बाख्राको लागि आवश्यक डाले तथा भुईं घाँस वारे जानकारी ।

शुसिल अर्याल :


आवश्यक पुर्व तयारीहरु :

कोषे र अकोषे जातका घाँसहरु लगाउने ।

हिउंदको समयमा घाँस उत्पादन हुने जातहरुलाई प्राथमिकता दिने ।

खेत बारीका आली कान्लामा घांस खेती गर्ने ।

समुहमा उपयुक्त जातका डाले घांसको नर्सरी स्थापना गर्ने ।

सामुदायिक वन तथा सार्वजनिक जग्गामा समेत घांस खेतीको योजना बनाउने ।

इपिल इपिल :


इपिल इपिल कस्तो डाले घाँस हो ?
 मझौला किसिमको बोट हुने कोसे जातको बहुउपयोगि डालेघाँस हो ।
 यसको पातमा २८ देखि ३४ प्रतिशतसम्म क्रुड प्रोटिन पाईने ।
 पशुलाई धेरै खुवाउन भने हुँदैन। एक भाग इपिल इपिलको घाँससँग तीन चार भाग अरु घाँस वा पराल मिसाएर खुवाउनु पर्छ ।
 पशुहरुमा इपिल इपिलको मात्रा बढी भएमा शरिरको कपाल झर्ने, भोक नलाग्ने आदि कुप्रभावहरु देखिन्छन् ।
 हांगाहरु दउराको रुपमा प्रयोग गर्न सकिन्छ भने पात र हांगाका मसिना टुप्पाहरु खेतबारीमा मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
इपिल इपिल कस्तो कस्तो ठाउंमा लगाउन सकिन्छ ?
 इपिल इपिल तराई देखि मध्य पहाडि भेगको १५०० मिटर उचाइसम्म पहारिलो (घाम लाग्ने) जग्गामा राम्रोसँग सप्रिन्छ ।
 इपिल इपिल बारीको डिलमा करिव ४,५ हातको फरकमा लगाउन सकिन्छ ।
 घुंडासम्म मात्र राखेर काट्रने व्यवस्था गर्ने हो भने प्रत्येक एउटा नेपियर घाँसको बिचमा ३ ४ बोट हुने गरि १ बित्ताको फरकमा लगाउन सकिन्छ ।
 खरबारी र भीरपखेरामा पनि राम्रोसँग हुर्कन्छ ।
इपिल इपिल बाट घाँस कहिले लिन सकिन्छ ?
 बिरुवा सारेको एक बर्ष भित्रै अथवा १–१.५ मिटर अग्लो भए पछि पहिलो पटक डाला काट्न सकिन्छ ।
 बढी घाँस लिन र बारीको बालिलाई सेप हुन वाट जोगाउन एक मान्छे भन्दा बढी बढ्न नदिई घुंडासम्म मात्र हुने गरि १–२ महिनाको फरकमा डाला काटिरहनु पर्दछ ।
इपिल–इपिलको विउ कहिले टिप्ने र कसरि थन्काउने ?
 इपिल–इपिलको विउ कात्तिक देखि माघ महिनासम्म पाक्छ ।
 पाकेका कोसाहरु वोट वाट टिपेर राम्ररी घाममा सुकाउनु पर्दछ ।
 सुकिसकेका कासालाई एकै ठाउंमा थुपारि लठ्ठीले चुटेर बिउ झार्नु पर्दछ । त्यसपछि नाङ्लोले बत्ताएर वा केलाएर सफा गर्नुु पर्दछ र ओभानो प्लाष्टिक वा जुटको वोरा वा प्लाष्टिकको वट्टा वा टिनमा टन्न भरेर टम्म बन्द गरि ओभानो तर सित्तल ठाउंमा थन्काउनु पर्दछ ।
इपिल इपिलको बेर्ना कसरी उमार्नेे ?
 बेर्ना उमार्नको लागि इपिल इपिलको बीउ फागुन वा चैत महिनामा नर्सरीमा रोप्ने ।
 बीउ रोप्नु भन्दा पहिला एक भाग बिउको लागि १५ भाग पानीको हिसावले उमालेर निकालेको तातो पानीमा २ ३ मिनेटसम्म भिजाउनु पर्दछ ।
 त्यस पछि विउलाई निकालेर चिसो पानीमा २४ घण्टासम्म भिजाउनु पर्दछ ।
 यसरि भिजाएको विउ दुइ दुइ वटा गेडाको दरले प्लाष्टिक थैलिमा रोप्नु पर्दछ ।
 बिरुवा अलि ठुलो भएपछि एउटा थैलिमा एउटा मात्र विरुवा रहने गरि बढी विरुवा छांट्ने ।
 असार साउनमा सार्नलायक बेर्ना तयार हुन्छन् ।
 इपिल इपिलको विउ बर्षातमा सिधै बारिको डिलमा कुलेसो खनेर एक एक बित्ताको फरकमा पनि रोप्न सकिन्छ ।

