बन्दाबन्दी ( लकडाउन ) को बेला के गर्दैछन् स्याङ्जाली स्रष्टाहरु …? केही प्रतिनिधि स्याङ्जाली स्रष्टाहरुको बन्दाबन्दी ( लकडाउन ) दैनिकी -३

 २३ भाद्र २०७७, मंगलवार ११:२२   | मिलन समीर

बन्दाबन्दी ( लकडाउन ) को बेला के गर्दैछन् स्याङ्जाली स्रष्टाहरु …? केही प्रतिनिधि स्याङ्जाली स्रष्टाहरुको बन्दाबन्दी ( लकडाउन ) दैनिकी -३

१) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी ( लकडाउन ) को यो अत्यन्तै संवेदनशील समयमा तपाईं कहाँ हुनुहुन्छ ? अनि यतिबेलाको यो समयमा तपाईंले विशेष के गरिरहनु भएको छ ?

२) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको अन्त्यपश्चातको समयमा एकजना कवि / लेखक / साहित्यकारको रूपमा तपाईं आफैंले के गर्नुहुन्छ ? के गर्ने सोच बनाउनु भएको छ ? भन्ने सन्दर्भमा केन्द्रित रहेर स्याङ्जाली साहित्यिक अभियन्ताद्वय युवा स्रष्टा मिलन समीर र वसन्त खनालद्वारा केही स्याङ्जाली प्रतिनिधि स्रष्टाहरुसङ्ग गरिएको कुराकानी जस्ताको तस्तै :

स्याङ्जाली साहित्यकारहरु संगसंगै भईरहने भावना लिएर बसिरहेको छु ।

.

त्रिभुवन शर्मा :

युवा साहित्यकार मिलन समीर ज्यू ! लकडाउनको विषयसन्दर्भमा केन्द्रित रहेर यो संवेदनशील अवस्थामा स्याङ्जाली स्रष्टाहरूलाई मिडियामा जुटाउने प्रयास गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड – १९ को सन्त्रासले हामी पनि स्तब्ध र भयभित हुन परिरहेको छ । यो बेला म लकडाउनको पालना गर्दै पोखरामा बसिरहेको छु । पशुपतिनाथले नेपालीलाई कोरोनाबाट बचाउन् । रक्षा गरून् भनी प्रार्थना गर्दछु । साहित्यिक र सामाजिक आफू संलग्न संस्थाहरूमा जाने पनि गर्दछु । जेष्ठ नागरिक सरोकार समाज नेपाल पोखराले शान्तिघाटमा गर्दै गरेका काममा पनि सरिक छु । “ जेष्ठ नागरिक आवाज ´´ मुखपत्र प्रकाशन गर्ने काममा सम्पादकको हैसियतले काम गर्दै छु । स्याङ्जाली स्रष्टाहरूका कृतिको अध्ययन र लेखन कार्य पनि गर्दै छु । स्याङ्जा साहित्य प्रतिष्ठानको नियमित कार्यलाई पनि असर पारेको छ । बन्दाबन्दी खुल्नासाथ सञ्चालनमा ल्याउने सोँच बनाएका छौँ । मेरा पुर्व प्रकाशित लेखहरु विभिन्न पत्रिकामा छन् । छिरल्लिएका तीनलाई एकत्रित गरि प्रकाशन गर्ने र पुस्तकको रूपमा ल्याउने काम पनि अगाडि बढाएको छु । म अठहत्तर बर्षे वृद्ध ,रोगी कोरोनाबाट जोगिन सके स्याङ्जाली साहित्यकारहरु संगसंगै भईरहने भावना लिएर बसिरहेको छु ।

आधिखोला , स्याङ्जा । हाल – पोखरा

==========

पढ्ने र लेख्ने काममा नै समय बितिरहेको छ ।

.

