एक महिनामा एक खर्ब १६ अर्ब रूपैयाँ रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति (डलरमा) २६ महिना यताकै उच्च ।

nepal rasta bank

 

काठमाण्डौ:
एक महिनामा एक खर्ब १६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा यो रकम बराबर रेमिटेन्स भित्रिएको हो।

रेमिटेन्स रकममा वृद्धि भएपछि मुलुकको विदेशी मुद्रा सञ्चिति (डलरमा) २६ महिना यताकै उच्च भएको छ। नेपाली मुद्रा आधारमा भने यो हालसम्मकै उच्च हो।

विदेशी मुद्राको सञ्चिति १५ खर्ब ७३ अर्ब रूपैयाँ (११ अर्ब ८५ करोड डलर) पुगेको छ। यस्तो सञ्चितिले अहिलेकै दरमा आयात भएमा १० महिना नौ दिनको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ।

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा २५.८२ प्रतिशत धेरै रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्षको पहिलो महिना ९२ अर्ब २० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

यो एक महिनामा नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको यही अवधिको तुलनामा भने घटेको छ। गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृतिमा जानेको संख्या ४४ हजार ५ सय ४० रहेकोमा यसपटक ३९ हजार एक सय ५२ पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृतिमा जानेको संख्या भने १९.५ प्रतिशतले घटेर १६ हजार ४ सय २३ मा सीमित भएको छ।

गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या सात लाखभन्दा धेरै पुगेको थियो। गत वर्ष बढेको यो संख्याकै कारण रेमिटेन्स भित्रने दरमा वृद्धि देखिएको हो।  रेमिटेन्समा उच्च वृद्धि भएसँगै मुलुकबाट बाहिरिने रकमको तुलनामा मुलुक भित्रने रकम (भुक्तानी सन्तुलन) पनि बढ्दै गएको छ। मुलुकको भुक्तानी सन्तुलन ३२ अर्ब ९० करोड रूपैयाँले धनात्मक छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सुरुदेखि नै ऋणात्मक देखिएको भुक्तानी सन्तुलनमा गत आर्थिक वर्षको तेस्रो महिना ९असोज० देखि सुधार देखिन थालेको हो। यो अवधिमा सरकारले केही वस्तुको आयातमा पूर्ण प्रतिबन्ध र आयातको क्रममा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेपछि पनि यसमा सुधार हुँदै गएको थियो।

सरकारले आयात बढेर विदेशी मुद्रा सञ्चिति ह्रास भएसँगै प्रतिबन्ध र कडाइ गरेको थियो। तर, पछिल्लो समय बजार मागमा कमी आएको कारण आयात घटेको छ। आयातमा देखिएको कमी र रेमिटेन्समा उच्च दरमा भइरहेको वृद्धिको कारण मुलुकको भुक्तानी सन्तुलन (शोधानान्तर बचत) मा छ।

आयात भने १.५५ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब रूपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो महिनामा भने एक खर्ब ३१ अर्ब रूपैयाँको आयात भएको थियो।  पछिल्लो समय रेमिटेन्ससँगै अन्य विदेशी मुद्रा आम्दानीका स्रोतहरूमा पनि सुधार भइरहेको छ। नेपालले पहिलो महिनामा एक अर्ब ५० करोड रूपैयाँको विद्युत बिक्री गरेको छ। गत वर्ष भने एक महिनामा दुई अर्ब तीन करोड रूपैयाँको विद्युत बिक्री भएको थियो।

हुनतः यही अवधिमा भारतबाट नेपालले ४० करोड रूपैयाँ बराबरको विद्युत पनि आयात गरेको छ। भारतबाट गत वर्षको पहिलो महिनामा २३ करोड रूपैयाँको विद्युत खरिद गरिएको थियो।  पर्यटकबाट हुने आम्दानीमा ६२ प्रतिशतले वृद्धि भएको छ। यस्तो आम्दानी चार अर्ब ३८ करोड रूपैयाँ पुगेको छ। नेपालबाट अध्ययन र विदेश भ्रमणमा जान हुने खर्चमा ५४ प्रतिशतले वृद्धि भएर १७ अर्ब २५ करोड पुगेको छ।

अध्ययनको लागि जानेले लग्ने रकममा मात्रै ५०.७ प्रतिशत वृद्धि भएर १० अर्ब ७४ करोड पुगेको छ। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानीमा सुधार भएको छ। एक महिनामा दुई अर्ब ६४ करोड रूपैयाँ भित्रिएको छ। गत वर्षको यो अवधिमा भने चार करोड रूपैयाँ मात्रै भित्रिएको थियो।

स्थिर पुँजी निर्माणका वस्तुहरुको आयातमा वृद्धि देखिएको छ। कुल आयातमा यस्तो वस्तुको हिस्सा १० प्रतिशत छ। केही महिना अघि यो हिस्सा घटेर ८.४ प्रतिशतसम्म आएको थियो।

मूल्य अभिवृद्धि गर्न सक्ने वस्तुको हिस्सामा पनि सामान्य वृद्धि भएर ५४.९ प्रतिशत पुगेको छ। उपभोक्ताले सोझै उपभोग गर्न सक्ने वस्तुहरूको आयात हिस्सा ३७.७ प्रतिशतबाट घटेर ३५.४ प्रतिशत पुगेको छ।

यो हिस्सा घट्दै गएकोले पुँजी निर्माण हुने आयातमा वृद्धि भइरहेको संकेत गर्छ। यो सकारात्मक पक्ष हो।

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP