बिशेष : बन्दाबन्दी (लकडाउन) को बेला के गर्दैछन स्याङ्जाली स्रष्टाहरु ?

१.कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी (लकडाउन ) को यो अत्यन्तै संवेदनशील समयमा तपाईं कहाँ हुनुहुन्छ ? अनि यतिबेलाको यो समयमा तपाईंले विशेष के गरिरहनु भएको छ ?
२. कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीको अन्त्यपश्चातको समयमा एकजना कवि र लेखक र साहित्यकारको रूपमा तपाईं आफैंले के गर्नुहुन्छ ? के गर्ने सोच बनाउनु भएको छ ? भन्ने हाम्रो प्रश्नको जवाफ जस्ताको तस्तै :
वर्तमान विश्व परिदृश्य यो पुस्ताका लागि चुनौती र अवसर दुवै हो ।
.

अनन्त अर्याल , वालिङ , स्याङ्जा :
यतिबेला विश्व कोभिड (१९ को महामारीले आक्रान्त छ । मानव सभ्यतामै प्रश्नचिन्ह खडा भएको परिस्थिति छ । यस किसिमको खतरनाक महामारीबाट जोगिने,सुरक्षित हुने उत्तम उपाय भनेकै एक अर्को बीचको सामाजिक दुरी कायम राख्ने, सम्पर्कबाट टाढा रहनु हो । आफू सुरक्षित हुदै अरुलाई सुरक्षा प्रदान गर्नु हो । आफु पनि बाच्ने अरुलाई पनि बचाउने हो ।सबैले आफ्नो र अर्कोको अस्तित्व बचाउनु पर्ने यस घडीमा विश्वका सबै मुलुकहरुले लकडाउनलाई उत्तम विकल्पका रुपमा स्वीकार गरेका छन् र लकडाउन गरेका छन् । यसै सन्दर्भमा नेपाल सरकारले पनि लकडाउन गरेको छ । बन्दाबन्दीको यस घडीमा म काठमाडौं तारकेश्वर नगरपालिका ( ९ , लोकतान्त्रिक चोक,मनमैजुको घरमा बन्दी जीवन बिताएको छु । विद्यालयमा वार्षिक परीक्षा ९ कक्षा १(९० सकी थोरै समयका लागि विद्यालयकै कामको सन्दर्भमा काठमाडौं आएको अचानक लकडाउनले बाध्यताबस् बसाइ लामो भयो । मेरो दुर्भाग्य यो शान्तिपूर्ण बन्दी बसाइलाई सोचेअनुरुप सार्थक बनाउन सकेको छैन । यस बीचमा पढ्नै पर्ने महत्त्वपूर्ण पुस्तकहरु पढ्ने समय मिलेको हो तर साथमा पुस्तक भएनन् ।जे थिए गाउँमै रहे ।यहाँ बजारमा किन्न जान लकडाउनले मिलेन ।
तर पनि शान्तिपूर्ण बन्दको यस घडीमा उपलब्ध भएसम्मका साहित्यिक पुस्तकहरु ,धार्मिक पुस्तकहरु पढ्ने गरेको छु । साथमा हिन्दी ,नेपाली चलचित्र हेर्ने,परिवारसँग भलाकुसारी गर्ने ,मनमा विचार र भावहरु उत्पन्न हुँदा लेख्ने आदि काममा मेरो समय बितिरहेको छ । मानव जातिलाई आत्म समीक्षा गरी सोच्न विवश बनाएको वर्तमान विश्व परिदृश्य यो पुस्ताका लागि चुनौती र अवसर दुवै हो । आखिर प्रकृतिभन्दा माथि र प्रकृतिभन्दा बलियो कोही केही रहेनछ ।भौतिक विकास त सपनाको झिलिमिली बाहेक केही होइन भन्ने सन्देश हामीलाई प्राप्त भएको छ ।यसबाट शिक्षा लिई अबको मानवसभ्यता मानव जातिको कल्याणमा केन्द्रीत हुनुपर्छ ।मानिस मानिस हो । यहाँ कुनै भेद छैन ।विश्वका सबै मानिस मनुष्यभावले मनुजता कायम गरी युगयुग अस्तित्वशाली भएर बाँच ,प्रकृतिमा रमाऊ भन्ने सन्देश दिएको छ ।यही विन्दुबाट उठेर अगाडि बढ्नु पर्छ । स्थिति विस्तारै सहजीकरण हुदै जानेछ ।जनजीवन पुर्ववत् अवस्थामा फर्किने छ । फर्कनु पर्छ । त्यसपछि मेरो दिनचर्या आफ्नो जागिरतिर फर्कने ,विद्यालय सञ्चालन गरी वर्तमान परिस्थितिले रोकिएका कार्य सम्पादन गर्ने ,पुर्व घोषित भएअनुसार गुप्ततारा स्मृति प्रतिष्ठानद्वारा प्रकाशन गर्ने भनिएको समकालीन नेपाली प्रतिनिधि गद्य कविता सङ्ग्रहका लागि प्राप्त कविताको सङ्कलन,सम्पादन र प्रकाशन गर्ने ,यस बन्दी जीवनको शान्तबासमा रचना गरिएका र पुर्व तयार भएका रचनाहरुको सम्पादन ,प्रकाशन गर्ने साथै अन्य भैपरिआउने सामाजिक ,पारिवारिक काममा रमाउनेमै बित्ने छ ।
अब विदेश होइन स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न प्रेरणा दिने साहित्य लेखन।
.

सूर्यप्रसाद डुम्रे , गल्याङ , स्याङ्जा :
कोरोना भाइरस (कोभिड १९) को विश्वब्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी (लकडाउन) को अत्यन्तै संवेदनशील समयमा मैले गल्याङस्थित घरमै एकान्तबासमा बसी निम्न कार्यहरु गरेको छु।
१. बिहान सवेरै उठ्ने,दैनिकीकार्य पछि स्नान गर्ने,धारामा पानी भर्ने।
२. दैनिक पुजापाठ गर्ने,कोरोना देवीलाई शान्तहुन अनुरोध गर्ने।
३. भिडभाडमा नजाने, मास्क लगाउने,तातोपानी र ताजा खाना खाने।
४. साहित्यिक पुस्तक पढ्ने , यौटा महाकाव्य र अन्य दशवटा पुस्तक पढेर सिध्याए।
५. कोरोनाबारे सचेत रहन गीत , गजल , कविता लेखेर पोस्ट गर्ने।
६. अनलाईनका खबर , टिभिमा समाचार हेर्ने आफन्तजन , साथीभाइसँग फोन सम्पर्क गर्ने ।
७. राहतकोषमा सक्दो सहयोग गर्ने,फुर्सद निकालेर करेसा बारीमा काम गर्ने।
कोरोनाभाइरस (कोभिड १९) को विश्वब्यापी महामारीको अन्त्य पश्चातको समयमा एकजना साहित्यकारको हैसियतले मैले निम्न कुराहरु गर्ने सोच बनाएको छु।
१. सरकार तथा पालिकाहरुद्वारा बितरण गरिएका राहतका बारेमा समीक्षा गर्ने।
२. कोरोनाले पारेको विश्व प्रभाव र अर्थतन्त्रबारे लेख रचना लेख्ने ।
३. अब विदेश हैन स्वदेशमै रोजगारको अवसर प्रदान गर्न ब्यबस्था मिलाउने।
४ यो जटिल समयमा खट्ने प्रहरी,स्वास्थ्यकर्मीलाई र अन्य सहयोगीहरुलाई धन्यवाद दिने।
५। यौटा यसै सन्दर्भको सामाजिक उपन्यास लेख्ने। जनचेतना जगाउने विविध साहित्यिक कार्यक्रम गर्ने आदि।
गाउँघरका प्राकृतिक सुन्दरतामा रमाउदै साहित्य सिर्जना ।
.

अग्निकुमार रेग्मी पल्लव , वालिङ , स्याङ्जा :
छुट्टीको समय छ। गाउँघरतिर झिनामसिना कामहरुबाहेक अरु त्यस्ता बोझिला र लामो समय लगाउनुपर्ने कामहरु छैनन्। एउटा कविमनलाई फुर्सदको समयले दिएको उपहार सम्झेर मानसिक तन्तुहरूलाई धेरै समय लेखनकार्यमा लगाएको छु। त्यतिधेरै लेखेर लेखनसिद्द भएको व्यक्ति नभएर होला, यो बेला जन्मेका पन्ध्र(सत्र कविता, मुक्तक र गजलहरू मेरा निम्ति धेरै नै हुन्। यो बाहेकको बचेको समय गाउँघरतिरको प्राकृतिक सुन्दरतामा रमाउने समसामयिक विषयमा गफ गर्ने कामहरु चलिरहेका छन । पसिना निकालेर काम गरिसकेपछि बिश्राममा हावाले शरीरलाई स्पर्श गर्दाको अनुभव अमुल्य छ। हाम्रो गाउँबाट एक मिनेटमा पुगिने डाडो जहाँ एकपलपनि हावा नरोकिइकन ठूलो तेजले बगिरहन्छ त्यहाँ पुगेर वसन्ती हावामा हराउन असाध्य मन लाग्छ। लेखनलाई अत्याधिक प्रभाव पार्ने विषयवस्तु भनेकै समसामयिक वातावरण र त्यसको प्रभावबाट जन्मेका भाव नै हुन् जस्तो लाग्छ। तसर्थ समसामयिक विश्व परिवेशमा घटेको डरलाग्दो महामारीले विश्व समुदायमा देखिएको सन्त्रास र यसको भावी प्रभावबारेको चिन्तनमा चिन्तित हुनाले लेखन त्यही मार्गमा हिडिरहे जस्तो लाग्छ। साँच्चिकै अहिले नै यसले भोलि कुनरुप लिन्छ भन्नेबारे ठोकुवा नै गर्नसक्ने आधारहरु नजन्मेपनि यो चाहिँ पक्कै हो कि यसले पार्ने प्रभाव महाविश्वयुद्धले पारेको दुष्परिणाम भन्दा कम हुनेवाला छैन। कलाकार , संस्कृतिकर्मी , लेखक भनेका मानवमा नयाँ विचारको निर्माण गर्न सक्ने खुबीका साथै समसामयिक युगबोधलाई कलाको माध्यमले सामाजिक रुपान्तरणका मार्गहरु पहिल्याउन सक्ने पथप्रदर्शक हुन्। भोलि महामारीको अन्त्यपछि उनीहरूको भूमिका अझ सशक्त हुनुपर्छ जस्तो लाग्छ। वास्तवमा मानवमनमा देखिएका विकृति र विसङ्गति नै यी यस्ता महामारीका उपज हुन् भने त्यसलाई निर्मुल पार्ने भूमिका युगले तिनै व्यक्तिलाई सुम्पिन्छ जस्तो लाग्छ। व्यक्ति मात्र नभएर महामारी पछिको विश्वको समुदायमा लागेको आलो घाउलाई मल्हमपट्टी लगाउने कामपनि उनीहरूकै हो जस्तो लाग्छ। समयले मानव जीवनलाई प्राणायाम ध्यान जस्ता धार्मिक पक्षसँग जोड्न आग्रह गरेको छ, यसमा पनि उनीहरूको भूमिका देखिन्छ।
अहिलेको अनुभुतिलाई लिपीवद्व गर्नेछु ।
.

दुर्गाबहादुर रोकाहा , अर्जुनचौपारी , स्याङ्जा
म सरकारले निर्देशन गरेअनुरुप घरमै बसेर विभिन्न पुस्तकहरु पढने काममै ब्यस्त रहेको छु। विश्वव्यापी रुपमा कोरोनाको यो महामारीले सिर्जना गरेको आतङ्कबाट सिर्जित समस्याहरु जस्तै अन्य खालका विविध समस्याहरु आउन सक्ने कुरालाई दृष्टिगत गरि यो अनुभुतिलाई सङ्गालेर विविध सचेतनामूलक सिर्जनात्मक लेखहरु तयार गर्नेछु ।
महामारीको अन्त्यपछि झनै सक्रिय रूपमा नेपाली भाषा साहित्यको क्षेत्रमा लाग्ने गरी तयारी गरिरहेको छु ।
.

शम्भु अर्याल , वालिङ , स्याङ्जा
म यतिबेला (कोभिड १९) को असर शुरूभएदेखि सरकारले एकान्तबासको घोषणा लागु गरेको दिनदेखि नै स्वतन्त्र रूपमा गृहबन्द छु । यो समय निरन्तर पढ्नु , लेख्नु, युट्युबमा सिनेमा र उपलब्धिमुलक भिडियो, महाभारतको शृङ्खला हेर्नु, अनलाइन समाचार र साहित्यिक ब्लगहरू पढ्नु मेरो दिनचर्या बनेको छ । महाभारतको बिसौ श्रृङखलासम्म आइपुग्दा महाभारतले आजभन्दा पाँचहजार वर्ष अगाडि नायकको कर्तव्य, भुलबस भएको गल्तीको पनि आत्मस्विकार, आत्मालोचना र स्वयं सजायको स्वीकारोक्ति र अनिवार्यता, प्रजालाई प्रदान गरेको स्वतन्त्रता , संप्रभुता, नारी अधिकार र स्वतन्त्रताले आश्चर्यचकित बनिरहेको छु । जीवनमा भाषा र साहित्यको माध्यमले संसार बदल्नुभन्दा पहिले आफु स्वयं बदलिनु पर्छ भनेर हिंडेको मान्छे हु म । द्रष्टा भन्दापनि दृष्टिको खोज गर्दै हिँडेको लेखक हुनुको नाताले महामारीको अन्त्यपश्चात पनि भाषा र साहित्यको सेवा मुल कर्म हुनेछ । यो बाहेक पेसाले होटल ब्यवसायी भएको हुँदा बन्द अवस्थामा रहेको ब्यवसाय , अस्तब्यस्त र लथालिङ्ग अवस्थामा रहेको होटलका कोठाहरू, छुट्टिमा घर गएका स्टाफहरू जुटाएर ब्यवस्थापन गरेर पुनः सुचारु गर्नुपर्ने जिम्मेवारी पनि उत्तिकै छन् । केही हप्तामै आर्थिकपाटो झण्डै नील बनेको छ । समाज सेवामा जोडिएका थुप्रै संघसंस्थाहरू पनि अलपत्र छन् । यिनै विषयवस्तुमा पुनः केन्द्रित हुने लक्ष्य छ । निबन्ध सङ्ग्रह पूरा भएको छ । यो महामारी सकिएर जनजीवन सामान्य बनेपछि यथाशीघ्र प्रकाशन गर्ने सोच बनाएको छु ।
साहित्य सिर्जनामा व्यस्त छु, कोरोनाको कारण कुनै दिक्दारी छैन ।
.

मिलन समीर , करादीखोला , स्याङ्जा
कोरोना भाइसरको महामारीको कारण विश्वव्यापी रूपमा अप्रत्याशित किसिमबाट सिर्जित यो अत्यन्तै संवेदनशील बन्दाबन्दीको समयमा म मेरो करादीखोला , स्याङ्जास्थित गाउँको घरमा रहेको छु सपरिवार । यतिबेला सामान्य घरायसी कामधन्दामा बुबा आमालाई सघाउनेदेखि बाहेक बाकी पुरै समय साहित्यिक अध्ययन र लेखनमै बितिरहेको छ । सधैं हतार हुने अवस्थामा बितिरहेको मेरो समय यतिबेला साच्चै फुर्सद भएको हुनाले मैले मेरो पुरै ध्यान साहित्यको अध्ययनसङ्गै लेखनमा दिन भ्याएको छु । पढ्ने रहर भएर पनि समयाभावको कारण पढ्न नभ्याइएका केही महत्त्वपूर्ण साहित्यिक ग्रन्थहरु पढ्ने जस्तो अत्यन्तै सुनौलो अवसर यतिबेला जुरेको छ एकातिर भने अर्कोतिर रफ लेखाइमै अल्झिरहेका थुप्रै कविता र निबन्ध तथा मुक्तक रचनाहरुलाई अन्तिम लेखाइमा टुङ्याएर डायरीमा उतार्ने काम पनि अहिलेसम्म बाकी रहेको अवस्था थियो । त्यसलाई पनि यतिबेलै पुरा गर्न भ्याएको छु । यो सन्दर्भ मेरो लागि निकै महत्त्वपूर्ण रहेको छ । त्यसैले पनि होला अहिलेसम्म मलाई बन्दाबन्दीकै कारण कुनै किसिमको दिक्दारीको अनुभुति भएको छैन । अत्यन्तै सिर्जनशील काममा व्यस्त भएको हुनाले दिनभरीको समयपनि कति छिट्टै बितिरहेको हो जस्तो लागिरहेको छ । समय बितेको पत्तै नहुनेगरी । कोरोना भाइरसको यो विश्वव्यापी महामारीको अन्त्य कहिले , कसरी र कुन रूपमा हुने हो भन्ने कुरा अहिलेसम्मको अवस्थामा ठ्याक्कै किटेर भन्न सकिने अवस्था त छैन । तैपनि अहिलेसम्मको अवस्थालाई नियालेर हेर्दा आगामी असार महिनासम्म यसले कुनै न कुनै रूपमा आफुलाई सक्रिय तुल्याइराख्ने हो कि जस्तो देखिन्छ । त्यसपछि भने यसले अवस्य हार खानेछ । त्यतिबेलासम्मको समयावधिभित्रै यसले रौद्र रुप धारण गरी आफ्नो ताण्डव नृत्य जारी राख्दै अकल्पनीय धनजनको क्षति पुर्याउने छ । त्यसपछिको समय साच्चै कहालीलाग्दो पनि हुन सक्नेछ । हामीले अहिलेसम्म कल्पना समेत नगरिएको मानव शक्ति र स्रोतलाई यसले सिध्याउन कुनै कसर बाकी नराख्न पनि सक्छ । त्यसैले कोरोना भाइरसको महामारीको अन्त्यपछिको समय अहिलेको भन्दा अझै संवेदनशील हुने देखिन्छ । त्यतिबेलाको समयमा आत्तिएर र हडबडाएर भन्दा पनि अत्यन्तै धैर्य भएर हामी एकले अर्कोलाई आड भरोसा दिदै सम्हालिएर अगाडि बढ्नुपर्ने हुन्छ । मानवीय गैर जिम्मेवार क्रियाकलापकै कारण प्रकृति हामीसङ्ग रिसले चुर भएकि छिन् । यो तीतो तर सत्य कुरालाई स्वीकार गर्दै हामीले प्रकृतिसङ्ग अहिलेसम्म गरिएका गलत क्रियाकलापहरुलाई सधैंका लागि बन्द गरि प्रकृतिलाई खुशी तुल्याउने गतिविधिमा आफुलाई अग्रसर बनाउनुको अर्को विकल्प अब देखिदैन । होइन भने फेरि अर्को महामारीसङ्गै भीषण प्राकृतिक प्रकोपलाई चुले निम्तो दिए जस्तै हुनेछ । लेखक र कलाकार र संस्कृतिकर्मीको भूमिका त्यो समयमा धेरै महत्त्वपूर्ण हुने देखिन्छ ।
किनभने हरेक लेखकद्वारा लेखिएका विभिन्न लेख रचनाहरुको माध्यमबाट हरेक मानिसलाई जीवनप्रति आशावादी बनाउदै सदैव सकारात्मक दिशामा अगाडि बढ्न प्रेरित गर्न सकिन्छ भने कलाकार र संस्कृतिकर्मीहरुले समेत आफ्ना हरेक गतिविधिहरुलाई माध्यम बनाएर हरेक मानिसलाई सकारात्मक सोच सहित प्रकृतिको पुजा गर्नु भनेकै आफ्नो अस्तित्वको रक्षा गर्नु हो भन्ने तथ्यलाई स्थापित गर्न सकिन्छ र गर्नैपर्ने देखिन्छ । त्यसैले पनि यो कोरोना भाइरसको महामारीको अन्त्यपछि लेखक र कलाकार र संस्कृतिकर्मीको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ र यो विशेष महत्त्वपूर्ण तथा अत्यन्तै संवेदनशील भूमिकामा हरेक लेखक र कलाकार र संस्कृतिकर्मीहरुले आफुलाई खरो उतार्न सक्नुपर्छ । मैले आफुलाई पनि यी र यस्तै सन्दर्भमा केन्द्रित गराउने छु । साहित्यको माध्यमबाट केही न केही महत्त्वपूर्ण अर्थ राख्ने किसिमको काममै आफुलाई क्रियाशील बनाइरहने छु । साच्चै भन्नुपर्दा अहिले यतिबेला पनि म यही सोचाइको मार्गदर्शनमा आफुलाई अगाडि बढाइरहेको छु ।
बाझै रहेका खेतबारीमा फलफुल तथा औषधिका बिरुवा लगाउदै साहित्य सिर्जना गर्दै
.

युवराज सुवेदी , वालिङ , स्याङ्जा
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सक्रमणसंगै लक डाउनको समयमा आफ्नै गाउँ भरुवाको घरमा बसेर बुवा आमालाई घरायसी काममा सघाउने , गाउँमा अधूरा रहेका कामहरू सम्पन्न गर्दै , आफ्नो गाउँघर र बाझै रहेका खेतबारीमा सफाई गरी फलफुल तथाऔषधिका बिरुवा लगाउने योजना देखी योग साधना केन्द्रको गुप्तबास को निर्माण संगै एक सुन्दर फोर्म हाउस को योजना तय गरियो भने बाँकी समय पढने, लेख्ने, खोजमूलक कार्यमा लागियो भने बेला मौकामा गाऊँमा रहेका बुढ़ापाका संग विविध विषयमा भलाकुसारी गर्ने , गाऊँमा लामो समय पछिको लामो बसाईले आफ्नो बालापनलाई राम्रै याद गर्ने मौका पनि मिल्यो ।आज गाऊँ गाऊँ जस्तो नभएर शहर भन्दा रमाइलो र रमणीय भएको महसूस मैले गरेको छू । यो विश्वव्यापी रुपमा फैलिएको महामारीबाट सबैलाई बच्न र बचाऊँन सम्पूर्ण मानव जगत संवेदनशील हुनूपर्ने देखिन्छ ।आफू पनि बाच्दै अरुलाई पनि बचाउदै यसबाट सजग रहनुनै आजको आवश्यकता हो । सबैलाई सजग र सचेत गराउदै कुनै पनि महामारी हुन बाट बचाऊँ र बचौ भन्ने जÞस्ता सचेतनामूलक संदेशात्मक साहित्यिक तथा अन्य लेख रचना पस्कदै सम्बन्धित निकायको उदासीनता र सम्बन्धित निकायको दायित्वको बारेमा उजागर गर्दै आफ्नो दैनिक काम राष्ट्र र मानवताको सेवालाई निरन्तरता दिने सोचाइ बनाएर अगाडि बढिरहेको छु ।
एउटी गृहिणी, एउटी आमा अनि एउटी लेखिकाको जिम्मेवारी निभाउँदै छु ।
.

लक्ष्मी काफ्ले , वालिङ , स्याङ्जा
कोरोना भाइरस (कोभिड १९) को प्रभाव विश्वका सम्पूर्ण मानव जातिमा परेको छ । यो नयाँ प्रकारको भाइरस भएको कारण यसको कुनै प्रकारको खोप तथा औषधि पत्ता लागिसकेको अवस्था छैन । त्यसैले वर्तमान परिप्रेक्ष्यमा यसको सञ्जिवनीको एकमात्र उपायको रूपमा सुरक्षित साथ घरमै बसौँ, आँफुपनि बचौँ र अरूलाई पनि बचाऔँ, साबुन पानीले पटक(पटक हात धौऔँ, आदी अनेकौँ विधिलाई प्रयोगमा ल्याईएको छ । देशमा लकडाउन चलिरहेको छ । त्यसैको फलस्वरूप अत्यावश्यक बाहेकका यातायात, शिक्षण संस्था, कार्यालय, उद्योग धन्दा सवै ठप्प जस्तै भएको छ । यसकै प्रभाव स्वरूप म पनि घरमै बसेर आफ्नो दिनचर्या गुजारीरहेकी छु ।
घरभित्रै बसेपनि एउटी गृहिणी, एउटी आमा, एउटी लेखिकाको जिम्मेवारी निभाउँदै आफ्नो समय बिताईरहेकी छु । बिहानै उठ्यो, नित्य कर्म पुजा पाठ, भान्छाको काम, सरसफाई, लेखरचना पढ्ने, लेख्ने, रेडियो, टि.भि.मा समाचार सुन्ने, हेर्ने, मोबाईल लगायतमा सामाजिक संजाल पेजहरू खोलि समाचार तथा सूचनाहरू हेर्ने, यसको अलवा स(साना दुई नानी बाबुसँग समय विताउने अवसर मिलेको छ । यो भन्दा ठूलो एउटी आमालाई अरू हुनै सक्दैन । यसैले कसरी दिन काटूँ भन्ने खालको आभास भएको छैन । लेखक तथा साहित्यकार समाजको दर्पण भएकाले हामीले समाजलाई कलमबाटै भएपनि औषधिको काम गर्नुपर्छ भन्दै आफ्नो क्षमताले भ्याएसम्म रचनात्मक कार्यमा जुटिरहेकी छु । कोरोना संक्रमणको अन्त्यपछि पहिलेको जस्तो सहज परिस्थितिसँग कार्य गर्न पनि केही समय लाग्ने छ । त्यसैले सम्पूर्णमा धैर्यसँग नआतिईकिन आफ्नो कामलाई सहज बनाउँदै लैजानुहुन र परिवारसँग समय विताउनुहुन हार्दिक अनुरोध गर्दछु । यसका साथै नववर्ष २०७७ को सम्पूर्णमा शुभकामना व्यक्त गर्दै यसै सालको सुरूवातबाटै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको अन्त्य होओस र सम्पूर्ण मानव जातिको रक्षा होओस, भगवान पशुपतिनाथसँग मेरो सदैव प्रार्थना छ । अन्त्यमा , स्याङ्जाली युवा साहित्यकार मिलन समीर दाजुले मलाई पनि सम्झिनु भएर यो महत्त्वपूर्ण अवसर दिनुभएकोमा उहाँप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु । जय साहित्य ।
(बिशेष प्रस्तुतीका लागि महत्वपूर्ण सहजिकरण गर्नुहुने युवा साहित्यकार मिलन समिर प्रति हार्दिक आभार -सम्पादक )
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…