उज्वल थापा, परिचय, राजनीतिक लाईन र चर्चा

प्रकाश डोटेल
परिचाय :
स्याङ्जाको साविक दरौं गाउँ विकास समिति वडा नं. ७ हालको अर्जुनचौपारी गाउँपालिका ६ भेडाबारीका उदयबहादुर गोदार थापा र शान्ता थापा (रायमाझी) का दुई सुपुत्र मध्ये जेठा सुपुत्रका रुपमा उज्वल गोदार थापाको २०३३ पुस महिनामा थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल काठमाडौंमा जन्म भएको हो ।
उनले काठमाडौंस्थित भोटेवाहलमा रहेको अरनिको बोडिङ् स्कुलमा १ देखि ३ कक्षासम्म र त्यसपछि ४ कक्षादेखि उच्च मावि स्तरसम्मको अध्ययन बुढानीलकण्ठ स्कुलमा गरेका हुन् । त्यस लगत्तै उच्च शिक्षा हासिल गर्नकोे लागि थापा अमेरिका हानिए । प्राविधिक विषयमा उच्च शिक्षा आर्जन गरेपछि केहि सयम अमेरिकमा रोजगार गर्दै आएका थापा नेपालको राजनीतिक क्षेत्रमा सुधारको खाँचो देखेर केही गरौँ भन्ने भावनाका साथ २०६३/०६४ मा स्वदेश फर्के ।
उनका श्रीमती एयरहोस्टेजको रुपमा कार्यरत छन् । थापाका बुबा, आमा र श्रीमती सहित परिवारका सदस्यहरु काठमाडौंस्थित महाराजगन्जमा बस्दै आएका छन् । उनका भाई सुदिप गोदार थापा हाल स्पेनमा बस्दै आएका छन् । उनले स्पेनीस (स्पेनमा जन्मे हुर्केकी महिला) विवाह गरेर उतै बसेका हुन् ।