लेखक अर्याल

किम्बु :

किम्बु कस्तो डाले घाँस हो ?
 किम्बु छिटो बढ्ने बहुउदेश्यीय, बहुवर्षिय पतझर हुने खालको सानो बोट हुने डाले घाँस हो चांडै पलाउने डाले घाँसको रुपमा चिनिन्छ ।
 यसमा २० प्रतिशत भन्दा बढी क्रुड प्रोटिन पाइन्छ ।
 भेडा बाख्राको लागि किम्बु पूर्ण आहाराको रुपमा लिइन्छ ।
 किम्बुको हाँगा असोज देखि पुससम्म पटक पटक काटेर खुवाउन सकिन्छ ।
किम्बु कस्तो ठाउंमा लगाउन सकिन्छ ?
 किम्बु तराई देखि उच्च पहाडि भेगको २००० मिटर उचाईसम्मको क्षेत्रमा लगाउन सकिन्छ ।
 समतल, गहिरो, मलिला राम्ररी पानीको निकास भएको चिम्टाइलो माटो र राम्ररी चिस्यान राख्न सक्ने क्षमता भएको माटोमा लगाउन उपयुक्त हुन्छ ।
 चिस्यान भएको ठाउंमा बढी सप्रने छिटो किम्बु खोल्सा खोल्सी वा नदी नालाको छेउ छाउमा पनि लगाउन सकिन्छ । तर सुख्खा पाखा पखेरामा पनि हुर्कन सक्दछ । बारीको डिलमा पनि राम्रो हुर्कन्छ ।
बिरुवा सार्दा ध्यान दिनु पर्ने कुराहरु :
 बारीको डिल वा कान्लामा लगाउंदा एक बिरुवा देखि अर्को बिरुवाको दुरि करिव १ मिटर राख्ने ।
 विरुवा रोप्दा लामो जरा भएमा प्रुनिङ (कांटछांट) गर्नु पर्दछ । उखेलेको विरुवा नसुकोस भनेर छहारीमा राख्नु पर्दछ ।
 रोपेको विरुवालाई हल्कासँग उचालि छाडेमा जरा दोब्रिन पाउंदैन । विरुवा सिधा अवस्थामा रोपि हल्का दबाव दिनु पर्दछ ।
 विरुवा रोपे पछि सतहवाट १० २० से.मि. उचाई कायम गरि बांकि प्रुनिङ (कांटछांट) गर्नु पर्दछ ।
किम्बु कसरी फैलाउने ?
 किम्बु डाँठ वाट फैलाउन सकिन्छ ।
 पुस माघ महिनातिर किम्बुको पात झर्छ वा झर्न सुरु गर्दछ । त्यसैले पुसको अन्तिम वा माघमा एक वर्ष पुरानो हांगावाट करिव एक अंगुल मोटो र डेढ बित्ता लामो डाँठ तयार पार्नु पर्दछ ।
 हांगा नया हुनु हुँदैन र बढी छिप्पिएको पनि काम लाग्दैन ।
 तयार भएको डाँठलाई प्लाष्टिकको थैलिमा एक एक गरेर डाँठको दुई भाग माटो मुनि र एक भाग माटो माथि पर्ने गरि रोप्नु पर्दछ । त्यसपछि छाया र नियमित रुपमा पानी दिनु पर्दछ । यसरि रोपिएका डाँठ बाट असार साउनमा सार्नलायक बिरुवा तयार हुन्छन् ।


