स्याङ्जाका जोगप्रसाद पाण्डे जसले खाली खुट्टा हिडेरै बढाए पुस्तकालयकाे महत्व ।

jog prasad pandey Birgha samman

स्याङ्जा :

२०१५ साल श्रावण २६ गते स्याङ्जाको बिर्घा अर्चलेबारीमा जन्मनुभएका बाल ब्रह्मचारी जोगप्रसाद पाण्डेले विद्यालय तहसम्मको शिक्षा गाउकै जनता मावि बाट पुरा गर्नुभयो । सानैदेखि आध्यात्मिक स्वाभावका पाण्डे केहि समय भारत बस्नुभयो । भारतमा हुँदा पनि उहाँ धार्मिक कर्ममै रमाउनु भयो । २०४३ सालतिर भारतबाट फर्किएसंगै उहाँ गाउकै विभिन्न धार्मिक तथा सामाजिक संघसस्थासंग आवद्ध भएर सामाजिक कार्यमा लाग्नु भयो । जीवनभर बिहे नगर्ने निर्णय गरि बस्नुभएका ब्रह्मचारी खालीखुट्टा हिड्ने जोगप्रसाद पाण्डेले २०४८ सालदेखि प्याज, लसुन, नुन समेत छाडी एक छाक चोखो प्रसाद ग्रहण गर्नुहुन्छ ।
स्याङ्गजा जिल्लाको दुरगाउँमा रहेपनि बिर्घा पहिलेदेखि नै शैक्षिक उर्बरभूमिले परिचित गाउँ हो । राणा शासनको अन्त्य संगै वि।स।२००७ सालपछि नेपालमा विद्यालयहरू खुल्ने क्रमसंगै यहाँ पनि विद्यालयहरू खुले तरपनि पुस्तकालय खुल्न नेपालको २०४६को बहुदलीय व्यवस्था नै कुर्नुपर्यो ।
२०४७ सालतिर गाउँकै गोपाल पाण्डेको अगुवाइमा पुस्तकालय खोल्ने अभियानमा जोगप्रसाद पाण्डे पनि सक्रियरूपमा लाग्नुभयो । एउटा सानो कोठाबाट शुरु भएको पुस्तकालयले अमेरिकी नागरिक स्व।एन्टोनिया न्यूवारको सहयोगमा मूर्तरूप पायो मातृभूमि सामुदायिक पुस्तकालयका नाममा।

जोगप्रसाद पाण्डे
जोगप्रसाद पाण्डे

वि।स।२०५० सालदेखि आफ्नै भवनबाट सेवा दिने गरि नियमितरूपमा पुस्तकालय संचालनमा आयो । गाउँमा पुस्तकालय त खुल्यो जिम्मा लगाउने पाको मान्छे को त भन्दा पुस्तकालयको स्थापना गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउनुभएका, स्वाभावले पनि आध्यात्मिक जोगप्रसाद पाण्डेलाई गाउँका भद्रभलाद्मी सबैको सहमतिमा पहिलो कर्मचारीका रुपमा पुस्तकालयको जिम्मेवारी दिइयो । यो तिन दशकको दौडानमा पुस्तकालयमा धेरै कर्मचारी अदलबदल भएपनि जोगप्रसाद पाण्डे २०५० साल कार्तिक १३ गते नियुक्त भएयता निरन्तर सतिसाल झैँ हालसम्म कार्यरत हुनुन्छ ।
गाउँकै पुरानो घर किनेर आफ्नो सेवा शुरू गरेको मातृभूमि पुस्तकालयका झ्यालढोका पुराना भएकोले शुरूवाती दिनमा जोगप्रसाद पाण्डेले कयौं रात पुस्तक कुर्ने प्रयोजनका लागि एक्लै पुस्तकालयमै केवल गुन्द्रीमा सुतेर रात काट्नुभएको छ ।
पुस्तकालय भवन, पुस्तक, पत्रपत्रिका भएपनि पुस्तकालयको संचालनको नियमित आर्थिक श्रोत अभावका कारण २०५२ सालतिर पुस्तकालय संचालक समितिले पी।सी।ओ। फोन सेवा संचालमा ल्याएको थियो । त्यसबाट हुने मुनाफाले कर्मचारीलाई तलब खुवाउने चलन हुन्थ्यो । करिव ५,६ वर्षसम्म यो सेवा चल्यो ।
सो समयमा बेलाबेलामा फोनको टावरमा समस्या आउथ्यो । टावरमा समस्या आउँदा ५,६ घण्टाको ठाडो उकालो हिंडेर गुल्मीको हिलेमा जानुपर्थ्यो त कहिले ब्याट्रीमा समस्या आउदा चार्ज गर्न ४,५ घण्टाको दुरीमा रहेको पाल्पा किन नहोस् पाण्डे खाली खुट्टा ब्याट्री बोकेरै जानुभयो र फोनसेवा दिएरै पुस्तकालयको नियमित खर्च चलाउन सहयोग पुर्याउनु भयो ।
पुस्तकको अलावा पाठकहरूको तीव्र रुचि विभिन्न दैनिक, साप्ताहिक तथा मासिक पत्रपत्रिका हुनेहुँदा पुस्तकालयले आफै किन्न नसकेको अवस्थामा वार्षिकरूपमा दाताहरू खोजि करिव २ दर्जन पत्रपत्रिकाको व्यवस्थापन गर्नुभयो । यातायातको सुबिधा नहुँदाको समयमा पनि आउजाउ ३ घण्टा लगाएर ९१ दिन बिराई० संगैको मिर्मि बजारसम्म खालीखुट्टा पैदल गएर पनि पत्रपत्रिका ल्याएर पाठकलाई ज्ञान तथा सूचना बाड्नुभयो ।


