आगामी ३ बर्ष भित्र अर्जुनचौपारीलाई एक नमुना गाउँपालिका बनाईनेछ ।


दीर्घनारायण अर्याल
प्रमुख, अर्जुनचौपारी गाउँपालीका, स्याङजा

नेपाली काँग्रेस पार्टीबाट निर्वाचित अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दिर्घनारायण अर्याल लामो समयदेखी राजनीतिमा सक्रिय छन् । कुल ३२ सदस्यीय गाउँपालिकाको बोर्डमा नेपाली काँग्रेसबाट निर्वाचित सदस्य संख्या भने १४ जना मात्र छ । साविकको अर्जुनचौपारी , रापाकोट , आरुचौर , दरौ गाविस र पञ्चमुल गाविसका २ वटा वडा गाभिएर यो अर्जुनचौपारी गाउँपालिका बनेको हो । २० बर्ष सम्म स्थानिय निकाय दिशाविहीन बनेको अवस्थामा नयाँ स्थानिय तहको गठन संगै निर्वाचित जनप्रतिनिधी आएपछी बिकास निर्माणले गति लिन थालेको छ । अझै पनि सिहँदरबारको अधिकार आफ्नै घर आगनमा आएकोमा जनता विश्वस्त हुन सकेका छैनन् । तापनी स्थानीय तहहरुमा हालको अवस्था केही सन्तोषजनक भने अवश्य छ । पर्यटकीय संभावना बोकेको यस गाउँपालिकामा एकीकृत बस्ती निर्माण र संस्कृती संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ । प्रकृतीको अनुपम उपहारको रुपमा लिन सकिने सबै ग्रामिण बस्ति भएको यस गाउँपालिकाको संभावना र हालसम्मका उपलब्धि एवं आफ्नो कार्यकालमा भए गरेका काम सम्बन्धि विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष दिर्घनारायण अर्याल संग साथी श्रीकृष्ण सिग्देल ले गरेको कुराकानीको सम्पादित अंश .

१. अध्यक्ष ज्यू आराम हुनुहुन्छ ? सिंगो गाँउपालिकाको प्रमुखको जिम्मेवारीमा आउदा कस्तो फरक महशुस हुदोरहेछ कि ?
ठूलो जिम्मेवारीमा रहदा छुट्टै फरक खालको जिम्मेबारीपनको महशुस हुनु स्वाभविक हो । मैले २०५४ को स्थानीय निर्वाचनमा साविक अर्जुनचौपारी गा.वि.स.को नेतृत्व बहन गरी सकेको हुँदा त्यस्तो ज्यादै फरक रहेको महशुश भएको छैन तर तत्कालिन अवस्थाको सानो क्षेत्र र सानो बजेटको आकार थियो भने अहिले क्षेत्र, बजेट, अधिकार वढी भएकोले जिम्मेवारीमा फरक त रहन्छ नै ।

२. प्रमुखको जिम्मेवारी व्यस्तता र तनाव बढाउने खालको हुन्छ कि इन्जोय गर्ने किसिमको हुन्छ ?
व्यस्तता निकै हुन्छ विहानै देखि राती सम्म व्यस्त रहनु पर्दछ । कहिले काही मात्र हो १–२ घण्टा फूसर्द हुने, हामीलाई बिदा पनि हुदैन । विदाको दिन भन्न पनि मिल्दैन । घर तर्फ बेलुका बास मात्र हो । घरका परिवारको फोन उठाउन पनि कहिलेकाही समय मिल्दैन ईन्जोयको त कुरै नगरौं ।

३. अर्जुनचौपारी गाँउपालिका छाडेर बसाई सरेर जाने मानिसहरुको चाप कत्तिको महशुस गरिरहनु भएको छ ?
गाउँपालिका निर्माण भए पछि बसाई सराई भएको छैन । बसाई सराईका दुई कारण जस्तो लाग्छ मलाई । एउटा त सुविधा सम्पन्नता लागि अर्को जिवन निर्वाहका लागि अथवा भनौं जिवन यापनका लागि । जीवन स्तरवृद्धिका लागि गाउँपालिका भित्र अवसर प्राप्त भएमा बसाईसराई बन्द हुन सक्छ । त्यस्को लागि रोजगार र व्यवसायको अवसरलाई जोड दिइएको छ ।

४. यो बसाई—सराईको चापलाई के ले रोक्न सक्छ ? भविष्यमा यसको सकरात्मक—नकरात्मक प्रभाव के पर्ला ?

बसाई—सराईको चापलाई रोक्ने वा व्यवस्थापन गर्ने बारेमा गाँउपालिकाले के सोचेको छ ?
नागरिकको आधारभूत आवश्यकता प्राप्त भएमा रोकथाम हुन्छ । रोजगारीको अवसर, आयआर्जनका अवसर, शिप आर्जनका अवसर, ग्रामीण स्तरमा रहेर पनि यातायात, गुणस्तरीय शिक्षा, स्वास्थ्य, संचारको सुविधा प्राप्त भए पछि बसाईसराईको रोकथाम हुनेछ । जस्को लागि गाउँपालिकाले शिपमूलक कार्यक्रम, आयआर्जन हुने कार्यक्रम र रोजगारका कार्यक्रम संचालन गर्ने प्रयत्न गरी रहेको छ भने जीवन वृत्तीका लागि यही पर्याप्त सम्भावनाका अवसरहरु रहेकोले आगामी ३ बर्ष भित्र यस गाउँपालिकाबाट बसाईसराई गर्नुपर्ने अवस्था रहने छैन । यो मेरो प्रतिवद्धता हो ।
५. यस गाँउपालिकामा शहरीकरणको संभावना कत्तिको देख्नुहुन्छ ?
यस गाउँपालिकामा शहरीकरणका सम्भावना छन , त्यस्को लागि गाउँपालिकाले धार्मिक एवं सांस्कृति विकासका लागि कार्यक्रमहरु अगाडि सारेको छ । धार्मिक धरोहरको रुपमा रहेको डहरेदेउराली, एकानन्द गुफाँ, रापाकोटकालिका, पञ्चकन्या मन्दिर, जलबराह जस्ता धार्मिक रुपमा मानिने धरोहर पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छन भने दरौंको थाप्ले पर्यटकीय रुपमा अति उत्तम रहेको छ । बौद्धको मूर्ति स्थापनाका लागि शिलन्यास भईसकेको छ । त्यसै गरी तामुलेकमा पर्यटकीय पदमार्ग निर्माण भईसकेको छ, भने लामडाँडामा होमस्टे संचालनमा आएको छ । एक टीम स्वदेशी र विदेशी आएर यि सवै स्थानको अवलोकन गरी सकेको अवस्था छ । यस कारणले शहरीकरणमा सघाउ पुग्नेछ भन्ने मलाई पूर्ण विश्वास लागेको छ ।

