वालिङ नगरपालिकाले अनलाईन भुक्तानी शुरु गर्दै ।

Nepal Clearing House 2

छलिलाल गैह्रे(रमणी)/स्याङजा :
वालिङ नगरपालिकाले अनलाईन भुक्तानी शुरु गर्ने भएको छ । सेवाग्राहीले नगरपालिकालाई भुक्तानी गर्नुपर्ने वा नगरपालिका कार्यालयले सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम अब चेकबाट नभई अनलाईनबाट भुक्तानी गर्ने तयारी शुरु गरेको हो ।
अनलाईन भुक्तानीको लागि नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच सम्झौता समेत भएको छ । वालिङ नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँण र नेपाल क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच सम्झौता भएको हो ।
“स्मार्ट सिटीकोरुपमा विकास गर्न लागिएको वालिङ नगरपालिकालाई हामीले पेपरलेस र क्यास लेस नगरकोरुपमा अगाडि बढाउन खोज्दै छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरपालिकाले पहिलो चरणमा नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेका छौं भने आगामी दिनमा अन्य संस्थाहरुसँग पनि सहकार्य गर्दै लगिने छ ।”
वालिङको नगरबासी काम विशेषले वालिङभन्दा बाहिर अन्य कुनै पनि ठाउँबाट नगरपालिकाले निर्माण गरेको एप्सको माध्यमबाट सेवा लिन सक्ने र सो को भुक्तानी पनि मोबाईलबाट घरमै बसेर गर्न सकिने नगर प्रमुख खाँणले बताउनुभयो ।
“अनलाईन सेवाका लागि नगरपालिकाको टिम तयारी सकेर बसेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “डिजिटल सिग्नेचरको पर्खाईमा छौं अनुमति प्राप्त हुनासाथ कार्यान्वयनको चरणमा अगाडि बढ्छौं ।”
वालिङ नगरपालिकाले बृद्धभत्ता, कर्मचारी तथा तलबहरु, निवृत्तिभरण तथा सेवाग्राहीलाई नगद एवम् चेकमार्फत गरिने भुक्तानीहरु अब सेवाग्राहीको बैंक खातामा सिधै जम्मा गरिदिने वा नगरपालिकालाई सेवाग्राहीले भुक्तानी गर्नुपर्ने रकम अनलाईनबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने नेपाल क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले बताउनुभयो ।
केन्द्रीय तहमा कार्य गर्दै आएको नेपाल क्लियरिङ हाउसले अनलाईन भुक्तानी तथा यस सम्बन्धी अन्य गतिविधिहरु पहिलो पटक स्थानीय तहको हकमा स्मार्ट सिटीकोरुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकासँग गरेको कार्यकारी अधिकृत प्रधानले बताउनुभयो ।
नगरपालिकाले अगाडि सारेको पेपरलेस अभियान र अनलाईन भुक्तानी सेवाका बारेमा नगरबासीलाई अभिमुखीकरण तालिम प्रदान गरिने वालिङ नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
TOP