नारायणप्रसाद रेग्मी :

यो कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा म प्रायः घरै बसिरहेको छु र सतर्कताकोलागि सन्देशमुलक होस् भनेर टुक्राटाक्री कविता लेख्ने र पोस्ट गर्ने गरेको छु । पढ्ने र लेख्ने काममा नै समय बितिरहेको छ । यो कोभिड – १९ को महामारीको कहिले अन्त्य हुन्छ , त्यो त थाहा छैन । भगवानको कृपाले र बैज्ञानिक , डाक्टरहरूको अथक प्रयासले अौषधि पत्ता लगाउन सके भने र यो महामारीको अन्त्य भएमा साहित्यकार साथीहरू र इष्टमित्रहरुसंग भेटघाट गर्ने , साहित्यको माध्यमबाट समाजमा भएगरेका कुरादेखि लिएर प्राकृतिक सन्दर्भका कुराहरुलाई समेटेर कविता लेख्ने अनि त्यसलाई प्रकाशित गर्ने सोच बनाएको छु मिलन समीर जी ! धन्यवाद !

-वालिङ , स्याङ्जा ।

==========

घरको कामसँगै साहित्यमा केन्द्रित छु ।

.

सीता ढुंगाना काफ्ले :

लामाे बन्दाबन्दी ( लकडाउन )काे विषम परिस्थितिमा घरभित्रै बसी सरकारकाे नीति निर्देशन पालना गर्दै आफ्ना निजी कामकाज गर्दै बसिरहेकि छु । घरकाे सम्पुर्ण काम एक्लै गर्नुपर्ने भएकाले भौतिक दुरीको पालना गर्दै कामहरु गरिरहेकि छु । डाडु र पनियाे , पाेछा मेराे साथी – समय मिलाई खर्च पार्छ राती , घरकाे काम सबै गरिसकेर अनि बल्ल अध्ययन गर्छु बसी । बन्दाबन्दीमा घरकाे रेखदेख , सरसफाई , अनि सामाजिक क्षेत्र पनि रुचिकाे विषय भएको हुनाले भौतिक दुरी कायम गरि राहत संकलन र वितरण गर्ने कार्यमा सहभागी हुने माैका समेत मिलाइरहेकी छु । बन्दाबन्दीमा घरमै बसि केही पुस्तक अध्ययन गर्ने माैका मिल्यो । करेसाबारीमा तरकारी उत्पादनमा सरिक हुन पाइयो । साहित्यिक साथीहरूसंग विज्ञानले भित्र्याइदिएको नयाँ प्रविधिकाे प्रयाेगबाट भरपुर मनाेरन्जन लिदै अनलाइन कार्यक्रममा सहभागी समेत हुने मेसो मिल्यो । मेराे बिचारमा अहिलेको बन्दाबन्दीले राष्ट्र र राष्ट्रियताप्रतिकाे पहिचान , मायामाेह नागरिकमा पलाए जस्ताे लाग्छ । बिदेशिएका नागरिक पनि अन्तिममा आफ्नै जन्मथलाेलाई प्याराे मानेर आखिर जन्मस्थल चाहिदाे रहेछ भन्दै आत्मैदेखि मातृभूमिकाे मायाले फर्किएकाे पनि देखियो ।त्यसकारण याे बन्दाबन्दीले अब अाफ्नै अागन सजाउनुपर्छ भन्ने चेतना जगाए जस्ताे लाग्छ । अर्काे पक्ष चाहिँ याे बन्दाबन्दीले घरेलु हिंसा बढे जस्ताे पनि लागिरहेको छ । हत्याहिंसा र बलात्कारले बाल देखि बृद्धसम्मका महिलाहरु प्रताडित भएका छन् । समान प्रकृतिको महामारीबाट विश्व त्रसित भएकाे बेला चेतनशील प्राणी मान्छे नितान्त पलायन बनी शक्तिहीन जस्तै कमजाेर भएर निरीह महसुश गरि घरभित्रै खुम्चिएर बस्नु परिरहेकाे छ । युवा शक्ति , जाेश – जाँगर त्यसै बगेकाे छ । अर्थतन्त्र भयावह डरलाग्दाे परिस्थितिमा पुगेको छ । मानवजाति निकै त्रसित बनेकाे छ । मान्छेहरुलाई घर चलाउन निकै धाैधाै परिरहेकाे छ । भविस्यका कर्णधारहरुले त्यसै सुतिरहेर अमुल्य समय खेर फालिरहेका छन् । हाम्रोसामु निकै ठुलाे चट्टान बनी खडा भएका छन् समस्याहरु । यिनै समस्यासँग जुध्दै याे विश्वभरी आएकाे महामारीकाे सामना गरि बाच र बचाउकाे बाटाे अबलम्बन गरि आफ्नाे ठाउँबाट मातृभूमिलाई सघाउन सरिक हुनुहुने छ भन्दै अर्थतन्त्रले थलिएकाे परिस्थितिमा मितव्ययीता अपनाउनुपर्ने देखिन्छ । मेरा सम्पूर्ण मित्रहरुमा पनि याे विषम परिस्थितिसँग सामना गर्ने शक्ति मिलाेस । हामी सबै सर्जकहरुकाे त्याग तपस्याबाट काेराेना भाइरसलाई देशबाटै भगाउन सफल बनाै । यही शुभकामना व्यक्त गर्दछु ।

