भारतमा कालो ढुँसीबाट करिब ४ हजारको मृत्यु , कालो ढुँसीबारे विस्तृत जानकारी ।

नँया दिल्ली:

हालैका दिनमा कोरोना महामारीपछि कालो ढुसी (म्युकोरमाइकोसिस) संक्रमितको संख्या भारतमा ह्वातै बढ्न थालेको छ। त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार ४५ हजार ३७४ जनामा कालो ढुसी संक्रमण भएको छ भने चार हजार ३३२ जना संक्रमितको मृत्यु भएको छ।

कालो ढुसी फंगल इन्फेक्सन (ढुसीको संक्रमण)का कारण हुने स्वास्थ्य जटिलता हो। कालो ढुसीको बीजाणुको सम्पर्कमा आउनेहरूमा यो रोगको संक्रमण हुन सक्छ। कोरोना भाइरस संक्रमणबाट मुक्त भएका वा संक्रमणमुक्त हुने क्रममा रहेकाहरूमा कालो ढुसीको संक्रमण हुने सम्भावना प्रबल रहेको बताइएको छ। चिकित्सकहरूका अनुसार मधुमेहको समस्या भएका वा प्रतिरक्षा प्रणाली कमजोर रहेकाहरूले यसको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

कालो ढुसी के हो ?

म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।

सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ । पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् । यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पुर्‍याउनु आवश्यक छ ।

प्रारम्भिक लक्षण के–के हुन् ?

  • अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने
  • आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
  • नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने
  • नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने
  • बाक्लो सिंगान आउने
  • आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने
  • दाँत दुख्ने वा हल्लिने
  • टाउको भारी हुने
  • ज्वरो आउने
  • अचेत हुने, बरबराउने हुन्छ

कतिखेर अस्पताल भर्ना हुने ?

जुनसुकै उमेर समूहका मानिसमा कोलो ढुसीको संक्रमण हुनसक्छ । तर नेपालको सन्दर्भमा १८ देखि ६० वर्ष उमेर समूहमा देखा परेका छन् । कालो ढुसीका लक्षणहरु देखा परेमा नजिकैको अस्पताल जानुपर्छ । चिकित्सकहरुले आवश्यकता अनुसार परीक्षण गरेर यसको पहिचान गर्छन् । फङ्गल टेस्टदेखि लिएर एमआरआईमार्फत यसको परीक्षण गरिन्छ । परीक्षणमार्फत शरीरको कुन–कुन भागमा यसको इन्फेक्सन देखिएको छ सोही अनुसार चिकित्सकहरुले उपचार प्रक्रिया अगाडि बढाउँछन् ।

के छ उपचार विधि ?

यसको उपचारका क्रममा स्लाइनबाट दिने औषधि १० देखि १४ दिनसम्म दिनुपर्ने हुन्छ । त्यसपछि पोसाकोनाजोल नामक खाने औषधि बिरामीको अवस्था हेरेर एकडेढ महिनाका लागि दिइन्छ ।कालो ढुसीको उपचारमा विशेषतः ‘एम्फोटेरिसिन बी’ इन्जेक्सन मार्फत औषधिको प्रयोग गरिन्छ । यो औषधि अनिवार्य हो । यो सँगसँगै सर्जरी गर्नुपर्छ । जुन–जुन अंगमा संक्रमण छ, उक्त ठाउँको सर्जरी गर्नुपर्छ । यसको संक्रमण विशेष गरी नाक, आँखा, साइनस, मस्तिष्क लगायतको भागमा हुन्छ । आँखामा यसको संक्रमण गम्भीर भए नानी नै निकाल्नुपर्ने हुन्छ ।

कस्ता व्यक्तिलाई हुन सक्छ उच्च जोखिम ?

यो कुनै नयाँ रोग होइन । तर यो एकदम दुर्लभ संक्रमण हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो रोग सरुवा होइन । तर यो संक्रमण निकै गम्भीर हुन्छ, संक्रमण बढ्दै जाँदा यो प्राणघातक पनि बन्न सक्छ ।

  • यो रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएका अनियन्त्रित मधुमेह, अंगप्रत्यारोपण गरिएका बिरामी र क्यान्सरको उपचार गराइ रहेका बिरामी
  • कोभिड–१९ को उपचारको लागि अस्पतालमा भर्ना भएका र डिस्चार्ज भएका बिरामी
  • कोभिड–१९ उपचारका क्रममा स्टेरोइड औषधि प्रयोग गरेका व्यक्तिहरु
  • चिकित्सकको परामर्शविना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
  • फोहोर, ओसिलो तथा हावा राम्रोसँग आउजाउ नहुने क्षेत्रमा बस्दा
  • शरीरमा पानीको मात्रा कम हुँदा

के छन् रोकथामका उपाय ?

  • सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजल मास्कको पुनः प्रयोग नगर्ने
  • नियमित रुपमा हात धुने वा सेनिटाइजर प्रयोग गर्ने
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने
  • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
  • नुनिलो पानीले नाक सफा गर्ने
  • पोमिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
  • मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
  • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने
Facebook Comments Box
TOP