मुख्यमन्त्रीले निर्देशन दिएको ३० घण्टा नबित्दै अक्सिजन अभावले पोखरामा ७ संक्रमितको मृत्यु   ।  

पोखरा :

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अक्सिजनको कमी भएमा यथाशीघ्र सम्पर्क गर्न निर्देशन दिएको ३०  घण्टामै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन अभावले ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
बुधबार मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अक्सिजनको कमी भएमा यथाशीघ्र सम्पर्क गर्न ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड वार्डका फोकलपर्सन डा शरदचन्द्र बरालका अनुसार हिजो ९बिहीबार० साँझ ६ बजेदेखि हालसम्म ७ संक्रमितको ज्यान गएको हो ।
‘हामीहरु डाटा कलेक्सन गर्दैछौं,’ डा  बरालले  भने, ‘२–३ दिनदेखि हाइ फ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको हो । त्यसले गर्दा अक्सिजन खपत बढी भयो ।’ मृत्यु हुनेमा सुत्केरीसमेत छन् ।
हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा पनि थोरै कम हुनेबित्तिकै ज्यानको जोखिम हुने डा बराल बताउँछन् ।
गण्डकी प्रदेशमा सरकारीस्तरको सबैभन्दा ठूलो अस्पताल भए पनि अक्सिजन प्लान्ट नहुँदा मागअनुसार आपूर्ति हुन नसकेको बताइन्छ । यो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित छ । अस्पतालले ३ दिनदेखि ओपिडी बन्द गर्दै सबै बेडमा कोरोना संक्रमितको उपचार गर्ने सूचना जारी गरिसकेको थियो । अस्पतालमा कुल ३ सय ५० बेड छन् ।
अस्पतालको कोरोना वार्डमा हाल ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसबाहेक इमर्जेन्सी वार्डमा दैनिक १० देखि १५ बिरामी भर्ना हुने गरेको बताइन्छ ।
अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा पोखरा क्षेत्रमा सञ्चालित अक्सिजन उद्योगबाट आपूर्ति व्यवस्था मिलाइएको छ । पोखरामा निजी स्तरमा २ मात्र अक्सिजन प्लान्ट उद्योग संचालित छन् । पोखरा अक्सिजन ग्यास प्रालिले प्रतिघण्टा ३० सिलिन्डर र कालिगण्डकीले प्रतिघण्टा २० सिलिन्डर अक्सिजन उत्पादन गर्छ । यही सिलिण्डरले नै यस क्षेत्रका निजी, सरकारी तथा सामुदायिक अस्पतालमा कोरोनासहित अन्य प्रकृतिका बिरामीलाई धान्दै आएको छ । यी उद्योगले दिनमा जति नै कोशिस गरे पनि  संक्रमितको संख्या बढ्दै जादा  अक्सिजन खपत बढी भई अपुग हुने अनुमान छ ।
विद्युत आपूर्ति नहुँदामात्र उत्पादनमा समस्या पर्ने कम्पनीहरुको भनाइ छ । बिहीबार दिउँसो पनि केही समय बिद्युत अवरुद्ध भएको थियो । तैपनि कम्पनीहरुले भने नियमित अस्पतालहरुलाई अक्सिजन पठाइरहेको दाबी गरेका छन् ।

Facebook Comments Box
TOP