-वालिङ , स्याङ्जा , हाल – रुपन्देही ।

==========

साहित्य जगतमा रमाउने उद्देश्यका साथ लेखनकार्यमा डुबिरहेकी छु ।

.

भगवती अर्याल पाण्डे :

समय कसैको बन्धनमा नपर्ने हुँदा आफ्नै चक्करमा निरन्तर घुमिरहदो रहेछ। यसले विभिन्न घटना परिघटना पनि साथमा नै लिएर हिड्ने रहेछ । जसले गर्दा मानवीय जीवन बेलाबखत त त्राही- त्राही समेत बन्न पुग्दो रहेछ । बाढीपहिरो , भूकम्प , हुरीबतास , अनावृष्टि , अतिवृष्टि सँगसँगै वर्तमान समयमा निम्तिएको कोभिड – १९ पनि एक बनेको छ । यसले छोटो समयमा विश्वका प्रायः सबै मुलुकलाई आक्रान्त पारेको हुनाले नेपाल अछुतो रहने त कुरै भएन । ‘ हुलमुलमा जीउ जोगाउनु , अनिकालमा विउ जोगाउनु ‘ भनेझैँ अत्यन्तै भयावह बन्दै फैलिएको उक्त कोरोना भाइरसबाट उन्मुक्ति पाउनका निम्ति आ- आफ्नो स्थानबाट हरेकले प्रयत्न गर्नु आजको आवश्यकता हो । त्यसैले आफ्नो बुद्धि- विवेक , सोचविचार एवंम् परिश्रमपूर्ण तरिकाबाट सङ्घर्ष गरियो भने अवश्य यसबाट मुक्ति मिल्ने छ । हामीसँग रहेका बेसार , नुन , टिम्मुर , गुर्जो , तुलसी , निम , ज्वानो , जाइफल , बोझो ,अदुवा आदिलाई आवश्यकता अनुसार प्रयोग गर्दै तातोपानी , नुनपानी , बेसारपानी… यस्तैयस्तै घरेलु औषधिको सहायताबाट जीवन रक्षा गर्नु परेको छ । साउती मारेर गरिने गफलाई टुङ्ग्याएर दूरी कायम गर्नु , हात मिलाएर हृदय साटासाट गर्नुका सट्टा नमस्कार गर्नु , खुल्ला नाक – मुखलाई माक्सले ढाक्नु , आत्मबल बढाउनु नै कोरोना भाइरसबाट बच्ने उपाय हो । मनलाई आनन्द राख्नु ‘ सन्तोषम् परम् सुखम ‘ नै आज अपनाउनु पर्ने मूलमन्त्र हो । साहित्य – सिर्जनाले त झन् मनलाई सन्तोषको शिखरमा पुर्याइदिन्छ । उत्साह , साहस , हिम्मतकासाथ सङ्घर्ष गरियो भने जीवनमा सफलता अवश्य मिल्दछ । वर्तमान समयमा सरकारी तवरबाट अपनाइएको लकडाउन , निषेध- आज्ञा , शिलडाउनलाई हामी सबैले स्वीकार्नु पर्छ । वास्तवमा स्वतन्त्र जीवनमाथिको यो कालो बादल लागेका बखत म आफ्ना परिवारकासाथ चितवन जिल्ला अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. – १९ , शारदानगर टाउनमा रहेर आफ्ना दैनिक क्रियाकलाप गरिरहेकी छु । सकेसम्म बचेको समय सदुपयोग गर्ने , आन्दोलित हृदयलाई शक्ति प्रदान गर्ने महत्त्पूर्ण माध्यम साहित्य बनेको छ । त्यसैले यस समयमा ‘ थाइल्याण्डको वृत्तचित्र ‘ यात्रासंस्मरण लेखन कार्य समापन गरेँ । उक्त कृतिको प्रकाशन तथा वितरणको जिम्मा संस्थागत विद्यालय समन्वय बोर्ड ( Institutional schools co-ordination Board – ISCOB ) पश्चिम चितवनले लिएर यसै संस्थाको नवौँ साधारण सभा २०७७ श्रावण २४ गतेका दिन मलाई सम्मान समेत गरि साहित्यिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । उक्त संस्था एवं आयोजक समितिप्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु । त्यस्तै लकडाउन पश्चात् छन्दोबद्ध कविता सङ्ग्रह तथा बाबाको स्मृतिमा लेखिएको शोककाव्य प्रकाशित गरेर साहित्य जगतमा रमाउने उद्देश्यका साथ लेखनकार्यमा डुबिरहेकी छु । आफ्ना इच्छाहरू यसरी पोख्न पाउने सु – अवसर प्रदान गर्नुहुने सहृदयी सिर्जनशील युवा साहित्यकार मिलन समीर भाइलाई हृदयदेखि नै हार्दिक कृतज्ञता अर्पण गर्दछु । जय साहित्य !

