लकडाउनको सदुपयोग गर्दै आँधीखोला गाउँपालिकामा मन्दिरको पूनर्निर्माण

स्याङ्जा : स्याङ्जाको आँधिखोला गाउँपालिकामा लकडाउनको सदुपयोग गर्दै पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माण गरिएको छ ।
स्थानीय युवाहरु मिलेर जिल्लाको आँधीखोला गाउँपालिका ६ टिकाजामा रहेको भुजुङ्गे शिव मन्दिरको पुनर्निर्माण गरिएको हो ।
बि.सं २०५२ सालमा तत्कालिन वडा अध्यक्ष डोरनाथ ढकाल, सामाजिक ब्यक्तित्व याम नारायण ढकाल लगायत समाजका बौद्धिक ब्यक्तिहरुको सकृयता तथा स्थानीयको श्रमदानमा चन्दा संकलन मार्फत निर्माण मन्दिर सहितको धार्मिक स्थल निर्माण गरिएको थियो ।
बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउन बन्दाबन्दी भएपछि स्थानीय युवाहरु जुटेर अहिले धार्मिक स्थलको पुनर्निर्माण गरेका हुन् ।
स्थानीय युवाहरुको विशेष सक्रियतामा मन्दिर सहितको धार्मिक स्थलको पुनर्निर्माण गरिएको निर्माण समितिका अध्यक्ष अर्जुन ढकालले बताउनुभयो ।
.

उहाँले भन्नुभयो –‘कोरोना भाइरसको संक्रमण भएको अवस्थामा गाँउमा सम्पुर्ण युवा साथीहरुको जमघट तथा भेटघाट हुने अवसर जुट्यो । अनौपचारिक छलफल भयो र अन्त्यमा मन्दिरको लागि केही न केही गरौ न भन्ने भावना र मनसायका साथ यो अभियानको सुरुवात गरेका हौं ।’
मन्दिर ब्यबस्थापन समिती समेत नबनेर जिर्ण अवस्थामा रहेको धार्मिक स्थलको पुरातात्विक र धार्मिक महत्व रहेको स्थानीयहरु बताउँछन् । स्थानीय शिब ढकालले अहिले अधिकांश युवा गाउमै भएपनि अवस्था सामान्य भएपछि अध्ययन तथा रोजगारीको शिलशिलामा गाउँबाहिर जाने भएकाले अहिले काम गरिएको बताउनुभयो ।
धार्मिक स्थल निर्माणका लागि स्थानीयले आर्थिक सहयोग पनि गरेका छन् ।
संकलन गरिएको चन्दा वापतको रकम चन्डी माइ आमा समुह टिकाजालाइ हस्तान्तरण गर्ने तयारी गरिएको ढकालले बताउनुभयो । यस्तै, मन्दिर एवम् धार्मिक स्थलको व्यवस्थापनका लागि भवन समेत बनाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
.

मन्दिर अगाडि रहेको पोखरीलाइ कम्पाउन्डिङ सहित थप मर्मत सम्भार गरि पोखरीको बिचमा शिबजिको मुर्ती स्थापना गरि त्यस मुर्ती बाट पानिको फोहोरा चारैतिर स्प्रे हुन सक्ने गरि निर्माण गर्ने योजना रहेको ढकालको भनाई छ ।
२०५२ सालमा यस ठाउँमा शिव मन्दिर निर्माण सम्पन्न भैसकेपछी शिबको मुर्ती स्थापनाको लागि गाउलेहरु डोकोमा मुर्ती बोकि बृहत् भजन कृतन सहित मन्दिरमा मुर्ती स्थापना गरिएको थियो र यो मन्दिरको समुद्घाटन आँधिखोला ६ निबासी तत्कालिन कृषि मन्त्री त्रिलोचन ढकालले गर्नुभएको थियो । विभिन्न अवसरमा पुजाआजाका कार्यक्रम, ब्रतबन्ध तथा बैबाहिक कार्यक्रम समेत सम्पन्न हुने गरेको यस मन्दिरको संरक्षणमा त्यसपछि भने धेरैको ध्यान पुगेको थिएन ।
स्थानीय समाजसेवी एक नारायण ढकालले भन्नुभयो –‘यो हाम्रो साझा सम्पत्ती हो । हाम्रो गाउँघर, टोल छिमेकमा भएका पुराना धार्मिक स्थल, पाटी पौवा हरु मर्मत सम्भार तथा स्तरोन्नति को अभावमा धेरै ठाउँमा जिर्णोद्दार अवस्थामा रहेका छन । यस्ता धार्मिक तथा साँस्कृतिक सम्पदाहरु बचाउनु हाम्रो दायित्व भित्रै पर्दछ ।’
उहाँले मठ मन्दिर, पाटी, पौवा पहिचान तथा ईतिहास भएकाले धर्म संस्कृति एवम् मौलिकता झल्काउने यस्ता सम्पदालाइ संरक्षण र मर्मत गर्नुपर्ने बताउनुभयो ।
टिकाजाबासी युवाहरुको नेतृत्वमा भुजुङ्गे शिव मन्दिरलाई थप राम्रो बनाउनका लागि मर्मतसम्भार, रङरोगन, स्वागतद्वारको पुनर्निर्माण, मन्दिर वरिपरि तारबार, मन्दिर हाता भित्र बस्न मिल्ने खालको सिमेन्टेड वा फलामको बेन्च बनाउने तयारी गरिएको छ ।
स्थानीयहरुले यो अभियानमा जोडिन देश बिदेशमा रहेका टिकाजाबासी गाउँले दाजुभाइहरु तथा दिदिबहिनी हरुमा अपिल समेत गरिएको छ ।
मन्दिरको कम्पाड भित्र पोखरी निर्माण लगायतका निर्माण काम भइरहेको छ । करिब ११ लाख लाग्ने अनुमान गरिएको यो अभियानमा अहिलेसम्म गाउँपालिका र वडाले भने कुनै सहयोग नगरेको स्थानीय बताउँछन् ।
हालसम्म स्थानीय, देश, बिदेशमा रहेका सहयोगी दाता बाट करिब ७ लाख ६० हजार सहयोग उठेको र बाकी रकम पनि स्थानियहरुले श्रमदान गर्ने तयारी गरिएको छ ।
यस्तै, स्थानिय आमा समुहमा रहेको संचित रकम बाट समेत काम गर्ने योजना रेहेको निर्माण समितीका अध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो ।
किम्बदन्ती अनुसार यो मन्दिर भएको स्थानमा पहिले ठुलो पोखरी थियोे र भगवान शिव पत्नी बियोगको छ्टपटिमा यो स्थान सम्म आएर पानी पिएको उल्लेख छ । आर्थिक अभावले यो मन्दिर हालसम्म छायामा परे पनि लकडाउनको असरले यसलाई भने सकारात्मक प्रभाव परेको छ । स्थानीय युवाहरुको मेहनत सँगै मन्दिरको मुहार अहिले फेरिएको छ । आगामी दिनमा धार्मिक तथा पर्यटकीय स्थानको रूपमा देश र बिदेश सम्म प्रचार गरी यस ठाउँको बिकास गर्ने अभियानमा लागि परेको निर्माण समितिको भनाई छ ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…