सेतो पुतलीका कारण आँखामा लाग्ने रोग ‘सापू’ फेरि फैलँदै,गण्डकी प्रदेशमा धेरै

बुनु थारु/ काठमाडौँ — सोमबार लुम्बिनी आँखा केन्द्रमा गुल्मीका एक १० वर्षीय बालक आँखाको सबै पत्रमा पिप जमेको लक्षण लिएर आए । उनलाई चिकित्सकले ‘सापू’को शंका गर्दै शल्यक्रिया गरे ।  चिकित्सकका अनुसार उनमा सुधार आउन ३–४ दिन लाग्नसक्छ तर, आँखा नदेख्ने सम्भावना प्रबल छ ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)की सहप्राध्यापक तथा तिलगंगा प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरका अनुसार सापुका लक्षण देखिएका तुरुन्तै अस्पताल जानुपर्छ । त्यसका लक्षणहरु भनेका अचनाक एउटा मात्र आँखा रातो हुने, उज्यालो हेर्दा गाह्रो हुने, आँखाको गेडी दुख्ने र दृष्टि एकदम छिटो कम हुने हुन्छन् ।

‘यो रोग लागेको आँखामा सबैलाई दुखाइ नहुन पनि सक्छ । चिप्रा लाग्दैन । आँखाको डिल सुनिनसक्छ । आँखाको नानीमा सेतो टल्किएमा त्यो सापु हुनसक्ने सम्भावना धेरै हुन्छ,’ उनले भनिन् ।

सामान्यतया प्रत्येक दुई वर्षमा देखिने आँखा रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) हाल देखिन थालेको छ । यो आँखाको रोग प्राय भदौदेखि मंसिर महिनामा देखिन्छ ।

नेपालमा मात्रै देखिने रोग ‘सापू’ कस्तो हो ?

आँखारोग विशेषज्ञ डा. मदन उपाध्यायले यो रोग सन् १९७५ मा पत्ता लगाएका हुन् । यो रोग पहिलोपटक पोखराको नारायणटार भन्ने ठाउँमा देखिएको थियो र अहिले पनि बढी केस पोखरा आसपासका क्षेत्रमा देखिँदै आएको छ ।

सापू नेपालमा मात्र देखा परेको एउटा यस्तो रोग हो जुन विगत ४६ वर्षदेखि वर्षायामपश्चात एक–एक वर्ष बिराएर बढीजसो बालबालिकाहरुमा देखिने गरेको छ । खासगरी मध्य नेपालको पहाडी भेगमा धेरै देखिएको यो रोगका बिरामीहरु वर्षायाम सकिनेबित्तिकै अर्थात भदौदेखि मंसिरमा महिनामा देखापर्छन् ।

बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रकी सहप्राध्यापक तथा युभिआइटिस स्पेसलिस्ट डा. रञ्जु खरेल सिटौला भन्छिन्– ‘अहिलेसम्म देखिएका केसअनुसार यो रोग सधैं एउटै आँखामा हुन्छ र अर्को आँखाबाट अर्कोमा सर्दैन । साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्दैन र प्राय: बालबालिकामा नै देखिएको छ । यो रोग लागेर पीडित हुनेमा ६० देखि ७० प्रतिशत बालबालिका नै छन् भने बाँकी वयस्क छन् ।’

उनले उपचारको क्रममा अस्पतालमा भएका बिरामीहरुको जाँच गर्दा आँखामा पुतलीका रौँहरु पनि पाइएको बताइन् । तर, सेतो पुतलीको सम्पर्कमा नआएका वयस्कमा पनि यो समस्या देखा परेको छ ।

तिलगंगाकी युभिआइटिस स्पेसलिस्ट डा. अनु मानन्धर भन्छिन्– ‘यो रोगलाई सिजनल एन्डप थालमाइटिस पनि भनिएको छ । यो रोग लागेको आँखाभित्र पिप भरिन्छ । सापू रोग लागेका आँखाहरुमा कडा खालको ब्याक्टेरियाको संक्रमणको पनि पुष्टि भएको छ । अनुसन्धानबाट एक प्रकारको सेतो पुतली (बत्तीमा आउने पुतली) यस रोगको प्रमुख जोखिम कारक रहेको पत्ता लागेको छ ।’

सेतो धर्से पुतलीको संसर्गबाट यो रोग लाग्ने अध्ययनहरुले पनि देखाएका छन् । नेपालमा खासगरी पोखरा आसपासका जिल्लाहरुमा बढी मात्रामा देखा पर्ने दृष्टिनाशक आँखाको रोग हो ।

यो रोग संक्रमण गराउने पुतली कसरी चिन्ने त ? ‘अहिलेसम्मको अध्ययनले सेतो पखेटामा कालो तेर्सो धर्को भएको सेता पुतली संक्रमणको मुख्य कारक मानिएको छ । यसको शरीरको अन्तिम भागमा बाक्लो खैरो रौँजस्तो थुप्रिएको हुन्छ । त्यो रौँभित्र विषादी हुन्छ,’ डा. रञ्जुले भनिन् ।

