निशुल्क आँखा शिविरमा ४५० ले सेवा लिए
तोलाकान्त बगाले/ वालिङ :
गह्रौंघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सञ्चालन भएको दुई दिने निशुल्क आँखा शिविरमा चार सय ५० जनाले सेवा लिएका छन् ।
गह्रौंघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र जिल्ला आँखा उपचार केन्द्र वालिङको ब्यववस्थापन तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको आँखा उपचार केन्द्रका प्रमुख तेजबहादुर गुरुङले बताउनुभयो ।
दुई दिने निशुल्क आँखा शिविरमा ४५ जना आँखाका विरामीको शल्यक्रिया गर्नुका साथै चार सय ५ जनाको आँखा परीक्षण गराई निशुल्क औषधी वितरण गरिएको गह्रौंघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव एवं सूचना अधिकारी देवेन्द्र भट्टराईले बताउनुभयो ।

शिविरमा स्याङ्जासहित दक्षिण पर्वत, पाल्पा, गुल्मी लगायतका आँखाका विरामीहरु लाभान्वित भएका गह्रौंघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मोहन विश्वकर्माले बताउनुभयो ।
“आँखाका विरामीको शल्यक्रियाका अतिरिक्त रोग लाग्नुको कारण, बच्ने उपाय लगायतका विषयमा परामर्श तथा निशुल्क औषधीसमेत दिएका छौं” शल्यक्रिया शिविरमा सहभागी डाक्टर ईलिया श्रेष्ठले भन्नुभयो, “आँखा शरीरको महत्वपूर्ण अङ्ग भएकाले यसको नियमित चेकजाँच र उपचार आवश्यक छ ।”

सोमबारबाट शुरु भएको शिविरमा मोतियाविन्दु, मासु पलाएको लगायत रोगको निशुल्क शल्यक्रिया लगायत आँखासम्बन्धी सम्पूर्ण उपचारहरु निशुल्क प्रदान गरिएको डाक्टर श्रेष्ठले बताउनुभयो ।
वालिङमै सेवा पाएपछि आँखाको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्रका शहरहरुमा जानुपर्ने बाध्यता टरेर जानुकासाथै समय र खर्च पनि जोगिएकाले सहजता भएको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताउनुभयो ।

“आगामी दिनमा पनि यस खालका निशुल्क शिविरहरुलाई निरन्तरता दिनु आवश्यक छ” नगर प्रमुख खाँणले भन्नुभयो, “स्वास्थ्य उपचारका शिविरहरु गाउँ गाउँमा सञ्चालन गर्दै ग्रामीण भेगका सर्वसाधारणको उपचारमा सहयोग पु¥याउँदै जानेछौं ।”
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