राजनीतिक लाईन :
थापाका बुवा उदयबहादुर नेपाली काँग्रेस प्रतिबन्धित हुँदा नै काँग्रेसमा सक्रिय थिए । २०२४÷०२५ तिरको समयमा हो, काँग्रेसका संस्थापक नेता, महामानव वीपी कोईराला निर्वासित जीवन विताएका बेला वीपीसँग भेट हुन् नेपाली काँग्रेस स्याङ्जा स्वतन्त्रता सेनानी स्वर्गिय शिवकुमार अधिकारीको संगत र सामिप्यताले उदयबहादुर बनारस पुगे ।
वीपीसँगको भेटपछि शिवकुमार र उदयबहादुरले बनारसमै अध्ययन र भूमिगत अवस्थामा काँग्रेसको संगठनमा काम गरे । अध्ययन र संगठनका काम गर्दागर्दै उदयबहादुर थापा भारतको राजस्थानमा कृषि विषय अध्ययन गर्न पुगे । २०३३ सालमा नेपाली काँग्रेसले लिएको राष्ट्रिय मेलमिलापको नीति अनुरुप उनीहरु नेपाल फर्किए । नेपाल फर्किएपछि उदयबहादुर आफ्नो घर भेडाबारीमा बस्दा शिवकुमार समेत ५/६ महिना उदयको घरमा लुकिछिपी बस्न बाध्य भए किनकी अधिकारीलाई पञ्चायती शासकले मुद्दा लगाएको थियो ।
वीपीको सिद्धान्तबाट प्रशिक्षित उदयबहादुर वीपीका जेष्ठ पुत्र प्रकाश कोईरालाको हितैषी बन्न पुगे । तत्कालिन समयमा उदयबहादुरको परिवार सबै काँग्रेसमा क्रियाशिल थिए । संयोगले २०६२/०६३ को जनआन्दोलनपछि नेपाल गणतन्त्र गयो, स्वभाविक रुपमा त्यो गणतन्त्र ल्याउने अभियानका नेतृत्व नेपाली काँग्रेसको थियो । गणतन्त्र वीपीको सिद्धान्त होईन भनेर काँग्रेसबाट प्रकाश अलग भए । हितैषी मित्र प्रकाश काँग्रेसबाट अलग भएपछि उदयबहादुर पनि काँग्रेसबाट अलग हुने निधो गरे । प्रकाश र उदयबहादुर गणतन्त्रसँगै काँग्रेसबाट अलग हुनुको नाताले दुबैको सरसंगत कस्तो थियो र कुन हदसम्म थियो ? भन्ने कुरा स्पष्ट हुन्छ ।
काँग्रेसी रहनसहनमा हुर्केका थापा अमेरिकाबाट स्वदेश फर्किएपछि विवेकशील नेपाली समूह स्थापना गरी त्यसमार्फत नेपालमा वैकल्पिक राजनीतिक संस्कृतिको शुभारम्भ गरे । उनको नेतृत्वमा विवेकशीलले नेपाल बन्द छैन् भन्ने उद्घोष, हत्या हिंसामा आधारित राजनीतिक वातावरणलाई शान्त र सुसंस्कृत बाटो देखाउने अभियान र स्वास्थ्य र शिक्षामा सबैको समान पहुँच हुनुपर्छ भन्ने नेपालीहरुको मन छुने नारा दिएर अगाडी बढ्न थापाले पाईला चाले ।
पहिलो संविधानसभामा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका विवेकशील केही सदस्यहरु समय अन्तरालसँगै दोस्रो संविधानसभा राजनीतिक पार्टीका रुपमा विवेकशील नेपाली दलमार्फत चुनावमा भाग लिएका थिए । उनीहरुले तत्कालिन समयमा मतदाताको उल्लेख्य मत हासिल गर्न त सकेन तर चर्चाका हिसाबले विजय सरह नै थिए !
नेपालको नयाँ संविधान २०७२ बनेपछिको पहिलो आम चुनावमा रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी र थापाले हाकेको विवेकशील नेपाल दल मिलेर बनेको विवेकशील साझा पार्टीमार्फत भाग लिएका थिए । स्याङ्जाली थापा र पत्रकारिता क्षेत्रका मिश्र पार्टीको सहअध्यक्ष बनेका थिए तर एकता केही समयमै तोडियो । जुट्नु र छुट्ने क्रम जारी छ ।
राजनीतिक उपलब्धीलाई हासिल गर्दै जाँदा नेताको प्रबृत्तिमा आमुल परिवर्तन र नेताले होईन की जनताले परिवर्तनको अनुभूूति गर्नुपाउनु पर्छ भन्ने आचरणका पक्षपाति थापा नेपाली राजनीतिमा प्राप्त उपलब्धीलाई परिकृति शैलीबाट उपभोग र उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने शालिन र भद्र शैलीका राजनीतिज्ञ थिए ।
वीपी कोईरालाको सैद्धान्तिक प्रशिक्षणमा शिवकुमार अधिकारी र उदयबहादुरको सम्बन्धका बारेमा थप प्रष्ट पार्दै जिल्ला विकास समितिका पूर्व सभापति रामबहादुर थापाले लेखकलाई भन्छन : प्रकाश जी उहाँहरुको सम्बन्ध त असाध्यै प्रगाढ थियो । म ठूलो बाजेको नाति र उदय कान्छो बाजेको नाती भएर पनि अधिकारी र उदयको सम्बन्ध दाजुभाई सरह नै थियो । आफू र उदय थापा परिवारकै भएपनि अधिकारीसँगको सम्बन्धमा उनले यर्थाथ बताए ।
र चर्चा :
विकेकशील साझा पार्टीका नेता उज्वल थापाको जेष्ठ १८ गते मंगलबार निधन भएको छ । युवा अवस्थामै सुगरको बिरामी थापाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण (एक्मो) उपयोग गर्दै उपचारको क्रममा ४४ वर्षको उमेरमा निधन भएको हो ।
थापालाई संक्रमण सँगसँगै निमोनिया देखिएपछि ग्रान्डी अस्पतालमा उपचार गर्दागर्दै (एक्मो) विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि थापाको मृत्यु हुनुभन्दा अघिल्लो दिनको रिर्पोट भने कोरोना नेगेटिभ आएको थियो । थापासँगै काठमाडौंमा परिवारका अन्य सदस्यको स्वास्थ्य परिक्षण गर्दा श्रीमतीसहित परिवारका अधिकांश सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
थापालाई संक्रमण भएको पुष्टि भएसँगै सामाजिक सञ्जालहरुमा उनको स्वास्थ्य लाभको कामनासहितको सन्देशबाट ठूलो सख्ंख्याले शुभेक्क्षा प्रकट गरिएको थियो । थापाको उपचारको लागि आर्थिक सहयोगको याचना गरेपछि त अस्वभाविक रुपमा रकम संकलन समेत भएको थियो ।
-थापाको स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा दर्जनौ पटक शुभेक्क्षा प्रकट गरेका तर स्वर्गारोहणसँगै नेपाल तरुण दल स्याङ्जाका उपाध्यक्ष तथा साहित्य क्षेत्रमा क्रियाशिल रविन के.सी. लेख्छन् :
उज्जवल दाईसँग २०७२ सालमा पहिलो पटक स्याङ्जामै भेट हुँदा उहाँ स्याङ्जाली भएको त्यतिबेला मात्र थाहा पाएको थिएँ । निर्माणको क्रममा रहेको नेपालको संविधान र राज्य पुनर्संरचनाको बारेमा उहाँले राखेको पृथक बिचारबाट म प्रभावित समेत थिएँ । नेपालमा वैकल्पिक राजनीतिक शक्ति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका स्याङ्जाली होनहार युवा उज्वल दाईको निधनको खबरले अत्यन्तै दुःख लागेको छ । हार्दिक श्रद्धाञ्जली !