६. यो गाँउपालिकामा सार्वजनिक जग्गा अतिक्रमण भएको छ कि छैन ?
अतिक्रमण भएको छ । सार्वजनिक जग्गा संरक्षणको लागि एक कार्यदल गठन भईसकेको छ । सार्वजनिक जग्गा संरक्षणको कार्य तिव्र रुपमा भईरहेको छ अतिक्रमण भएको जग्गा गाउँपालिकाको सदरमुकाम वरिपरि रहेको १०० भन्दा वढी रोपनी सार्वजनिक जग्गा रोकथाम कार्य भईरहेको छ । आवश्यक जग्गाहरु क्रमिक रुपमा रोकथाम गरिने कार्यक्रम रहेको छ ।

७. स्थानीय तहको हैसियतमा यतिबेला अर्जुनचौपारी गाँउपालिकाले भोगिरहेका समस्या के—कस्ता छन् ? केन्द्र र प्रदेश सरकारबाट स्थानीय तहलाई कस्तो सहयोग प्राप्त होस भन्ने चाहानुहुन्छ ?
अर्जुनचौपारी गाउँपालिका भित्र समस्याहरु धेरै छन , यातायातको पहुँच सवै ठाउँमा पुगेको छैन, गाउँपालिका भित्र पिच सडक छैन । गाउँपालिकाको आफ्नै भवन छैन, निर्माणको लागि जग्गा व्यवस्था गरिदैछ , २ वटा वडा कार्यालयको आफ्नै भवन छैन, जग्गा व्यवस्थापन मात्र भएको छ । आगामी २ बर्ष भित्र हेलु–अर्जुनचौपारी सडक कालोपत्रे, गाउँपालिकाको प्रशासकीय भवन निर्माण, वडा कार्यालय भवन, वडा कार्यालय पुग्ने सडकको स्तरोन्नती गर्ने लक्ष्य राखिएको छ । जस्का लागि आवश्यक बजेट गाउँपालिकाको श्रोतले मात्र नपुग्ने हुँदा प्रदेश सरकार र संघ सरकार सँग माग भईरहेको छ ।

८.गाँउपालिका भएसगै जनताको माग र महत्वकांक्षा पनि बढ्यो होला नी ?
अवस्यनै ! पुनः संरचना सँगै जनताका इच्छा, आकांक्षा वढनुका साथै महत्वकांक्षा समेत वढेको छ । चाहना राख्नु पनि अस्वाभिक छैन । जनआकांक्षा वढ्यो भने पनि नयाँ नयाँ कार्यक्रमको थालनी हुने हुँदा यस गाउँपालिका आन्दोलनबाट प्राप्त भएकोले जनआकांक्षामा वृद्धि र महत्वकांक्षा वढ्नुलाई मैले स्वभाविक रुपमा लिएको छु । गाउँपालिका निर्माणमा सवै पक्षको सहयोग रहेको थियो । ९. चालु आर्थिक बर्षमा अर्जुनचौपारीले कति बजेट पायो ? अब जेष्ठ १५ गते केन्द्र सरकारले नयाँ बजेट ल्याउदैछ । आगामी बर्षका लागि अर्जुनचौपारीलाई कति अनुदान चाहिन्छ ? नयाँ आर्थिक बर्षका लागि अर्जुनचौपारीको माग के छ ?
चालु आ.व.मा २२ करोडको सेरोफेरोको बजेट थियो भने आगामी आ.व. मा हाम्रो कार्यक्रम लक्ष्य अनुसार ५० करोड भन्दा माथि खर्च हुने अनुमान गरिएको छ । आवश्यक बजेट संघ र प्रदेश सरकार सँग माग गरी गाउँपालिका प्रशासकिय भवन निर्माण गर्न र हेलु–अर्जुनचौपारी सडक पीच गर्ने योजना रहेको छ ।

१०. अन्त्यमा पव्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
मेरा प्रतिवद्धता र गाउँपालिकाका आगामी कार्यक्रमबारे प्रकासन गरिदिन चाहना राख्नु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । आगामी ३ बर्ष भित्र अर्जुनचौपारी गाउँपालिकालाई एक नमुना गाउँपालिकाको रुपमा चिनारी गर्नका लागि सम्वन्धित सवैमा सहयोगको अपेक्षा राखेको छु । आशा एवं विश्वास छ , राजनैतिक दल, जनप्रतिनिधी, कर्मचारी एवं सम्वन्धित सरोकारवालाको सक्रिय सहयोग रहने छ ।

  • साभार-पब्लिक आवाज राष्ट्रिय साप्ताहिक
Facebook Comments Box
TOP