स्मृति दिवस र श्राद्ध ।

khum kant arual

खुमकान्त अर्याल :

आफ्नो जीवनकालमा विभिन्न क्षेत्रमा विशेष खालका कर्महरुगरेका स्वर्गीय व्यक्तिहरुको योगदानलाई स्मरण गर्दै कुनै निश्चित तिथि मितिमा उनीहरुलाई सम्मान गर्ने दिनलाई स्मृति दिवस भन्ने गरिन्छ भने वैदिक सनातन धर्म अन्तर्गतको श्राद्ध पद्दति अनुसार जौ को पिठो वा चामललाई गाईको दुधमा पकाएर वनाएको पिन्डलाई आफ्ना वावुवाजे वजैहरुको प्रतीक मानेर श्रद्धापुर्वक अन्नको प्रसाद,फलफूल जल चढाउने गरिन्छ यसैलाई श्राद्ध भनिन्छ ।

स्मृति दिवसमा उपस्थित अनुगामीहरुबाट सम्मानित दिवंगत व्यक्तिको तस्वीरमा फुलमाला अवीर चढाएर सम्मान गर्ने, उल्लेखनीय कार्यको चर्चा गर्ने गरिन्छ भने श्राद्धमा आफ्ना पूर्वजहरुलाई आदरपुर्वक स्मरण गर्दै आत्मा शान्तिको कामना गरिन्छ । नयाँ चिन्तन,विचार, दर्शन दिएर समाजको आमूल परिवर्तनकालागि जीवन उत्सर्ग गर्ने क्रान्तिकारी, सामाजसुधारक व्यक्तित्वहरुको वार्षिक रुपमा स्मृति दिवस मनाउने चलन आधुनिक राज्यहरुको स्थापना भएपछि सुरुभएको हुनुपर्दछ । सामन्ती चरित्रको पुरानो चलनमा राजा महाराजा र केही धर्मगुरुहरु वाहेक अरुको प्रशंसा गर्नु त्यति राम्रो मानिदैनथ्यो तर मानवीय नाताले स्वर्गीय आमावावुहरुलाई स्मरण गर्ने, उनीहरुको योगदानको प्रशंसा अभिलेखन जस्ता कार्यहरु विश्वका सवै धर्म सम्प्रदायका मानवहरुले सभ्यताको सुरु भएपछिका दिनहरुबाट नै गर्दै आएको अनुमान गर्न सकिन्छ । तर हाम्रो पूर्वीय सभ्यतामा पुनर्जन्म पाप धर्म स्वर्ग नर्क जस्ता कुराहरुको विश्वास गरिन्छ ।

‘मानिस मरेपछि उसले सुक्ष्म वायुरुपमा कतै निवास गर्ने र उनीहरुलाई भोक तिर्खाको आभास हुने हुँदा उनीहरुलाई श्रद्धापुर्वक स्मरण गर्ने, उनीहरुको जीवनकालका घटनाहरुको चर्चा गर्ने, यसबाट आफ्नो जीवनका लागि पाठ सिक्ने मात्र होइन उनीहरुलाई विधिपुर्वक अन्नको प्रसाद जल फलफूल अर्पण गर्दा उनीहरु तृप्त हुने विश्वास गरिन्छ ।’

हिन्दु धर्म गन्थहरुका अनुसार पितृहरू खास गरी दुई प्रकारका छन, व्रम्हाजीले तोकिदिएका दिव्य पितृ, जसले मानिसको मृत्यु पछि उसले जीवित छँदा गरेका कार्यहरुको मुल्याँकन गरी कर्मफलको निर्धारण गर्दछन र पृथ्वीवासीहरुले दिएको तर्पण श्राद्धको भाग उनीहरुका सवै पुर्व पितृहरु र दिव्य पितृ कँंहा पुर्याउने गर्दछन र उनीहरुले कुन पृथ्वीवासी का पितृ को हुन भन्ने पुर्ण जानकारी राख्दछन । तेस्तै मर्त्यलाेकवासी मानिस मरेपछि हुने पितृहरुनै हाम्र अर्काथरीका पित्रृहरु हुन् जो केही समयकाल पछि पुनः पृथ्वीमा जन्म लिन्छन् ।

अग्नीस्वात्त, अर्यमा, वहिर्पद,यम, सोम, सोमपा आदि नाम गरेका दिव्य पितृहरु हुन्, उनीहरुले पनि हामीले दिएको तर्पण श्राद्धकाे भाग प्राप्त गर्दछन । पुराणहरुमा हामीले दिएको जलप्रसाद पितृहरुले कसरी प्राप्त गर्दछन भन्ने केही भिन्न भिन्न तरिकाहरु वताईको छ जस अनुसार, आफ्नो मृत्यु तिथिको प्रतीक्षामा रहेका पितृहरुले पृथ्वीलोकमा रहेका आफन्तहरुले विधिपुर्वक पिन्न र तर्पण दिने वित्तिकै पाएको अनुभव गरी तृप्त हुने कुराको उल्लेख छ ।

त्यसैगरी अर्पण गरिएको पिन्न अग्नीकी पत्नी स्वधाले ग्रहण गरी, त्यस द्रव्यलाई अतिसुक्ष्म आकारमा वदलेर पितृहरुको मुखमा पुर्याउछिन र उनीहरु सन्तुष्ट हुन्छन, उही स्वाहा नामकी अग्नी पत्नीले देवताहरु कँहा पुर्याए जस्तै । यस्तै अर्यमा भन्ने पितृलोकका मुख्य देवता जो १२ सुर्य देवताहरु मध्ये एक हुन, सुर्यको सवैभन्दा माथिल्लो किरण पनि हुन् त्यही किरणको माध्यमबाट चन्द्रमा भन्दा माथी भएको पितृलोकका पितृहरु श्राद्धकाे प्रसाद ग्रहण गर्न पृथ्वीमा आउदछन् र भाग ग्रहण गरेपछि किरणबाट नै आफ्नो लोकमा फर्कन्छन । उपरोक्तानुसार श्राद्ध गर्दा पितृहरु सन्तुष्ट भई दुवैको कल्याण हुने आस्थालाई अन्धविश्वासको रुपमा मान्दछन् नास्तिकवादीहरु ।

फेरी तिनै केही नास्तिकवादीहरु कुनै विचारकको स्मृतिदिवसको अवसरमा उनको तस्वीरमा फूलमाला चढाउने, श्रद्धाञ्जली अर्पण गर्ने, स्वर्गीयका विचारको भावनालाई जीवनमा उतार्ने प्रतिबद्धता गर्दछन । यसलाई विचारको सम्मान र निरन्तरताको लागि हो भन्ने तर्क गरिन सक्छ, विचार पनि अमुर्त विषय हो जस्को प्राण हुदैन यो व्यवहारमा उतारेर मात्र मुर्त हुनसक्दछ केवल प्रचारवाजी गरी राजनैतिक स्वार्थ पुर्तिमा लागेर विचारको सम्मान हुदैन यसैले यो पनि एक प्रकारको दोहोरो चरित्र नै हो ।

उनीहरु आँफुलाई वैज्ञानिक तथ्यलाई मात्र आधार मान्ने एक सभ्य प्रतिनिधिको रुपमा प्रस्तुत गर्दछन तर निस्प्राण चित्रमा पुस्पार्पण गर्ने,उनीहरुको आत्माको चीरशान्तीको कामना त गर्दछन तर आफ्ना वावुआमाको श्राद्ध त के मृत्यु संस्कार क्रिया गर्दा वुर्जुवा भईने कुराले तर्सन्छन । स्मृति दिवसमा माल्यार्पण गरेको तस्वीरको प्राण छैन तर चित्र प्रति स्यालुट गर्ने, एक मिनट मौनधारण गर्ने, आत्माको चिर शान्तिको कामना गर्ने कार्य पनि त बिश्वास हाे र अमुर्त कुरा हाे, उनीहरुको सिद्धान्त अनुसार यसलाई कुन चरित्रको मान्ने ? आँफुलाई नयाँ सस्कृतिका वाहक भनेर दावी गर्ने समूहले आज भन्दा पन्ध्र वीस वर्ष अगाडि हाम्रै नेपालका ग्रामीण क्षेत्रमा, वावु आमाको क्रियामा वसेका क्रिया पुत्रीहरुलाई क्रिया गर्न रोक लगाउने, श्राद्ध गराउने पन्डितको टुप्पी उखेल्ने जस्ता अतिवादी घटना गराएका थिए । पछि त्यही दलका शिर्षस्थ नेताले ठूलो पदपाएपछि त्यसको सफलताको लागि देवीको मन्दिरमा राँगोको वलि दिएर पदभारग्रहण गरेको पनि हामीले देख्यौं ।

