कठै ! अवोध परमात्माहरु

स्वामी देव रोशन :

यी सुन्दर, मनोरम, आश्चर्यजनक प्राकृतिक वातावरण र यहाँको गतिविधी, कृयाकलाप अनि जनजिवनलाई देखेर कहिले आनन्द र प्रफुल्ल हुदै समाहाल्न नसकिएर मन बहकिएर, छचल्किएर आउँछ । त कहिले निरासै निराश एक शव्द पनि लेख्न, बोल्न र सुन्न पनि मन नलागेर आउँछ । यसै यसै यी पाइलाहरुले जहाँ तहाँ पुर्याउलान त्यही त्यही लखर-लखर भौतारी रहन मन लागी रहन्छ निरन्तर यी सुन्दर वातावरणमा, यी उजाड मनहरु ।

मनलाई सम्हालेर यो सेरोफेरो नियाली रहन मन लाउँछ । यो चिराचिरा भुगोल, यो खण्ड-खण्ड इतिहासहरु, उतारचढाव राजनैतिक गतिविधीहरु, मनलाई टुक्राउने धर्म संस्कार, आ-आफ्नै ढंगका परम्परा रितिरिवाज चालचलनहरु, विकृत सामाजिक जनजिवन, बोली व्यवहार, विश्वास, कानुनी मान्यताहरु, शिक्षा अनि मेरा जिवनका उकाली, ओराली, आरोह अवरोहका विषयहरुमा मन भरी शब्दहरु उफ्रि रहन्छन । यीनीहरुलाई एक एक द्रष्टा भावले साक्षी रहन मन लाग्छ ।

दन्त्य कथाबाट सुनेको, भगवानले यो सुन्दर सृष्टिको सृजना गर्नुभयो । सबै सजिव र निर्जिवहरुको पनि सृजना गर्नुभयो । अन्तिममा सबैभन्दा बुदिमानी प्राणी मनुष्यको पनि सृजना गर्नुभयो । बुदिमानी प्राणी भएकोले मानिसले भगवान सगं हरेक कुरा मागेर, सोधेर हैरान गरीसकेपछी लुक्ने हराउने विचार गर्नु भएछ । लुक्दा पनि खोजी क्यारी देखी हाल्ने धेरै नै सताएछन । काललाई समेत रुखका प्वालमा थुनिदिएछन । भगवान हैरान भएपछि मान्छेको मनभित्रै आत्माभित्र लुक्नुभएछ । यो कुरा भगवान श्री कृष्ण देखी बुद, मोहम्मद र क्राइस्ट समेतले बताउनु भएको छ । त्यस्तै विभिन्न धार्मिक नेताहरु र महाकवि लक्ष्मी प्रसाद देवकोटा सम्मका सबै अन्तर्यामीहरुले परमात्मा हरेक मानिसका आत्माभित्र रहनु हुन्छ भनेर बताउनु भएको छ ।

यसरी सात अर्व भन्दा बढी परमात्माहरुको जन्म आफ्ना ममतायी माता र पिताको कोषहरुको मिलनबाट भएको छ । ति अवोध परमात्माहरु विभिन्न धर्म, सम्प्रदाय, जातजाती, भाषाभाषी, आस्था र विचार भएका माताका गर्भमा रहदा उ स्वतन्त्र, स्वच्छ, निष्पक्ष र निष्कलङ्क रहन्छ । आफ्नो अवधी पुरा भएपछि ती अवोध परमात्माहरुको जन्म हुन्छ र दुई वर्षको उमेरसम्म उसमा कुनै खोट रहदैन । गर्भमा रहेजस्तै स्वतन्त्र, स्वच्छ, निष्पक्ष र निष्कलङ्क रहन्छ । आफ्ना गुरु, बाबुआमा, अग्रज समाजबाट विश्वास बोकेका आज्ञापालन र अनुशासन नै आफ्नो गहना सम्झेका समाजका अग्रज, गुरु, बाबुआमाबाट भर्खर तोतेबोली सिकेका कठै अवोध परमात्माहरुका कलिलो खाली मष्तिष्कमा भए नभएका अप्रमाणित प्रयोगविहिन आस्था, विश्वास थोपारी दिन्छन । अव ती परमात्माले आफ्नो जुनिभर अरु कुराहरु पनि सिक्ने अवसर, मौका पाउँदैन । सिक्न पनि चाहादैनन ।

विश्वका जुनसुकै धर्म सम्प्रदायमा जन्मेका परमात्मा हुन उनीहरुले आफ्नै धर्म सम्प्रदाय बाहेक अन्य धर्म सम्प्रदायका धार्मिक पुस्तकहरु पढ्न हुदैन । अरु धर्मले पुजा गर्ने मुर्तीहरु पुजा गर्नु हुदैन । अरु धर्मका मानिसले गर्ने व्यवहार केही पनि गर्न हुदैन । गर्यो भने पाप हुन्छ, नरकमा गइन्छ भनेर आफ्नै धर्म सम्प्रदायका धार्मीक पुस्तकहरुको अध्ययन गर्छन । त्यस्तै व्यवहार गर्छन । आफ्नै धार्मिक स्थलहरुमा मात्रै जान्छन । आफ्नै धर्म सम्प्रदाय बाहेक अन्य धर्म सम्प्रदायमा के छ ? बुझ्ने मौका पनि हुदैन र मौका पनि दिइन्न । जसले गर्दा वेद र गीतामा लेखीएका ज्ञान अमृतका कुरा हिन्दु बाहेकका धर्म सम्प्रदायमा जन्मेका परमात्माहरुलाई थाहा हुन सकेन ।  त्यस्तै कुरानमा, बाइबलमा, त्रिपिटकमा के छ ? कन्फ्युसियस, ओशो, ताओ, झेनले के भनेका छन ?  यसको अध्ययन गर्न नहुने सांघुरो सोचमा रहन चाहनेहरुलाई के थाहा हुन सक्छ र ? एक धर्मले अर्को धर्मका बारेमा कहिल्यै बुझ्न नसक्ने भए । अरु ग्रन्थहरु पढ्न किन नहुने ? अन्य धार्मीक स्थलहरुमा गएर पुजा प्राथना गर्न किन नहुने ?  यदि पढ्यो वा पुजा स्थलमा गयो भने के हुने हो ? अन्यौलमा रहदै जिन्दगी विताइरहेका हुन्छन हाम्रा धेरै परमात्माहरु ।

