सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
काठमाडौं :
नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच भव्य रूपमा लोकार्पण गरिएको छ।
वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित उक्त ग्रन्थको लोकार्पण काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको सभाकक्षमा आयोजित एक समारोहका बिच सम्पन्न भएको हो। कार्यक्रमको आयोजना नेपाल संस्कृत विश्वविद्यालयको व्याकरण विषय समितिले गरेको थियो।
सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीजीबाट ग्रन्थ लोकार्पण
सन्त समाज नेपालका अध्यक्ष, हरिहर सन्न्यास आश्रम देवघाटधामका पीठाधीश एवं परमानन्द संस्कृत गुरुकुलम्का संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख आतिथ्यमा ग्रन्थ लोकार्पण सम्पन्न भएको हो।
प्रमुख अतिथिको आसनबाट आशीर्वचन दिँदै स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले संस्कृत भाषा र यसको व्याकरण ज्ञानको संरक्षण तथा प्रवर्द्धनमा यो ग्रन्थले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि, सभाध्यक्ष एवं विशिष्ट अतिथिहरूद्वारा दीपप्रज्ज्वलन, सरस्वतीको तस्वीरमा माल्यार्पण तथा सहप्रा.डा. नारायणप्रसाद पौडेल, उपप्रा.डा. रामप्रसाद पौडेल र उपप्रा.डा. वैकुण्ठ घिमिरेद्वारा गरिएको स्वस्तिवाचनबाट भएको थियो।

के छ ‘शब्दशास्त्रविज्ञानम्’ मा?
नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रम अनुसार तयार पारिएको यो ग्रन्थमा मुख्य गरी चार वटा महत्त्वपूर्ण क्षेत्रहरू समावेश गरिएको छ:
-
पाणिनीयशिक्षा
-
व्याकरणशास्त्रको इतिहास
-
संस्कृत भाषाविज्ञान
-
तुलनासिद्धान्त
यी विषयवस्तुहरूको गहिरो अध्ययन र विश्लेषण रहेकाले यो ग्रन्थ संस्कृत व्याकरण तथा भाषाविज्ञानका विद्यार्थी, शोधकर्ता र अध्येताहरूका लागि अत्यन्त उपयोगी हुने बताइएको छ।
कृतिमाथि विद्वान्हरूको समीक्षा र शुभकामना :
ग्रन्थको समीक्षा गर्दै वाल्मीकि विद्यापीठका सहप्रा. डा. केशवशरण अर्याल र नेसंवि अनिवार्य संस्कृत विषय समितिका अध्यक्ष प्रा.डा. जीवन अधिकारीले डा. तिवारीको कृतिले परिमार्जित पाठ्यक्रमको खाँचो पूरा गर्नुका साथै संस्कृत व्याकरणलाई आधुनिक भाषावैज्ञानिक दृष्टिकोणबाट बुझ्न ठूलो मद्दत पुर्याउने टिप्पणी गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि एवं भाषाविज्ञान-विशेषज्ञ प्रा.डा. माधवप्रसाद पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गर्दै ग्रन्थकार डा. तिवारीको अनुसन्धानमूलक मिहिनेतको प्रशंसा गर्नुभयो।

संस्कृतप्रेमी तथा शिक्षाविद्हरूको उल्लेख्य उपस्थिति :
व्याकरण विषय समितिका अध्यक्ष प्रा. भीमप्रसाद कण्डेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. अच्युतप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा नेसंभिका पूर्व उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, परीक्षा नियन्त्रक सहप्रा. मुरलीधर दाहाल, पूर्व परीक्षा नियन्त्रक प्रा.डा. विष्णुप्रसाद शर्मा देवकोटा, पूर्व निर्देशक प्रा.डा. विष्णुप्रसाद दहाल, पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सहप्रा. श्यामसुन्दर ढकाल, त्रिभुवन विश्वविद्यालयका सहप्रा. डा. विष्णुप्रसाद पोख्रेललगायत विभिन्न विषय समितिका अध्यक्ष, विभागाध्यक्ष, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरू गरी १५० जनाभन्दा बढी संस्कृतप्रेमी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्तमा ग्रन्थकार सहप्रा. डा. प्रकाश तिवारीले आफ्ना अनुभूति साझा गर्दै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सभाध्यक्ष प्रा. भीमप्रसाद कण्डेलले कार्यक्रम सभाविसर्जन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उपप्रा. उपेन्द्र दाहालले गर्नुभएको थियो।

समाचार
थप सामाग्री
स्याङ्जामा ३४४ एचआईभी संक्रमित, वालिङ सबैभन्दा धेरै
१ महिना अगाडि
स्याङ्जा : : स्याङ्जा जिल्लामा एचआईभी संक्रमितको संख्या तीन सय ४४ पुगेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म…