‘यसरी अरुको आस्थालाई अन्धविश्वास भनेर अपमान गर्ने, तर आफ्नो राजनैतिक स्वार्थका लागि जे पनि प्रगतिशील हुने, उस्तै परे अरु विदेशी धार्मिक प्रतिनिधी वा अनेक वावाहरु संग नतमस्तक भएर फाेटाे खिचाउने, स्वघाेषित तरल पदार्थले अभिशेक गरी आशिर्वाद लिन नहिच्कीचाउने कृत्य हाम्रै अगाडि प्रदर्शन भएको सायद कसैले विर्सेका छैनौं । ‘

स्मृति दिवसमा जसरी स्वर्गीय नेताको गुनगान गरिन्छ, विचार र दर्शनको प्रशंसा गरिन्छ, त्यसै गरी श्राद्धमा आँफुलाई जन्म दिने वावुआमाको स्मरण, उनीहरुको जीवनी, उनीहरुले गरेभोगेका सुख, साहस सफलताका स्मरणहरु, वाजे वजैहरु, उनीहरुका योगदानहरुको स्मरणले प्रेरण दिन्छ, जसबाटै आगामी जीवनका लागि मार्ग दर्शन र नैतिक पाठ समेत प्राप्त गर्न सक्तछौं । पितृ सम्मानको कार्यले समाजमा अभिभावकहरुलाई आदर सत्कार सम्मान पालनपोष गर्न पनि प्रोत्साहन गर्दछ । श्राद्धमा परिवारका दाजुभाई छिमेकी भान्जा भान्जि दिदी वहिनीहरु उपस्थित हुने अवसर पनि श्रृजना गर्दछ । यसले समाजीक मेलमिलापका लागि पनि सहयोग गर्दछ । पारिवारिक फाटो केही भए यस्ता भेटघाटले आपसि झगडाका विषयहरुको समाधान गर्न पनि अनुकुल हुने गर्दछ ।

धर्म संस्कृति परम्परा र आस्थाको नाममा कसैलाइ कर्मकान्डिय आधारमा अनावश्यक शोषण गर्ने पाखण्ड प्रदर्शन गर्ने नियत राखियो भने त्यसलाई पनि राम्रो मान्न सकिदैन, आँफुसक्यको दान यज्ञ गर्ने हो यस विषयमा पन्डित पुरोहित समाजले पनि आफ्नो आदर्श र मर्यादालाई वेस्करी विचार गर्नु पर्ने हुन्छ । आँफु संग प्रशस्त द्रव्य तथा आवश्यकीय वस्तु जुटाउन नसके श्रद्धा पुर्वक आफ्ना पितापुर्खाकोे स्मरण गर्दा पनि उनीहरु खुसी हुनेछन तर सक्नेहरुले यसो भनेर फुर्सद लिन खोज्नु पनि इमान्दारी ठहरिदैन् ।

यसै गरी स्मृति दिवसमा साँच्चै असल विचार दिने महामानवहरु प्रतिको ओठे भक्ति देखाएर हैन पुर्ण समर्पित भई इमान्दार भएर कर्मको क्षेत्रमा लागु गरेमा जीवनमा उतारेमा र यस पृथ्वीमा अवतरण गराउने आफना पुजनीय वावुआमा वाजे वजैहरु र पुर्वजहरु प्रति सभक्ति कृतज्ञतापुर्वक श्रद्धाप्रकट गर्दा आफनो र सवैको कल्याण हुने छ यसर्थ स्मृति दिवस र श्राद्ध दुवै भावनात्मक श्रद्धा प्रकट गर्ने पवित्र कार्य भएको कुरालाई मनन गरौं र एउटालाई वैज्ञानिक सत्य र आर्कोलाई अन्धविश्वास भन्ने भ्रमबाट मुक्त हुन सकौं ।

(लेखक अर्याल नेपाल सरकारका सेवा निबृत्त अधिकृत हुनुहुन्छ ।)

Facebook Comments Box
TOP