थापाको स्वर्गारोहण भएको अपुष्ट खबर बाहिरने क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाका कोषाध्यक्ष तथा रेडियो स्याङ्जाका स्टेशन म्यानेजर रमेश गोदार गोदार समाजको सामाजिक लिंक सार्वजनिक गर्दै लेख्छन् ः
गोदार बंशका एक नक्षत्र तपाई उठ्नु पर्छ, देशलाई तपाईको खाँचो छ, तपाई प्रति सबैको सद्भाव र प्रार्थना छ । यो हेर्न र सुनेर आफ्नो योगदान र आवश्यकता थाहा पाउन पाउनुपर्छ, अनि भूमिका निभाउनु पर्छ । शिघ्रस्वास्थ्य लाभको कामना दाजु । विश्वास छ सबैको प्रथाना सुन्नेछन् । हामी तपाईको पर्खाइमा प्रार्थना गरिरहेछौं ।।।

यी त समेदवना र श्रद्धान्जली अपर्ण गर्ने प्रतिमुलक सन्देशको साभार मात्रै हो । व्यक्तिगत सम्बन्घ, दलगत सम्मान अलग छन् । सामाजिक सञ्जालमा के पनि देखियो भने, थापालाई चिन्दै नचिनेका र जान्दै नजानेका चिन्न र जान्न समेत चाँसो नराख्ने क्षेत्रका व्यक्तिहरुबाट समेत समवेदना व्यक्त भए । यसबाट के कुरा स्पष्ट छ भने, आजको राजनीति, राजनीतिज्ञ, राजनेता प्रतिको वितृष्णा तिव्र रुपमा फैलिदा मौलाउँदा समेत थापा प्रति भावना देखाउनेहरु यथेष्ट छन् । भावनाहरु भावनामात्रै रहुन भावनात्मक हुनु जरुरी छैन् । अलविदा उज्वल थापा दाई !

(लेखक : प्रकाश डोटेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य र नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व सभापति हुन् ।)

Facebook Comments Box
TOP