‘मेरो जिन्दगीको शव्दकोष’

कमला अधिकारी सिग्देल :

तिमी मेरो जिन्दगीको शब्दकोष हौ । तिमी बाट धेरै कुरा सिकेको छु। कहिले तिमीमा नै हराएकी छु।आफ्ना रहरहरु तिम्रा खुसी सँग साटेकी छु। तिमीले बोल्ने (आमा) शब्दमा अपार आनन्द लिँदै तिमी निदाएकाे बेला तिम्रो परेली बनेर तिम्रा सपनाहरू लाई सुरक्षित गरेकी छु।अनेकौं गल्तीहरु गरेपश्चात मुस्कुराउँदै मलाई फकाउँछौ यसबाट मैले मुस्कानको तागतलाई बुझेको छु।

अबोध आनिबानी धेरै, गर्छौ आनाकानी ,सताउँछौ, रुवाउँछौ तर पलभरमै मुस्कुराउँने नयाँ गोरेटो सिर्जना गरिदिन्छौ,यस्तै यस्तै तिम्रा गल्तिहरुले मलाई मिठो आनन्द दिएको छ। तिम्रो खुसी बलियो बनाउन कति आफन्तलाई पराई बनाएको छु त कति पराईलाई आफ्नो बनाएको छु । रहर नहुदो हो तर तिमीलाई बचाउन एकान्तमा कति परेली चिसो बनाएको छु, अनि मुस्कुराउन मजबुर बनेकी छु।रहर छैन मलाई अत्तर लगाई वास्नामय बनी अरुलाई आनन्द दिन ,बस तिम्रो बालगन्ध नै मेरो जिन्दगीमा सुगन्ध बनेर फुलेको छ यसैमा गर्व लाग्छ ।

.

कमला अधिकारी सिग्देल

सभ्य र सभ्यताको पाठ पढाउने म, नैतिकता र गुणकारी आनि बानिको चर्चा गर्ने म तर कैयौंपटक तिमीलाई हँसाउन अनायासै हाँसेको छु, कहिले नाँचेको छु ,कहिले उफ्रेको छु कहिले थाल ठटाएको छु, कहिले ताली लगाएको छु, तिमी सँग भाँडा कुटिखेल्दा खेल्दै आँफै हराउँछु ,बस यहि आदत बसेर होला दर्शकको अगाडि बच्चा बच्चि बनेको छु।तिमीलाई भोकै राखेर म आँफु चौरासी ब्यन्जन को अगाडि भए पनि भोको महसुस गरेको छु,जब तिम्रो पेट भरिन्छ म यसैपनि अगाएको छु।

शिशिर को कठयाङरीदो चिसोमा तिमीलाई न्यानो पार्दा पार्दै आफ्नो जाडाेलाई भगाएको छु।रातमा कतै कमिलाले टाेक्छ कि,आफ्नै जिउले डस्छ कि भनी जागाराम बस्ने शक्ति पनि तिम्रै मायाले दिएको छ मलाई ।
तिमी चिटिक्क परेर सुन्दर वस्त्रमा सजिँदा आँफै मख्ख पर्छु, मलाई के थाहा ? म कति कुरुप भएको छु? तिम्रै आमा भन्न नसुहाउने छु। अझै पनि लाग्छ मलाई तिमीलाई दिनुपर्ने माया दिन सकेको छैन भनी । मैले त मेरि आमाले मलाई हुर्काउन ,पढाउदा अनि बढाउँदा को मर्मलाई बुझेकी छु, जहिले म आमा भएँ। तर तिमीले मलाई , मेरो मायालाई कहिल्यै बुझ्ने छैनौ किनकी तिमी पुरुष हौ ,तिमी आमा बन्न सक्दैनौ !!

तिमी मेरो सङ्कल्प हौ ,आशा छ जिन्दगीमा मेरो सङ्कल्पको न्यानो पछ्याैरी बनी शिशिर को तुषारोमा मलाई बेरेर न्यानो माया दिने छौ ।

कुनै गुनासो छैन तिमिसँग, मेरो रहर ले धर्तिमा आएको मान्छे तिमी यो धर्तिमातालाई सुहाउने युगपुरुष भएर चम्किलो तारा बन्नेछौ !! बर्षा लाग्छ, रितुले आफ्नो नयन का आँसु लाई थेग्न नसकी धर्ती मा पठाउछिन त्यतिबेला कतै तिमीलाई ती आँसुले चिसो बनाउला भनी आँफै धर्ती अनि अाँफै आकाश बनेर ओत लगाउँछु । यतिबेला संसारको सबैभन्दा ठुलो सन्तुष्टि प्राप्त गर्ने छु। तिमी मेरो शब्दकोष बनेर रहने छौ जहाँ म आफ्ना रहर हरुलाई खोजिरहनेछु!!! (हरेक आमाको मनको कुरा आफ्ना सन्तान प्रती)

Facebook Comments Box
TOP