गण्डकीको आर्थिक वर्ष २०७९/०८० को बजेट: ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ ।

Budget

पोखरा:

गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले बुधबार संसदमा उक्त रकम बराबरको बजेट तथा कार्यक्रम पेस गरेका हुन्।

जसमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख अर्थात ३६।९५ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख अर्थात् ६१.३९ प्रतिशत रकम विनियोजन गरिएको छ।यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड १० लाख अर्थात् ५.८८ प्रतिशत बजेट विनियोजन गरिएको छ।आगामी वर्षका लागि ल्याइएको उक्त बजेटको मुख्य स्रोत नेपाल सरकारले दिने अनुदान रहेको छ।

आगामी वर्षका लागि नेपाल सरकारले वित्तीय समानीकरणतर्फ ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ प्राप्त हुने बजेटमा अनुमान गरिएको छ।यस्तै, नेपाल सरकारले दिने समपूरक अनुदानतर्फ ८३ करोड ७० लाख, विशेष अनुदान ८६ करोड प्राप्त हुने अनुमान गरिएको छ।प्रदेश सरकारले आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड १६ लाख, रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबाट २ अर्ब ७१ करोड रुपैयाँ बाँकी रहने अनुमान अर्थमन्त्री बरालले गरेका छन्।

नेपाल सरकारले विभिन्न शीर्षकमा दिने अनुदान, प्रदेशको राजस्व र चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट बाँकी रहने रकम जोड्दा पनि प्रदेश सरकारले ल्याएको बजेटमा २ अर्ब अपुग देखिएको छ।अपुग रकममध्ये १ अर्ब नेपाल सरकारबाट र १ अर्ब आन्तरिक ऋण लिने अर्थमन्त्री बरालले बताए।

 

Facebook Comments Box
TOP