स्थानीयतहका सवल पक्ष सम्भावना र चुनौतीहरु ?

गुरुदत्त सुवेदी ,
प्रमुख प्रशासकीय अधिकृत ,
वालिङ, नगरपालिका ,स्याङ्जा

: म वालिङ, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेको करिव एक वर्ष हुन लागेको अवस्था छ । यस नगरपालिकाको विकासका सम्भावनाहरु र चुनौतीहरु आफ्नै प्रकारका रहेको मैले अनुभव गरेको छु । यस नगरपालिकामा केही गरौ भन्ने भावना जनप्रतिनिधिहरुमा रहेकाले प्रभावकारी रुपमा कार्य संचालन भई रहेको अवस्था छ । लामो समयसम्म स्थानीयतहहरुको अभावले गर्दा विकासमा सुस्तता आएकोमा सवै स्थानीयतहरुमा जनप्रतिनिधिहरुको निर्वाचन पस्चात् प्रत्येक वडा तह देखि स्थानीय तहहरुको विचमा पनि प्रतिस्पर्धी सोंचको विकास भएको छ जस्को कारणले गर्दा विकासमा तिव्रता र गतिशिलता आएको अवस्था विधमान देखिन्छ । साथसाथै विभिन्न तहका सरकारहरुको वीचमा पनि प्रभावकारी र फरक कार्य गर्ने सोंचले प्रतिस्पर्धाको सिर्जना भएको छ, यसरी स्वस्थ प्रतिस्पर्धाको वातावरणले पनि केही नकारात्मता भए तापनि सकारात्मक प्रभाव नै वढी भएको देखिन्छ । प्रचुर सम्भावनाहरुका वावजुद केही चुनौतीहरु पनि रहेका छन , सर्वप्रथम निर्वाचित जनप्रतिनिधिहरुमा सिंहदरवारको अधिकार गाउँ मा भन्ने नाराकै प्रभावले हुंनसक्दछ मैले भनेपछि जे पनि हुन्छ भन्ने प्रवृत्तिको अन्त्य अझै पनि हुन सकेको छैन, भने प्रचलित ऐन कानूनहरुले त्यस प्रकारका भावनाहरुलाई समेट्ने गरी प्रत्याभुती गरेको पाईदैन, अर्कोतर्फ आवधीक र रणनैतिक योजनाको माध्यामवाट उत्पादकत्व वृद्धी,रोजगारीको सिर्जना तथा दीगोपना युक्त आयोजनाहरुमा वजेट विनियोजन गर्नुभन्दा साना तिना ,निर्वाचन केन्द्रित र भोट केन्द्रित भएर आयोजना वाँड्ने प्रवृत्तिको अन्त्य हुन नसकेको कारणले गर्दा आयोजनाहरुको प्राथमिकीकरणमा समस्या रहेको देखिन्छ । अर्कोतर्फ जनप्रतिनिधीहरुको ध्यान राजस्व वृद्धी गरी सक्षम वनाउने तर्फ भन्दा भएको रकम खर्चमा नै वढी गएको अनुभुती पाईन्छ, जहाँ कि राजस्वको दायरा वृद्र्धी विकासको आधार हो । त्यसैगरी जनप्रतिनिधीहरुमा स्थानीय तहको संस्थागत सुदृढीकरण गर्नुको साटो विज्ञ तथा सल्लाहकारहरुलाई हावी वनाउदा संस्थागत सूचना प्रणाली धरासायी हुने अवस्थाको सृजना भएको छ यस्को अन्त्य वैलैमा नगर्ने हो भने Institutional memory भन्ने विषय नौलो हुंन सक्दछ , कर्मचारीहरुले संविधान, ऐन,नीति नियम र कार्यविधी वमोजिम गर्नुपर्दछ भन्दा त्यती मिठो र सहज रुपमा लिने प्रवृत्ति जनप्रतिनिधीमा देखिदैन, भने कर्मचारीमा पनि धक्का नदिदा सम्म अगाडि नवढ्ने इनर्सिया यथावत देखिन्छ , कतिपय अवस्थामा संरचनागत तथा कर्मचारीको पनि समस्या रहेको छ । यी विभिन्न चुनौतीहरुको वावजुद पनि तीन तहको सरकारको गठनले एउटा केही गर्नुपर्दछ भन्ने भावनालाई टड्कारो रुपमा अगाडि सारेकोले नेपाल सरकारले परिलक्षीत गरेको समृद्ध नेपाल सुखी नेपालीले सार्थकता प्राप्त गर्न त्यती लामो समय लिंदैनकी ?

Facebook Comments Box
TOP