहरुका लागि पनि उपयुक्त हुने बताउँदै आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य देवी रेग्मीले भवन निर्माण सम्पन्न गर्नकालागि स्थानीयले पनि सक्दो जनश्रमदान गर्न पनि आग्रह गर्नुभयो ।
स्थानीय कृष्णप्रसाद ढकला र शारदा ढकालले बुवा आमाको स्मृतिमा झण्डै तीन आना जग्गा भवन निर्माणका लागि निशुल्क उपलब्ध गराउनुभएको थियो ।
खत्रीखोला आमा समूहका अध्यक्ष दमयन्ती रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पदमराज रेग्मीले र स्वागत खत्रीखोला टोल विकास संस्थाका अध्यक्ष रामबहादुर खत्रीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