भटमासे

 भटमासे बहुवर्षिय, गहिरोसम्म जरा जाने, पातै पात भएको, मध्यम उचाई भएको, ३ मिटरसम्म अग्लो हुने एउटा वहुउदेश्य कोशे घाँसेवाली हो ।
 यसलाई हेजको रुपमा भू(संरक्षणका निम्ति, डिल कान्लामा हेजरोमा पनि लगाउन सकिन्छ ।
 यो घाँसलाई गाईबस्तुको आहाराको लागि खास गरि भेडा तथा बाख्राको लागि उपयुक्त आहाराको रुपमा प्रयोग गर्न सकिन्छ ।
विशेषताः
सुख्खा सहन सक्ने क्षमताः यो घाँसले साधारणतया सुख्खा मौसम काफि मात्रामा सहन सक्दछ र सुख्खा यामको ३ ४ महिनासम्म हरियो रहि रहन्छ ।
पानी सहन सक्ने क्षमताः यो घाँस पानी जम्ने तथा कम पानी निकास भएको जग्गामा पनि बांच्न सक्दछ ।
हावापानी तथा माटो : यो घाँस समशितोष्ण देखि उष्ण प्रदेशिय हावापानीमा लगाउन सकिन्छ । यो घाँस चिम्ट्याईलो देखि बलौटे माटोमा, अम्लिय माटोमा, कम उर्वर माटोमा पनि फस्टाउन सक्छ ।
जग्गाको तयारी तथा रोपाई :
 जग्गाको राम्ररी तयारी गरे पछि मात्र यो घाँस लगाउन सकिन्छ ।
 नर्सरीमा विउ रोप्दा नर्सरी झारपात वाट मुक्त भएको हुनु पर्दछ ।
 नर्सरीमा हुर्काईएका २ महिनाका विरुवालाई आवश्यक ठाउंमा सार्न सकिन्छ । विरुवाको संख्या तथा दुरी त्यसको प्रयोगमा निर्भर गर्दछ । हेज रोमा लगाउनको लागि एक विरुवा देखि अर्को विरुवाको दरी अलि नजिक हुनु पर्दछ । एक लाईन देखि अर्को लाईनको दुरी ०.५ देखि १.५ मिटर, एक विरुवा देखि अर्को विरुवाको दुरी ०.५ देखि १.० मिटर हुनु पर्दछ । शुरुमा ढिलो बढ्ने भएकाले लगाएको ६ महिनासम्म झारपात नियन्त्रण राम्ररी गर्नु पर्दछ ।
कटाई व्यवस्थापन :
 यो घाँस छिटो बढ्ने तथा कटाई लिए पछि पुनः छिटो झांगिएर आउने भएकाले ३५ देखि १०० से.मि. उचाई पुगेपछि कटाई लिन सकिन्छ । मौसम अनुसार घाँसको कटाईको अन्तर फरक पर्दछ । हरेक २ देखि ३ महिनाको अन्तरमा घाँस कटाई गर्दा उत्पादन बढी हुन्छ ।

सुपर नेपियर


हावापानी र माटो :

  • यस घाँसको खेती उष्ण तथा समशितोष्ण हावापानीमा गर्न सकिन्छ ।
  • समुन्द्र सतह देखि ४५०० फिटको उच्चाईसम्म यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ ।
  • यस घाँसको खेती चिम्टे र सिम जग्गा वाहेक सवै किसिमको माटोमा गर्न सकिन्छ तर पानी नजम्ने पांगो माटो यसको लागि अति उपयुक्त हुन्छ ।


जमीनको तयारी :

