शहरी सौन्दर्यलाई प्राथमिकता दिंदै पुतलीबजार

putalibazar_office

स्याङ्जा :

स्याङ्जाको पुतलीबजार नगरपालिकाले शहरी सौन्दर्यलाई प्राथमिकता दिंदै विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । शुक्रबार बसेको कार्यपालिकाको ८७ औँ बैठकले स्याङ्जा बजार क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउन सरोकारवालाहरूसँग सहकार्य र समन्वय गर्ने निर्णय गरेको निर्णय गरेको हाे ।

पालिकाले स्याङ्जा बजार क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको छ । सिद्धार्थ राजमार्गभित्र पर्ने पुतलीबजारका मुख्य बजार क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल तथा इन्टरनेट तार अव्यवस्थित रहेको भन्दै नगर कार्यपालिकाले सम्बन्धित पक्षलाई निर्देशन गरेकाे नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

बजार क्षेत्रभित्र सडकको दायाँ र बाँया बजारको सौन्दर्य नै कुरुप बनाउने गरी जथाभावी तारहरु झुण्डिरहेको र कुनै पनि बेला आगलागीको सम्भावना रहेको अवस्थालाई मध्येनजर गर्दै पुतलीबजारले यस्तो निर्णय गरेको हो ।

त्यस्तै स्याङ्जा बजारको अव्यवस्थित खानेपानीको उपयुक्त व्यवस्थापन गर्न सरोकारवाला निकाय, उपभोक्ता समिति लगायतसँग छलफल गरी बजार क्षेत्रभित्र खानेपानी पुर्‍याउने समेत कार्यपालिका बैठकले निर्णय गरेको छ । फुटपाथ एवम् सडक पेटीमा राखिएका सामान र मापदण्ड विपरितका विज्ञापनका होडिङ बोर्डहरु पनि हटाउने निर्णय गरिएको पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनु भयाे ।

Facebook Comments Box
TOP