कांग्रेसको जागरण अभियान स्याङजामा पनि शुरु

भवानी अधिकारी/स्याङ्जा :
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला कार्य समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको बुधवार पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा शुभारम्भ गर्दै उहाले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य नहुने बताउनुभएको हो ।


पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउदै केन्द्रीय सदस्य भट्टराइले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख गरिनु लज्जास्पद भएको बताउँदै उहाले जागरण अभियान मार्फत् सरकारको गलत गतिविधिबारे आम जनतासमक्ष लैजानुपर्नेमा जोड दिनुभयो । जागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनताको दुःखमा साथ दिने पार्टी काङ्ग्रेस भएको उल्लेख गर्दै उहाले जनताको अधिकार सुरक्षित गर्न जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद एवं पूर्व सभापति खगेन्द्रराज रेग्मी, महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, कांग्रेसका कोषाध्यक्ष प्रेमराज पौडेल लगायतले एक महिने जागरण अभियानलाई वडादेखि गाउपालिका स्तरसम्म संचालन गरिने र सबैले सहयोगगरी सफलतापूर्वक सम्पन्न गर्न आग्रह गर्नुभएको थियो । जनताका अधिकार जनता सक्षम पुरयाउन काङ्ग्रेसले खेलेको भूमिका आम जनतामाझ चिनाउन पनि यस्ता अभियानले सहयोगीको भूमिका निर्वाह गर्नेमा जोडदिनुभयो ।
नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रवहादुर गोदारले गर्नुभएको थियो ।
बुधवारदेखिजारी पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर संचालन गरिने नेपाली काङ्ग्रेसले जनाएको छ ।

Facebook Comments Box
TOP