-गल्याङ , स्याङ्जा , हाल – चितवन ।

==========

लकडाउनलाई सकेसम्म सिर्जनशील बनाउने कोसिस जारी छ ।

.

राजकुमार बगर :

म यतिबेला काठमाडौंमा नै छु । राज्यले लागू गरेको लकडाउन पुर्ण रूपमा पालना गरिरहेको छु । कोरोनाबाट आफू जोगिए परिवार जोगिन्छ । परिवार जोगिए समाज र समाज जोगिए देश जोगिन्छ भनेर एकदम सतर्क छु तर त्रसित हैन । यो लकडाउनलाई सकेसम्म सिर्जनशील बनाउने कोसिस जारी छ । विशेष गरेर साहित्य र संगीत सिर्जनामै लकडाउनको समय बिताईरहेको छु । कोरोनासँग त्रसित हैन सतर्क भएर यो अघोषित विश्वयुद्ध लड्नको लागि गीत , गजल , मुक्तकबाट आफूले जानेको कुरा सेयर गरिरहेको छु । लकडाउनपछि यो समयमा गरिएका सिर्जनाहरू दर्शक – श्रोता सामु पस्कने योजना बनाइरहेको छु । पहिला जस्तै हजुरहरूको माया , आशिर्वाद , साथ र सहयोग पाउनेछु भन्ने आशा गर्दछु । धन्यवाद ! -हरिनास , स्याङ्जा ।

==========

साहित्यमा डुव्दै यो माहामारी छिटो अन्त्य होस् भन्ने कामना गरिरेहको छु ।

.

डोलराज डुम्रे विकल्प :