  • वाली काट्नासाथ वा खाली जग्गा रहेको छ भने २–३ पटक खनजोत गरी डल्ला फुटाई माटोलाई वुर्वुराउंदो वनाई पाटा लगाईसम्म वनाउनु पर्दछ ।
  • यो घाँस रुटस्लिप वा कटिङ्गबाट लगाउन सकिन्छ ।


मलको मात्रा :

  • यो घाँस एक पटक लगाए पछि ३–४ वर्षसम्म लगातार हरियो घाँस उपलव्ध हुने भएकोले पहिलो पटक यो घाँस लगाउंदा प्रति २०–२५ मे.टन. गोवरको मल माटोमा हाली राम्रोसँग मिलाउनु पर्दछ ।
  • नेपियरको कटिङ्ग लगाउनुभन्दा अगाडि प्रति हुक्टर ५० के.जी. नाइट्रोजन, ५० के.जी. फास्फोरस तथा ४० के.जी. पोटास जमिनको अन्तिम तयारीमा हाल्नु पर्दछ ।
  • प्रत्येक कटिङ्ग उप्रान्त प्रति ह्क्टर ३० के.जी. नाइट्रोजन हालेको खण्डमा बढी उत्पादन लिन सकिन्छ । जुन ठाउँमा गोवर वा कम्पोष्ट मल छैन त्यस्तो ठाउँमा जग्गा तयार गर्दा १०० के.जी नाइट्रोजन, ५० के.जी. फास्फोरस तथा ४० के.जी. पोटास जमीन तयार गर्दा नै माटोमा हाल्नु पर्दछ ।


लगाउने समय :
 उपयुक्त समय जेष्ठ आषाढ हो तर कार्तिक र फाल्गुण महिनामा पनि लगाउन सकिन्छ तर यस समयमा लगाएको घाँसमा सिचाईको आवश्यकता हुन्छ ।
विउको मात्रा र लगाउने तरिका
 यो घाँस कटिङ्गबाट लगाउँदा ३ वटा आख्ला भएको कटिङ्ग ४५ डिग्रीको कोण वनाई एक कटिङ्ग देखि अर्को कटिङ्गको दूरी १५ से.मी. को फरकमा लगाउनु पर्दछ ।
 कटिङ्ग लगाउँदा दुई तिहाई मात्र जमीन मुनि र एउटा आंख्ला जमीन भन्दा माथी पर्ने गरी लगाउनु पर्द्छ ।
 एक लाइन देखि अर्को लाइनको फरक ९० देखि १०० से.मी. राख्नु पर्दछ । भिर, पहिरो तथा कान्लोमा लगाउंदा ६० से.मी. राख्नु पर्दछ । भिर, पहिरो तथा कान्लोमा लगाउँदा ६० से.मी. लाइनबाट लाईनको दुरी र ५० से.मी विरुवाबाट विरुवाको दूरीमा लगाउनु पर्दछ ।
 प्रति हेक्टर १०,००० देखि २५,००० कटिङ्ग वा रुटस्लिपको आवश्यकता पर्दछ ।
मिश्रित खेती
 नेपियर घाँसको पौष्टिकतामा वृद्धि ल्याउन कुट््जु, बोडी, लोविया, सिरेट्रो र सेनट्री दुई लाईनको विचमा लगाउन सकिन्छ ।
 यो घाँस लगाएको तीन महिना पछि काट्न उपयुक्त हुन्छ ।
 वर्षा याममा ६(८ हप्ताको फरकमा कटिङ्ग लिन सकिन्छ ।
 हिउंदमा १०(१२ हप्ताको फरकमा कटिङ्ग लिनलाई उपयुक्त हुन्छ ।
 कटिङ्ग लिँदा जमीनको सतह देखि ६ इन्च देखि १२ इन्चको उच्चाईमा लिनु पर्दछ ।
 औसत उत्पादन ५००(६०० क्वीन्टल प्रति हेक्क्टर हुन्छ भने राम्रोसँग मल जल गरी खेती गरेमा १२००–१५०० क्वीन्टलसम्म लिन सकिन्छ ।

लेखक अर्याल गल्याङ नगरपालिकाको पशु शाखाको प्रमुख अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

Facebook Comments Box
TOP