शिक्षक सरुवा र बढुवामा पैसाको चलखेल आरोप ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिकामा शिक्षक सरुवा र बढुवा गर्दा पैसाको चलखेल हुने गरेको रहस्य खुलेको छ । स्याङ्जाकै एक माध्यमिक स्तरका स्थायी शिक्षक अमृत खनालले सामाजिक संजालमा शिक्षक सरुवा र बढुवामा वालिङ नगरपालिकामा पैसाको चलखेल हुने गरेको गम्भीर आरोप लगाएका छन् । खनालले सामाजिक संजालमा यो आरोप लगाएपछि स्याङ्जामा हंगामा नै मच्चिएको छ । खनालले पोष्ट गरेको सामाजिक संजालमा झण्डै २० लाखभन्दा माथी आर्थिक चलखेल भएको उल्लेख गरेका छन् ।
मुलुकमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढीरहेका बेला शिक्षक खनालले आगामी सरकारलाई १० कार्यक्रम भन्दै पैसाको चलखेल गरेको घुमाउरो पारामा उल्लेख गरेका छन् । उनले उल्लेख गरेको पोष्टलाई कसरी प्रमाणित गर्ने छन् भन्ने बिषयले पनि तरङ्गित बनाएको छ । दरबन्दी फेरबदल, शिक्षक सरुवा र बढुवामा शिक्षकले रकम खर्च गर्नुपरेको बताएका छन् । कुन विद्यालयबाट कहाँ शिक्षक पठाउँदा कति रकम खर्च गर्नुपरेको समेत उल्लेख गरेका छन् ।
हिमाली माविमा गणित बिषयको दरबन्दी हटाएर विज्ञान बिषयको दरबन्दी बनाई शिक्षक सरुवा गर्दा ३ लाख, निमावि शिक्षक टापुभञ्याङ्मा सिफारीस गरिएको तर रणविरमा सिफारी गर्न लगाउदा १ लाख, चक्रदेवी विद्यालयलाई समायोजन गरि पाइपर्ने ठाउँमा सरुवा गर्दा १ लाख लगायतका थुप्रै प्रश्न खनालले सामाजिक संजालमा उठाएका छन् । शिक्षकको सरुवा गर्दा होटल खर्च देखी बढुवामा १ लाखका दरले १० जना शिक्षकको १० लाख सम्म खर्च गरेको खनालले उठाएका छन् ।
सामाजिक संजालमा उठाएको बिषय साँचो हो भन्ने बिषयमा राजधानीकर्मीले खनालसगँ टेलिफोनमा कुरागर्दा प्रमाण नै नभएपनि शिक्षकहरुले भनेका आधारमा आफुले सामाजिक संजालमा लेखेको बताएका छन् । खनालले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी यो घट्नामा संलग्न नभएपनि बिचौलीयाले ल्याएको काममा मतियारको काम भने नगरपालिकाले गरेको आरोप उनले लगाए । उनले टेलिफोनमा गरेको कुराकानीका आधारमा नगरपालिकामा बिचौलीया शिक्षकहरुको हाबी भएको बिषय उठाएका छन् । तर बिचौलीयाको नाम भने खनालले उल्लेख गर्न चाहेनन् । बेला—बेलामा शिक्षक सरुवाको बिषयमा वालिङ नगरपालिका विवादित बन्दै आएको छ । कतिपय सरुवाका लागि शिक्षक, अभिभावक नै अदालतसम्म पुग्ने गरेका घट्नाहरु पनि छन् ।
कानुन विपरीत र अन्यायका बिषयमा शिक्षक, अभिभावक अदालतसम्म पुग्नु, नगर शिक्षा ऐन शंसोधन गरी वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने कानुन बनाउनु लगायतका घट्नाले बिवादित बनेको नगरपालिकामा पुन खनालले प्रश्न उठाएका बिषयहरुले शिक्षक सरुवा र बढुवा लगायतमा पैसाको चलखेल भएको हुनसक्ने शंका उब्जाएको छ । यता वालिङ नगरपालिकाले सामाजिक संजालमा आएको बिषयलाई छानविन गर्ने जनाएको छ । शिक्षा शाखाका प्रमुख ख्यानारायण काफ्लेले सामाजिक संजालमा लेख्ने शिक्षकलाई पत्र काटेर प्रमाण पेश गर्न निर्देशन दिएको बताए ।

 

Facebook Comments Box
TOP