डा. रञ्जुका अनुसार छिट्टै नै सिक्वेन्सिङबाट सापूको यकिन कारण पत्ता लगाउने काम भइरहेको छ । जनचेतना पुगे धेरैहदसम्म यसको केस घट्ने उनको भनाइ छ ।

sapu

तत्काल उपचार नपाए आँखाको ज्योति गुम्ने

चिकित्सकहरुका अनुसार धेरै संख्यामा यो रोग नदेखिए पनि यसको प्रभाव भने ठूलो रहेको छ । उनीहरुका अनुसार यो आँखाको एक डरलाग्दो रोग नै हो । यो रोग लक्षणहरु देखा परेको गम्भीर केसमा २ देखि ४ घण्टामै आँखाको दृष्टिसमेत गुम्न सक्छ ।

तिलगंगाकी डा. अनु भन्छिन्– ‘यसको उपचार आँखामा आइ ड्रप्स मात्र हालेर हुँदैन । एन्टिबायोटिक इन्जेक्सन हाल्छौँ । बिरामी समयमा आए परिणाम राम्रै आउँछ । ढिलो भए आँखा भित्रको पिप पानी सफा गर्ने सर्जरी भिट्रेक्टोमी गरिन्छ । तैपनि आँखालाई पहिलाकै जस्तो सामान्य रुपमा राख्न सकिँदैन । ज्योति पनि आंशिक रुपमा मात्र आउन सक्छ ।’

विशेषज्ञका अनुसार आँखामा हुने ३ पत्रमा पिप जमेको खण्डमा तुरुन्त अपरेशन गरेर पिप फाल्नुपर्ने हुन्छ । ४८ घण्टा देखि ७ दिनमा आँखाको भित्री पत्र कुहिने र अन्धोपन नै हुन्छ । साथै महिनादिन पछि आँखै सुकेर जाने समेत हुनसक्छ ।

गण्डकी प्रदेशमा धेरै

बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबारसम्मको तथ्यांकमा भदौको २ हप्तामा ४२ जना यो समस्या लिएर अस्पताल पुगेका छन् ।

सबैभन्दा बढी ३२ जना गण्डकी प्रदेशका रहेका छन् । पोखरा आसपासको क्षेत्रमा बढी देखिने यो रोग अहिले बाग्लुङमा पनि धेरै संख्यामा देखिएको तथ्यांकले देखाउँछ । ३२ जनामा ६० प्रतिशत बाग्लुङका रहेका छन् । लुम्बिनी प्रदेशका पनि ७ जनामा यो समस्या देखिएको छ । यस्तै वाग्मती प्रदेशमा २ जनामा तथा प्रदेश १ मा एकजना यो समस्या देखिएको छ । यो तथ्यांक २ वर्ष अगाडिको भन्दा बढेको पाइएको छ ।

बीपीकी डा. रञ्जुका अनुसार २ वर्षअघि ४ महिनामा ३५ जनासम्म बिरामी देखिएकोमा अहिले दुई हप्तामै ४२ जना पुगिसकेका छन् । उनले यस रोगबारे जनचेतना फैलाउन टिकटक, पम्पलेट, सामाजिक सञ्जालबाट सचेतनाको कार्यक्रमहरु अगाडि बढाइरहेको बताइन् ।

कसरी बच्ने ?

तिलगंगाकी डा. मानन्धरले यो रोगबाट केही हदसम्म बच्न सेतो पुतलीबाट टाढा बस्न सुझाव दिन्छिन् । उनका अनुसार सेतो पुतली देखिएमा बच्चालाई छुन नदिने, सेतो बत्तीमा पुतलीहरु आकर्षित हुने भएकाले घरबाहिर सकेसम्म सेतो सीएफएल बत्ती नबाल्ने, घरभित्र आए पनि किटनाशक स्प्रे गर्ने वा कागजले टिपेर फाल्ने र हात राम्रोसँग साबुपानीले धुने गर्नुपर्छ ।

यसका लक्षण तथा चिन्हरु के हुन्?

  • एक्कासि एउटा आँखा रातो हुनु
  • कडा प्रकाशमा हेर्न नसक्नु
  • कचेरा वा चिप्रा नलाग्ने
  • आँखाको दृष्टिमा तत्काल कमी हुनु
  • आँखाको कालो नानीभित्र पिप जमेको देखिनु
  • आँखाको नानी सेतो देखिनु वा सेतो भएर टल्किनु

के छन् रोकथामका उपाय?

  • सेतो धर्से पुतलीको संसर्गबाट टाढा रहने
  • सुत्ने बेला बत्ती निभाएर झुलको प्रयोग गरेर सुत्ने
  • धेरै उज्यालो सेतो बत्ती नबाल्ने
  • झ्याल, ढोकामा जाली राख्ने वा बेलुका झ्याल ढोका बन्द राख्ने
  • यो रोगको शंका लागेमा तुरुन्त आँखा उपचार केन्द्र वा आँखा अस्पताल लाने                                        ईकान्तिपुर डटकमबाट
Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP