गाई भैसीमा लाग्ने नयाँ महामारी: लम्पी स्किन डिजिजको बारेमा एक जानकारी
डा.अनिष साप्कोटा :
रोगको परिचय:
लम्पी स्किन डिजिज विशेषत गाईमा लाग्ने एक सरुवा रोग हो। यो रोग लागेपछी पशुलाई ज्वरो आउनाको साथै पशुको शरीरमा गाठागुठि देखिने र पाक्ने हुन्छ। सन् १९२९ मा अफ्रिकामा पहिलोपल्ट देखिएको यो रोग अफ्रिकाभन्दा बाहिर २०१२ मा एसिया र युरोपमा देखिएको थियो। हाल आएर नेपालको तराई क्षेत्रका बिभिन्न जिल्लाहरुमा यो रोग पुष्टि भईसकेको र हालै आएर छिमेकी जिल्ला तनहुमा पनि देखिएको हुनाले स्याङ्जा जिल्लामा पनि यो रोग देखिने सम्भावना उच्च रहेको छ। यो रोग लागिसकेपछि मृत्युदर १ देखि ५ प्रतिशत छ। मृत्युदर तुलना गर्दा स्थानीय जातका पशुभन्दा उन्नत जातका पशुमा संक्रमण तथा मृत्युदर बढी रहेको पाईन्छ। यसो हेर्दा मृत्युदर कम देखिएतापनि उपचार खर्च धेरै लाग्ने, लामो समयसम्म पशु कमजोर हुने, उत्पादन कम हुने आदि कारणले गर्दा यो रोग लागिसकेपछि किसानलाई ठुलो नोक्सानी हुन्छ। पशुपालक कृषकलाई ठुलो हानि हुने भएतापनि मानिसमा भने यो रोग देखिदैन।
रोग सर्ने माध्यम:
यो रोगको कारक तत्व भाईरस (बिषाणु) हो। यो भाईरस बिफरको भाईरससंग मिल्दोजुल्दो हुन्छ। संक्रमित पशुको छालामा आएको घाउमा अत्यन्तै धेरै मात्रामा भाईरस रहेको हुन्छ। यसबाहेक र्याल, रगत, सिगान आदिमा पनि भाईरस रहेको हुन्छ। यी बस्तुहरुको सम्पर्कमा आउने अरु पशु बस्तुमा यो रोग निम्न माध्यमहरुबाट सर्ने गर्छ।
- यो रोग सर्ने मुख्य माध्यम भनेको लामखुट्टे, झिंगा डास, किर्ना लगायत पशुलाई टोक्ने किराहरु हुन्। यी किराहरुले संक्रमित पशुलाई टोकेर स्वस्थ पशुलाई टोक्दा स्वस्थ पशुलाई संक्रमण हुन्छ।
- पशुको घाउ, र्याल, रगत, सिगान आदिको सम्पर्कमा आएको दाना, पानि, घास, भकारो आदीको सम्पर्कमा आउने पशुलाई यो रोग सर्छ।
- यस्तै, रोगी साढेबाट स्वस्थ गाईमा र रोगी गाईबाट स्वस्थ साढेमा पनि यो रोग सर्ने गरेको पाईएको छ।
लक्षणहरु:
यो रोगका लक्षणहरु निम्नानुसार छन्।
- उच्च ज्वरो: १०५ डिग्री फरेनहाईट वा बढी ज्वरो आउन सक्छ।
- दुध घट्ने, खाना नखाने, दुध घट्ने, आशु र सिगान आउने आदि लक्षणहरु देखिन्छन्।
- ज्वरो सुरु भएको लगभग ४८ घन्टाको अवधिमा २-५ सेन्टिमिटर साईजका गाठागुठि देखा पर्न थाल्छन। यि गाठाहरु टाउको, घाटी, खुट्टा, कल्चौडो लगायत कमलो छाला भएको भागमा देखापर्छन।
- ठुला गाठागुठीहरु भएको ठाउमा छाला गलेर घाउ हुन्छ, यी ठाउमा पाक्न सक्छन र घाउ भएको ठाउमा किरा पर्न सक्छ।
- मुख, नाक, घाटी, आन्द्रा, श्वासनली आदि भागमा पनि यस्तै गाठागुठी आउन सक्छन्, पाकेर घाउ पनि हुन सक्छ।
- यो रोग लागिसकेपछी ब्याउने गाईहरुको गर्भपतन हुन सक्छ र लामो समयसम्मका लागि बाझो हुन सक्छन्। यस्तै साढेहरुमा पनि बाझोपन देखिन सक्छ।
- घाउ पाक्ने; किरा परेको कारणले गहिरो घाउ पनि हुन सक्ने; पशु दुब्लाउने; निमोनिया, थुनेलो अन्य रोगहरुले पनि संक्रमण गर्न सक्ने हुनाले एकपटक संक्रमित पशुलाई पुन पहिलेकै स्थानमा आइपुग्न समय लाग्न सक्छ।
उपचार
भाईरसले गर्दा लाग्ने भएकाले यो रोगको खास उपचार सम्भब छैन। यस अवस्थामा सकेसम्म चाडो पशु चिकित्सक वा प्राबिधिकहरुलाई सम्पर्क गर्नुपर्छ। निम्न उपायहरु अबलम्बन गर्दा पशुको रोगसँग लड्ने क्षमता बढ्ने र निको हुने सम्भावना बढ्छ।
- शरीरमा देखिएका गाठागुठि र घाउहरु सफा गरिदिने।
- ज्वरो कम गर्ने औषधिहरु प्रयोग गर्ने।
- घाउहरुमा थप संक्रमण कम गर्न बिशेषज्ञको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्न सकिन्छ।
नियन्त्रण:
यो रोगको नियन्त्रण गर्ने उपाय भनेकै रोग लागेको सकेसम्म चाडो जानकारी प्राप्त गर्ने र यसले महामारीको रुप लिनुभन्दा पहिले नै रोकथाम गर्ने नै हो। यसका लागि निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ।
- रोगी पशुलाई बथानबाट छुट्याउने र उपचार गर्ने नै यसको रोकथामको उपाय हो।
- संक्रमित क्षेत्रहरुबाट पशु र पशुजन्य उत्पादनहरुको आवत जावत नियन्त्रण गर्नुपर्छ।
- अन्य स्थानबाट खरिद गरि ल्याईएका पशुहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ।
- रोग लागेर मरेका पशुको उचित व्यवस्थापन गर्नुपर्छ।
- झिंगा, भुसुना, लामखुट्टे, किर्ना र डाँसको नियन्त्रण गर्नुपर्छ।
- गोठ, मलखाद र वरपरका क्षेत्रको सरसफाई गर्न र निर्मलीकरण गर्न जरुरि छ।
- रोग देखिएको २० किमी वरपरको क्षेत्रमा रहेका पशुहरुको परिक्षण गरी संक्रमित पशुहरुको उपचार गर्नुपर्छ।
(लेखक डा. सापकोटा,गल्याङ नगरपालिकाका पशु चिकित्सक हुनुहुन्छ । )
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


