कृषकका असल साथी, सम्झनामा माधव सर
प्रकाश डोटेल :
स्याङ्जा १९ कात्तिक । स्याङ्जाली कृषककाबीचमा लामो समय याद रहने नाम हो, माधव लम्साल । आत्मविश्वासले भरिएको दृढसंकल्पित मनले स्वार्थभावबाट टाढा रहेर आम सेवाग्राहीलाई आत्मबल भर्दै विश्वासिलो वातावरण सृजना गरी विना हिचकिटाहट कलात्मक शैलीमा प्रस्तुत हुने उनको तौरतरिकाबाट सायदै संगत गर्ने हुन् वा नजिक रहेर काम लिनेहरुले अनुभूति गरेको हुनुपर्छ । उनी कति बौद्धिक, सरल, मिजासिला र अनुशासित थिए भनेर ।
कृषकहरुको असल साथी बन्न सकेकोमा उनीलाई निस्वार्थ सम्झनेहरु कयौं छन् । सायद उनले तत्कालिनको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ र हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको जिल्ला प्रमुख स्याङ्जा, कास्की र मुस्ताङ्मा रहेर भेद्भाव विना, निसंकोच, निस्वार्थ लाखौ नागरिकको सेवा गरे । राज्यको निकाय प्रमुख भएर सालिन र भद्र तबरबाट सेवा प्रबाहमा कुनै अभाब हुन् नदिने उनको फरक शैली थियो ।
आम कृषकको असल सहयोगी र साथी बन्दै गर्दा यहि समाजमा हामी र हाम्रा लागि माधव लम्साल कार्यालय प्रमुख मात्रै थिएन्न । मनमा लागेको आफ्नो सुविचार, सल्लाह र जानेको विषयमा प्रष्ट बोल्ने उनको बानी सायद भगवानलाई प्यारो लाग्यो, र ४४ वर्षको कलिलो र भर्भराउँदो उमेरमै टप्पक टिपेर लगे । भनिन्छ, जंगलमा रुख काट्न गएको मानिसलाई त्यो जंगलको सिधा रुख मनपरे जस्तै माधव लम्सालको त्यो शालिनता र मिजास भगवानका लागि प्यारो लाग्यो । ‘अपसोच काटिने सिधा तथा सोझो रुख नै हो, भगवानले पनि यो भौतिक संसारबाट छिट्टै लग्ने अनि उनलाई मन पर्ने पनि असल मानिस नै हो, माधव जस्तै !’
म पेशाले पत्रकारिता गर्ने मान्छे, उनी जिल्लाको कृषि सम्बद्ध जिल्लास्थित सरकारी निकायको कार्यालय प्रमुख । उनी र मेरो बीचमा न कहिल्यै कार्यालय प्रमुख न त पत्रकार । जहिले जहाँ भेट भयो, के छ ?, अब यस्तो गर्दा राम्रो हुन्छ । जस्तो सुकै परिस्थिती र अवस्थामा समेत सकारात्मक र हौसलाका मात्रै कुरा गर्ने । कहिलेकाँहि कुरा गर्दै जाँदा प्रसंगले कार्यालय प्रमुखहरुका बारेमा कुरा आदानप्रदान हुँदा माधवले सकारात्मक मात्रै भने । जिल्लाका पत्रकारहरुका विषयमा कुरा हुँदा त अझ मार्गदर्शनको शैलीमा एकाकार भएर अगाडी बढ्न सुझाउँथ्ये ।
सरकारी निकायमा सेवा गर्ने एउटा अवधि हुन्छ, अवधि सकिए (रिटाएर) पछि आम कृषकहरुकै सारथी बन्ने कुरामा उनी प्रतिबद्ध थिए । नेपालमै पहिलो प्रयास स्वरुप थालिएको अनि संस्थागत रुपमा शुरु भएको मुक्तिनाथ कृषि कम्पनीसँग उनको लगाब यति थियो कि, सरकारी सेवाबाट निस्केपछि कृषकसँग जोडिने माध्यम मुक्तिनाथ कृषि कम्पनी हो, कयौं पटक भन्ने गर्थे ।
मुक्तिनाथ कृषि कम्पनी लि.का प्रबन्ध संचालक भरतराज ढकालले धेरै पटक स्याङ्जा आउँदा माधव लम्सालसँग भेट्ने कुरा गर्नुले समेत यो कुराको स्पष्ट हुन्छ । माधव लम्सालले भन्नु हुन्थ्यो ः म कृषिको मुख्य कार्यालय त गएको छु तर भरतसरसँग व्यक्तिगत र भावि योजनाको लामो (सविस्तार) कुरा हुन पाएको छैन् । त्यहि कुराको संकेतले हामीले बुझ्ने गरेका थियौं, भरत सरले माधव सरसँग गर्न खोजेको भेट र माधव सरले कृषि कम्पनीका बारेमा राखेको सकारात्मक सुविचार । सायद भरत सरलाई लाग्दो हो, माधव जत्तिको मान्छे हाम्रो कम्पनीमा र माधव सरको योजना थियो होला, सरकारी सेवाबाट निस्केपछि मुक्तिनाथ कृषि कम्पनी मार्फत कृषकको सेवामा समर्पित हुने, जिम्मेवारी फरक तर शैली उहि ।
माधव सरको काम गर्ने फरक शैली र मिठो बोलिचाली धेरैका लागि अब सम्झना मात्रै छ । ‘मेरो त पेशाले सहकर्मी, नाताले भाई माधवले छोडेर जाँदा भन्ने शब्दै छैन् ।’ नेपाल निजामती कर्मचारी संघ कास्कीका केन्द्रिय प्रतिनिधि डार्बिन लम्सालले भने, कसलाई के भनु, मन रोएको छ ।’ तिहारको भोलिपल्टको दिन अर्थात माधव सरले संसार छाडेर गएको दिन फोन सम्बादमा उनले भने । उनी जत्तिकै चिन्तामा व्यवसायी तथा नाताले दाजुभाई आशिष लम्साल र कुलानन्द लम्साल ‘कुमार’ले पनि बाल्यकालका यादहरुलाई ताजा बनाउँदै अमिलो मन गरे । उनीहरुको एउटै स्वर थियो, हाम्रोलाई राम्रो त भनिन्छ, तर माधव हाम्रो मात्रै होईन, राम्रो मान्छे थिए, छिमेकी, समाज, जिल्ला र राष्ट्रलाई ठूलो क्षति भयो !
