नेकपा वालिङ, भीरकोट नगर र आधिखोला गाउँ कमिटिका पदाधिकारीद्वारा सपथ ग्रहण।

आँधीखोला खवर/ वालिङ :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगरपालिका र भीरकोट नगरपालिकामा गठित नगर कमिटिका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । वालिङ नगर कमिटिका ८१ सदस्यीय पदाधिकारीहरुलाई नेकपा जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसले सपथ खुवाउनुभएको हो । वालिङ नगर कमिटि अध्यक्ष राजेन्द्र डुम्रेले जनसङ्ख्या तथा विकासका हिसाबले वालिङ जिल्लाकै ठुलो नगरपालिका रहेको भन्दै नगरको विकास र सुशासनमा नेकपा प्रतिवद्ध रहेको बताउनुभयो । साथै अध्यक्ष डुम्रेले १४ वडा रहेको नगरमा ७÷७ वडामा नेकपा र कागे्रसको समान उपस्थिति रहेपनि स्थानीय सरकारमा प्रभावकारी भुमिका खेल्न नसक्दा पार्टीलाई पुर्ण स्थापित गराउन नसकेको यथार्थता रहेको बताउनुभयो । साथै वालिङ नगरकमिटिको प्रथम बैठकले हरेक महिनामा एकपटक समसामयिक विषयमा सार्वजानिक सुनुवाई र बहस गर्ने, जनताको गुनासो, समस्याको संकलन गरी समाधानमा पहल गर्ने प्रतिवद्धता जनाएको छ ।


स्मार्ट सिटी वालिङको अवधारणालाई साकार पार्न नगरपालिकाको सकरात्मक कार्यमा साझेदारी र गलत क्रियाकलाप प्रति खबरदारी गर्ने, पार्टी संगठन, पार्टी प्रवेश संगठन सुदृढिकरण प्रशिक्षण, जनचेतना जागरण अभियान गरी नागरिकसंग सम्बन्ध विस्तार गर्ने, जनवर्गिय संगठनका माध्यमबाट सांस्कृतिक एवं सामाजिक रुपान्तरणका लागि अभियान सञ्चालन गर्ने, जनप्रतिनिधिसंग जनता कार्यक्रम सञ्चालन गर्ने, विकास निर्माण, रोजगारी तथा समाजिक रुपान्तरणमा पार्टीलाई क्रियाशिल राख्ने, पार्टीका गतिविधिको प्रचारप्रसारलाई व्यवस्थित राख्ने, नगरका कामकारवाहीहरुको अनुगमन तथा जनतालाई नकरात्मक प्रभाव पार्ने विषयमा ध्यानाकर्षण गराईने, पार्टी एकीकरणका बाँकी कामलाई पुरा गर्न नेतृत्वलाई सहयोग गर्ने प्रतिवद्धता नगर कमिटिले जनाएको छ । नगरकमिटि अध्यक्ष डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रमेश अर्यालले गर्नुभएको थियो ।

त्यस्तै उता भीरकोट नगरकमिटिका पदाधिकारी समेत सपथ ग्रहण गरेका छन् । मिनप्रसाद कोईरालाको अध्यक्षतामा गठित ८१ सदस्यीय नगर कमिटिले सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण अगाडि पत्रकार भेटघाट कार्यक्रममा नेकपा जिल्ला सदस्य सन्तोष केसीले दुई फरक चरित्र भएका पार्टी एकीकरण पश्चात स्थानीय तथा नगर कमिटिले पुर्णता पाएको भन्दै अव स्थानीय सरकारमा प्रतिपक्षीको हिसाबले सशक्त रुपमा प्रस्तुत हुने बताउनुभयो । भीरकोट नगर सरकार गठन भएको तेस्रो वर्षमा प्रवेश हुँदा सम्म आम जनतको इच्छा, चाहाना र आवश्यकता अनुसार गति लिन नसकेको भन्दै अव नेकपा नगरकमिटिले सरकारलाई खबरदारी गर्ने जनाएको छ । लक्षित बजेट जनतासम्म पुग्न नसकेको भन्दै विना टेन्डर र सूचना कृषि तथा अन्य सामाग्री खरिद गरी स्वच्छाचारी ढंगले वितरण गरिरहेको समेत नेकपाको आरोप छ । साथै कमिटिले भीरकोट नगर कमिटिलाई नमुना नगर कमिटिको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएको छ । नगरको गतिविधि चुस्तदुरुस्त राख्न नगर कमिटि कटिवद्ध रहने स्थानीय सरकारका राम्रा कार्यलाई स्वागत सहयोग गर्ने र नकरात्मक तथा भ्रमात्मक कार्यमा शसक्त प्रतिपक्षीको भुमिका निर्वाह गर्ने नगर कमिटि अध्यक्ष कोईरालाले बताउनुभयो । अध्यक्ष कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला सल्लाहकार हर्क गुरुङ र सञ्चालन नगरसचिव विश्वनाथ अर्यालले गर्नुभएको थियो ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायि कमिटी सदस्य किरण गुरुङ्ले एकता वैचारिक तथा भावनात्मक ढंगले हुनुपर्ने बताउनु भएको छ । नेकपा आँधिखोला गाउँ कमिटी स्याङ्जाको सपथग्रहण तथा प्रथम पुर्ण बैठकमा बिहिबार सम्बोधन गर्दै नेता गुरुङ्ले भावनात्मक ढंगले एक नभएमा पार्टीमा अन्तरबिरोध हुने बताउनुभयो । २ वटा देशका ठुला कम्युनिष्ट पार्टीको वडा तह सम्म एकता भएको बताउदै नेता गुरुङ्ले सबैले मिलेर पार्टीलाई मजबुद बनाउनु पर्नेमा जोड दिनुभयो । उहाले हिजोको सोच फरक फरक भएपनि मन, बचन र कर्म मिलाएर गएमा पार्टी सबल हुने बताउनुभयो ।
नेकपाको केन्द्र देखि स्थानिय तह सम्म सरकार रहेको बताउदै गुरुङ्ले सरकार सफल पार्न पार्टीले सहयोग गर्नुपर्ने बताउनुभयो । पार्र्टी जनप्रतिनिधी बिच छलफल गरेर अगाडी बढ्नु पर्ने बताउदै गुरुङ्ले सरकार सफल भएमा पार्टी सफल हुने भएकाले पार्टी मार्गदर्शन अनुसार सरकार चल्नुपर्ने बताउनुभयो । नेकपा एमाले र माआबादी केन्द्र एकता पश्चात भुवानी प्रसाद ढकालको अध्यक्षतामा बनेको ७५ सदस्यिय गाउँ कमिटी मध्ये ६४ जना सदस्यले आधिखोलामा सपथ खाएका हुन् ।

Facebook Comments Box
TOP