ग्रहौंकालिका साना किसान कृषि सहकारी संस्थाको उद्घाटन ।

तोलाकान्त बगाले /वालिङ :
वालिङ नगरपालिका १० भकुण्डेमा ग्रहौंकालिका साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयको उद्घाटन गरिएको छ ।
कार्यालय उद्घाटन तथा शेयरधनी प्रमाणपत्र वितरण समारोहमा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले गाउँ गाउँमा सञ्चालनमा आएका सहकारीहरुमार्फत किसानहरुलाई नगरपालिकाले लगानी गर्ने वातावरणको सिर्जना गर्ने बताउनुभएको छ । उहाँले कतिपय सहकारीहरु सहकारीको सिद्धान्त तथा ऐन विपरित पनि सञ्चालनमा रहेकाले सहकारीका सदस्यहरु बढी चनाखो भई सही दिशानिर्देश गर्न पनि सुझाव दिनुभयो ।

“सहकारीहरुले संख्या बढाउनभन्दा पनि संस्थागत गतिविधिलाई पारदर्शी बनाउनु ठूलो कुरा हो” नगर प्रमुख खाँणले भन्नुभयो, “अब नगरपालिकाले राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन र नराम्रो काम गर्ने सहकारी ऐन विपरित चल्ने सहकारीलाई ऐनको दायरामा ल्याउने र कानून अनुसार कारबाही पनि गर्ने छौं ।”

कार्यालय उद्घाटन कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वडा नं. १० का कार्यबहाक वडा अध्यक्ष लुकमाया एस्के, फेदी मोहोरिया टोल विकास संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे, तुलसीभञ्ज्याङ साना किसान सहकारी संस्थाका प्रवन्धक शम्भु अधिकारी, ग्रामीण स्वावलम्वन साना किसान सहकारी संस्था अर्जुनचौपारीका प्रवन्धक शालिकराम काफ्ले लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ग्रहौंकालिका साना किसान कृषि सहकारी संस्थाका संयोजक दिपक सुबेदीले संस्थामा ६४ वटा समूहमा ३ सय ३५ जना शेयर सदस्य आबद्ध, हालसम्म १४ लाख ५२ हजार शेयर पुँजी रहेको र यस संस्थाको कार्यक्षेत्र वालिङ १० र १३ नम्बर वडा भएको पनि जानकारी दिनुभयो ।
ग्रहौंकालिका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दिपक सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खुमा पाण्डेले र स्वागत गंगा शर्मा पंगेनीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