माधव सरको दुर्घटनामा मृत्यु भएसँगै कृषकलाई गरेको माया सम्झदै चापाकोटका विश्वास पुरीले भने, कृषकले एक असल साथी, राष्ट्रले एक होनाहार बौद्धिक मान्छे गुमायो, सायदै कृषकका लागि यत्तिको मान्छे आउँदैन् होला । भीरकोट नगरपालिका वडा नं.–७ का वडाध्यक्ष तारा अर्याल, पुतलीबजार नगरपालिका वडा नंं–१० का अगुवा कृषक मुक्ति अधिकारी लेख्छन्, दैबले पनि समाजमा राम्रो काम गर्ने मान्छेलाई छानेर लादो रहेछ । हजुरका योगदानहरु हामी अनि राष्ट्रले सम्झिरहने छ ……… । सुन्तला सुपरजोन कार्यान्वयन समितिका अध्यक्ष बोधराज अर्याल, अर्जुनचौपारी गाउँपालिकावडा नं. १ का अगुवा कृषक फणिनारयाण अर्यालले माधव सरले कृषककाबीच छोडेर गएको योगदान र कृषकका असल साथी भगवानले लगेको बताउँदै नरमाईलो अनुभूति गरे ।
२०३८ साल माघ ०४ गतेका दिन स्याङ्जाको सदरमुकामस्थित पुलतीबजार नगरपालिका वडा नं.–१४ लामागेमा जन्मिएका माधव लम्सालले २०८२ साल कार्तिक ०७ गते सोहि वडाको मैदानबाट घर तर्फ फर्किने क्रममा आमडाँडामा भएको मोटरसाईलक दुर्घटनामा परेर सबैलाई बिरानो बनाएर भौतिक संसारबाट विलिन हुन पुगे ।
जिल्ला सदरमुकामकै हिमालयन ईङ्गलिस बोडिङ्ग स्कूलबाट एसएलसीसम्मको अध्ययन गरेका माधव लम्सालले चितवन रामपुरस्थित रामपुर कृषि क्याम्पसबाट आईएस्सि एजी र बिएस्सि एजीसम्मको अध्ययन गरे । २०६३ सालमा शाखा अधिकृत स्तरको लोकसेवा आयोग उर्तिण हुँदै नेपाल सरकारको सेवा प्रारम्भ गरेका उनी २०७२ सालमा उपसचिव बने । नेपाल सरकारको सेवामा रहदा क्षेत्रिय कृषि निर्देशनालय पोखरा, मुस्ताङ्, स्याङ्जा र कास्कीको जिल्लास्थित कार्यालय प्रमुख रहेर सेवा गरे । झण्डै २०८४ सालमा सहसचिव हुने तयारीमा थिए माधव सर ।
३८ वर्षकी जीवनसंगिनी श्रीमती सृजना लम्साल, कक्षा १० मा अध्ययनरत १५ वर्षिय छोरी लाभान्या लम्साल, कक्षा ३ मा अध्ययन गर्दै गरेका ८ वर्षका छोरा अन्सुमान लम्साललाई टुहुरो बनाएर सृजनाकी पत्,ि लाभान्या र अन्सुमानका पिता, ७२ वर्षिय बुबा खेमलाल लम्साल, ७१ वर्षिय आमा दिर्पा लम्सालका छोरा अनि ५२ वर्षका ठूलदाई एकनारायण लम्साल र माईला दाई महेश्वर लम्साललाई भाई माधवले एक्लै बनाएर जीवन भर रुवाएर यो भौतिक संसारबाट बिदा लिए ।
श्रीमतीका लागि एक जीवनसाथी श्रीमान्, छोराछोरीका लागि भरोसा र आशाको दियो बुबा, बुबा आमाका लागि एक कर्तव्यनिष्ठ, बफादार छोरा, दाजुहरुका लागि एक असल ईमान्दार, आदेशपालक भाई, छिमेकीका लागि एक असल सहयोगी मित्र र राष्ट्रका लागि एक असल, कर्मठ अनि बौद्धिक होनाहार योद्धा ! माधव सर, तपाईले अल्पआयुमै छोडेर गए पनि हामी तपाईलाई सम्झिरहने छौं ।
(लेखक नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व सभापति हुन् ।)
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