२०७२ को भूकम्पपछिको जिर्ण अवस्थाको भवनबाट भनौ या कोभिड महामारीको अवस्थामा पनि आफ्नो ज्यानको प्रवाह नगरी पाठकको आवश्यकतालाई मध्यनजर राख्दै निरन्तर सेवा दिनुभयो । पुस्तकालयलाई बन्द हुने अवस्था हुन दिनुभएन ।
पुस्तकालयको नियमित आर्थिक श्रोत नहुँदा पुस्तकालय व्यवस्थापन समितिले मृत्युवरण भएका व्यक्तिको नाममा अक्षयकोष स्थापना गरि त्यसबाट आउने व्याजको रकम र आजीवन सदस्य शुल्कको रकमबाट पुस्तकालय संचालन गर्नुपर्ने अवस्थामा जोगप्रसाद पाण्डेले थुप्रै अक्षयकोष स्थापना गर्ने दाता र सदस्यहरू खोजी गरि पुस्तकालय संचालन खर्च जुटाउनुभयो ।
पुस्तकालयको आर्थिक पक्ष कमजोरका कारण कतिपय समयमा जोगप्रसाद पाण्डेले बिना पारिश्रमिकमा स्वयंसेवकको रुपमा काम गरेरै पनि पुस्तकालय संचालन गरिदिनुभयो त कतिपय समयमा न्यून पारिश्रमिकमा सेवा दिनुभएकै कारणले पुस्तकालय नियमित रुपमा संचालन भैराख्यो विगत तीनदशक देखि ।
पुस्तकालयको नियमित आफ्नो जिम्मेवारी त थिए नै त्यो बाहेक पुस्तकालयलाई जीवन्त राख्न ६५ वर्षीय पाण्डेले ३० वर्षे यो कालमा कहिले कुनै कसर बाँकी राख्नु भएन । आफ्नो नियमित साधना, घरधन्दा सकाएर पुस्तकालय समय भन्दा पहिले पुग्ने र अन्तिममा निस्किनेमा पर्नुहुन्छ जोगप्रसाद पाण्डे । कहिले माग्नुभएन आफ्नो लागि सधै माग्नुभयो पुस्तकालयको लागि । आफ्नो जीवनको सारा समय, श्रम र उमेर मातृभूमि पुस्तकालयकै उन्नयनमा व्यतित गर्नु भएको छ ।
स्थापनाकालदेखि हालसम्म पुस्तकालयको गरिमा जोगाई राख्न जोगप्रसाद पाण्डेको महत्वपूर्ण भूमिका रहेको हुँदा नै आज मातृभूमिबाट हजारौं पाठक लाभान्वित छन् । पुस्तकालयमा पुस्तक पढ्न मात्र होइन जोगप्रसाद पाण्डेसंग ज्ञान, ध्यान र त्यागको कुरा सिक्न पनि प्रायः जसो बच्चादेखि बूढापाका आउने गर्छन् । करिव चार दशकको आध्यात्मिक साधना र करिव तिन दशकको पुस्तकालय संचालनको अनुभवले जोगप्रसाद पाण्डे आफैमा एउटा पुस्तकालय हो नयाँ पिडीको लागि ।

Facebook Comments Box
TOP