विश्वव्यापी रूपमा फैलिएको कोभिड – १९ अर्थात कोरोना भाइरस मानव इतिहासकै एक भयानक प्राकृतिक दुर्घटना हो । यसले सिङ्गो मानव आस्तित्व नै संकटमा परेको छ । यसले यतिखेर विश्वलाई नै अकल्पनीय क्षति पुर्याइरहेको तथ्य जगजाहेर छ । यो अकल्पनीय घटनाको वातावरणले मलाई घरीघरी के यो सपना त होइन भनेर झस्काई रहेको हुन्छ तर यो आकस्मिक घटनालाई मुटु दर्हो पारेर स्विकार्नुको विकल्प छैन । यो परिप्रेक्ष्यमा आफ्नो अनुभुति राख्ने अवसर प्रदान गर्नु भएकोमा सहृदयी सिर्जनशील युवा साहित्यकार तथा मेरा प्रिय मित्र मिलन समीर तपाईंप्रति हार्दिक आभार प्रकट गर्दछु । गत चैत्र ११ गतेदेखि मुलुक लकडाउनमा छ । म पेशाले शिक्षक भएकालेे ती कलिला मन मस्तिष्कको बीचमा रमाउने कर्मशील दिनचर्या अति कठिन भएको छ । आखिर प्रतिकुल समयसङ्ग सौदावाजी गर्नैपर्ने , म पनि यो लामो समयमा आफ्नै कृषिकर्ममा व्यस्त रहेर समयको सदुपयोग गरिरहेको छु । फुर्सदमा केही गजल , गीत , मुक्तक जस्ता फुट्कर रचना गरेको छु । पुर्वीय अध्यात्मदर्शनको गहन अध्ययन गरिसकेपछिको अवस्थामा मेरो बिज्ञानप्रतिको एकोहोरो आस्था ध्वस्त भएको छ । हाम्रा पुर्खाहरुले आर्जन गरेको पुर्वीय हिन्दू दर्शनको छत्रछायामा बाकी जीवन अगाडि बढाउने प्रण गरेको छु । लगातारको योग र प्राणायामले मेरो दीर्घरोग एलर्जीक दम पुर्ण रूपमा निर्मुल भएको छ । यो कोरोना भाइरसले जनजीवन लथालिङ्ग पारेको भए तापनि मान्छेलाई कर्मको पाठ भने राम्रोसँग सिकाएको छ । गाउँका बाझै रहेका खेत बारी खनजोत भएका छन् । जतिसुकै फुर्ति लगाए पनि मान्छे यतिबेला आफ्नो धरातलमा आएका छन् । म पनि त्यही धरातलमा उभिएको छु । बारीमा अर्गानिक तरकारी फलेका छन् । सुन्तलाहरु लटरम्म फलेका छन् तर सलहको डर पनि उत्तिकै बढेको छ । हरेक कृषकका लागि यो पनि कोभिड – १९ भन्दा भयानक बनेको छ । ईश्वरसग प्रार्थना गरौं त्यसो नहोस् । लामो समयदेखिको लकडाउन बोझिलो बन्दै गएको छ । मलाई कहिले विद्यालय खुल्ला र विद्यार्थीको बीचमा पुगौला जस्तो भएको छ । आजको युग बिज्ञान र प्रविधिको युग हो । सूचना र सञ्चारको युग हो भने पनि अनलाइन शिक्षणको हल्ला चले पनि ईन्टरनेटको पहुँचमा नभएकोले म मात्र होइन मेरा विद्यार्थी पनि अन्योलमा छन् । तसर्थ मलाई पनि मन पाकेर बस्नु र सुनिएर मोटाउनु एकै जस्तो अनुभुती भएको छ । यो समयमा मैले धेरै पुस्तक पढ्नुभन्दा पनि प्रकृतिको काखमा एकाग्र भएको छु । मान्छे जन्मदै रोएर जन्मन्छ । किनभने मान्छे जन्मदै अपार दु:ख लिएर आएको हुन्छ । तसर्थ हरेक दु:खसङ्ग लड्नु मान्छेको जन्मजात धर्म हो । कोभिड – १९ को यो महामारीको सामना गर्नु पनि मानव जगतको परम धर्म हो । कर्तव्य हो । त्यसैले त्यही सत्यलाई स्विकार्दै यही सन्दर्भमा आख्यानतर्फ बढी रुचि भएको हुनाले एउटा आख्यान लेखिरहेको छु र यो रोग , शोक र सन्तापले भरिएको महामारी छिटोभन्दा छिटो अन्त्य होस् भन्ने कामना गरेर बसिरहेको छु । धन्यवाद !

वालिङ , स्याङ्जा ।

Facebook Comments

अन्तिम अपडेट: २३ भाद्र २०७७, मंगलवार ११:२२





-->