धर्मका नाममा आएका विचारहरुले सङ्घर्षले मानिसको चित्तलाई सधै रक्तपात, क्रोध, हिंसा र घृणाले भरिदिए । धर्मले सम्पुर्ण मानव-मानव विचमा प्रेम जगाउनुपर्छ, सबैलाई समेट्न सक्नुपर्छ, धर्मलाई अनुभुती गर्न पाउनुपर्छ । धर्म प्राप्ती गर्नलाई मानिसले ध्यान साधना गर्नुपर्दछ ।

हाम्रा अग्रज र समाजले आफ्ना आमाबाबु, गुरुहरुले भनेका कुराहरुमा विश्वास गर्नुभयो, आज्ञापालन गर्न, अनुशासन रहन सिक्नुभयो । र आफुले जे सिक्यो आफ्ना सन्तान, शिष्यहरुमा त्यही सिकाउनु भयो । ति साना अवोध परमात्माहरुमा विचारको जागरण हुनु भन्दा अघि नै विश्वासको विउ रोपिदिनु भयो । आज हाम्रो धर्म, सम्प्रदाय, समाज, बाबुआमा, अग्रजहरुले हाम्रो विचारको जागरण हुन नपाउदै हाम्रो काँचो माटो सरहको दिमागमा धर्महरु विचको भिन्नता सिकाउनु भयो । त्यस्तै महिला र पुरुषविचको भिन्नता, विभिन्न जातजातिहरुविचको भिन्नता सिकाउनु भयो ।

क्षेत्रिय भिन्नता, धनि गरिब विचको भिन्नता संगसगै विभेदको प्रक्रिया सिकाउनु भयो । किन, कसरी, के ठीक, के बेठिक, यसलाई जाच्ने, बुझ्ने, प्रमाणित गर्ने, प्रयोग गर्ने, अनुसन्धान गर्ने तिर नलागी ति अवोध परमात्माहरु आफ्ना समाजका अग्रजहरुको पक्षमा अन्धाधुन्दा दौडिरहेका छन । कठै ! परमात्माहरु उनीहरुको दोष पटक्कै छैन । म दोष देख्दिन । दोष केवल समाजका ति अग्रजहरु जसले काँचो माटोको अवस्था देखी नै उनिहररुलाई दिएको ज्ञान, विश्वास, आजका परमात्माहरुमा थोपारिदिने हाम्रा पुरानो प्रणाली र प्रक्रियाहरु नै हुन । अब हामीले नयाँ सन्ततीहरुलाई यी प्रणाली र प्रक्रिया दोहोरिन दिनु हुदैन । यस्ता प्रक्रिया नदोहोरिनका लागी उनिहरुको विचार गर्ने शक्तिलाई जागृत गर्नुपर्छ । नयाँ नयाँ सोचँ विचार गर्न लगाउनु पर्छ । विचार गर्न सक्ने शक्तिको पुर्ण विकासले मात्रै उनिहरुलाई सत्यको बाटोमा हिडाउन, सत्यको उद्घाटन गर्न सक्षम बनाउछ ।

समाजमा अझैपनि महिलाहरु माथी दुर्व्यावहार भैरहेको छ । जातिय भेदभाव कम भएकै छैनन केवल प्रयासहरु मात्रै भएका छन । महिलाहरु माथि दुर्व्यावहार हुदाँ उनीहरु पिडित हुदाँ त्यसको विरुदमा आवाज उठाउने महिलाहरु मात्रै देखिन्छन । दलितहरु अपमानित हुदाँ उनीहरु मारिदा दलितहरु मात्रै आवाज उठाउछन । हिमाली, पहाडी, मधेशी अपमानित हुदाँ उनिहरुका आवाज उनीहरु मात्रै उठाउनु पर्ने उनिहरुका आवाज अरुले बोल्न नहुने ? हाम्रो समाजका अग्रजहरुले हाम्रो जागरण हुन नसकेको काँचो मस्तिष्कमा अरु कुरा सोच्न विचार गर्न, मनन गर्न, सत्य असत्य छुट्याउन नै नसक्ने गरी हाम्रा परम्परा रितिरिवाज मुल्यमान्यताले भरिदिनु भएको छ । हाम्रा परमात्माहरुको मस्तिष्कहरु यिनै कुराहरुले भरिएका छन । त्यसैले हामीलाई कसैले केही सम्झाउन, नयाँ विचारहरु प्रस्तुत गर्न खोज्यो अनि साहित्य लेख रचना पढ्न सुझाव दियो भने मुन्टो बटार्छौ । परमात्माहरुले कतै अन्याय भएको देखेर आवाज उठाउने घृष्टता गरे भने वा कुनै व्यक्तिले पुराना पुस्ताका मानिसहरुको सामुहिक षडयन्त्रबाट जोगिएर आफ्ना आँखा खोल्ने प्रयास गर्यो भने सुकरात र क्राइस्टलाई जे गरियो उसलाई पनि त्यही गरिन्छ । कठै ! अवोध परमात्माहरु । (शिक्षक, गंगालाल मा.वि., स्याङ्जा)

Facebook Comments Box
TOP