कुशे औसी एवं बुबाको मुख हेर्ने दिन

ज्यो.चक्रपाणी डुम्रे ( शास्त्री) :
               भाद्र कृष्णपक्षको अमावश्यालाई कुशे औंसी भनिन्छ । कुश एक प्रकारको तृण वा घास हो । हिन्दु धर्मका दैविक वा पैतृक हरेक कार्य कुश बिना सम्पन्न हुन सक्दैन । कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ । 
कुशलाई धार्मिक एवम् पितृकार्यका निम्ति अतिआवश्यक र पवित्र वस्तु मानिएको छ। यस  दिन ब्राह्माणले शास्त्रोक्त विधानअनुसार पूजा गरी शुद्धभूमिमा उमि्रएको कुशच्छेदन गरेर घरमा ल्याउँछन्। घरमा कुश राख्नाले वर्षभरि अशान्ति हुँदैन र सर्वत्र कल्याणमय वातावरण कायम रहन्छ भन्ने विश्वास गरिन्छ ।

            पौराणिक मान्यता अनुसार  जलान्धरकि पत्नी वृन्दाको सतीत्वलाई विष्णुले छल गरेर हरण गरेपछि वृन्दाले  विष्णुलाई श्राप दिदै रुख , पत्थर , घास र झारपात हुनपरोस् भनेकी थिइन् । त्येसैले शालिग्राम, पीपल , तुलसी ,कुशलाई विष्णुकै प्रतीक मानिन्छ । कुशको महत्व ठुलो छ।यसै दिन कुस लाई विधिपूर्वक जरैबाट उखेलेर घरघरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व ,व्रत , पूजा ,संस्कार गर्दा प्रयोग गरिन्छ । आधुनिक बिज्ञान अनुसार पनि कुशको महत्व धेरै भएको कुरा सिद्ध छ। दैनिक आधा घन्टा कुशको आसनमा बस्दा रक्तचाप को समस्या नहुने अनि कुशको जराले  छाला सम्बन्धि चर्म रोग निको हुन्छ । कुशमा कुनै प्रकारको किरा नलाग्ने हुदा पनि कुश पबित्र मानिन्छ ।
“स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणी। 
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।।”
स्नान, दान,जप, होम, पाठपूजा पितृकार्य तथा सन्ध्या गर्दामा कुश  अनिवार्य हुन्छ।
” ॐ विरिन्चिना सहोत्पन्न परमेष्ठिनिसर्गत:।
नुद सर्वाणि पापानी दर्भ स्वस्तिकरो भव ।
ॐ हुं फट् स्वाहा।। यो मन्त्रले कुस ग्रहण गरिन्छ। “कुशा: काशा: शरा दुर्वा यवगोधूमबल्वजा:।।
सुवर्णां  रजतं  ताम्रं  दशदर्भा: प्रक्रीर्तिता:।।”
अर्थात् कुश, काश, शिरु, दुबो,जौ, गहू, बाबियो, सुन,चादी र तामा यी दश वस्तुलाई दर्भ भनिन्छ । कुश को अभाव मा यी वस्तुलाई प्रयोग गरिन्छ ।

          कुशेऔंसी लाई पितृऔंसी पनि भन्ने गरिन्छ । कुशे औँसीलाई पितृकार्यका निम्ति अत्यन्त उत्तम तिथि मानिन्छ। यस दिन आफ्ना छोराछोरी आफ्ना बाबुको मुख हेर्न विभिन्न फलफूल, मिठाइ, कपडा लिएर आउँछन्। विवाह भएर गएका छोरी पनि आफ्ना बाबुको मुख हेर्न आफ्नो माइतघर आउँछन्। छोराछोरी दुवैले आफ्ना पिताप्रति श्रद्धाभाव प्रकट गर्छन्। पारिवारिक आत्मीयता र स्नेह सम्बन्धलाई प्रगाढ बनाई आफ्नो जन्मदाताको सम्मान गर्न सिकाउने यस पर्वले हाम्रो सांस्कृतिक गौरवमय धार्मिक एवम् पैतृक परम्परालाई सुदृढ बनाउन ठूलो योगदान पुर्याएको हुन्छ ।

      यसै दिन काठमाडौँको  वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा
धूमधामसँग मेला लाग्छ । जहाँ टाढाटाढाबाट थुप्रै भक्तजन आफ्ना मृत पिताको आत्माको तृप्ति र शान्तिका निम्ति श्राद्ध एवम् तर्पण गर्न आउँछन् । स्त्री पुरुष सबैले वाग्मतीमा स्नान गरी मृत पितृहरुलाई श्रद्धाञ्जलि अर्पण गर्छन्। यश दिन  गरेको दानतर्पण, श्रद्धा र सदाव्रतको फलस्वरूप मृत पिताको आत्माले शान्ति प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ।
    यो दिन पितालाई  मान्ने गरिछ ।आफ्नो बुवालाई मिठामिठा परिकार खुवाउने  , बुवा दिवंङ्गत हुनेहरुले पिण्डदान, सिदादान तर्पण आदि गरेर बुवालाई सम्झने गर्दछन् । तसर्थ कुशेऔंसी पनि हाम्रो महत्त्वपुर्ण चाड अन्तर्गत पर्दछ । अस्तु।

लेखक नेपाल ज्योतिष परिषद् रुपन्देहीको अध्यक्ष पनि हुन् ।

Facebook Comments Box
TOP