काेभिड अवधिका रिपाेर्टरकाे डायरी– परिवारलाई सम्झाउनुको विकल्प छैन

 १५ असार २०७७, सोमबार २०:१६   | बिचार /लेख

काेभिड अवधिका रिपाेर्टरकाे डायरी– परिवारलाई सम्झाउनुको विकल्प छैन

हिमाल पराजुली, स्याङ्जा :

कोरोना भाइरसले विश्वलाई हायलकायल बनाउन थालेपछि जो कसैलाई यसको प्रभावले छुने नै भयो । कुनै विशेष स्थल र घटनामा पत्रकारको पास देखाएर अघिअघि कुद्ने हामी पत्रकारहरु कोभिड –१९ को असरले कसरी गाँज्ने हो भन्ने अन्योलमा शुुरुदेखि नै परेका थियौँ ।

अत्तालिएर समाचारकर्म छाड्ने कुरा पनि भएन । हामीले त जनतालाई यसविरुद्ध जुध्न सचेतना र सही सूचना समयमा प्रवाह गर्नुपर्ने दायित्व बोकेकाले यो जिम्मेवारीबाट हामी मुक्त हुन पनि सक्दैनौँ । नेपाल सरकारले कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गरेपछि शुरुमा त कहाँ जाने, कहाँ नजाने, कसरी जाने, कसरी सूचना सङ्कलन र समाचार सम्प्रेषण गर्ने भन्ने दोधार मनभित्र चल्यो ।

यो अरुबेला जस्तो सहज अवस्था अवश्य थिएन । यही दोधारका बीच जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर रिपोर्टिङ गर्न थालियो । जिल्लामा कोरोनाको सम्भावित जोखिम र सबै स्थानीय तहमा तयारीको अवस्थाबारे समाचार सङ्कलन गर्ने सोचअनुसार त्यहीँबाट बन्दान्दीको समाचार सङ्कलन आरम्भ गरेँ ।

“पत्रकारितामा समाजप्रतिको जिम्मेवारी र सकारात्मकता” हुनुपर्छ भन्ने लागेर मैले यो बन्दाबन्दीलाई सकारात्मक ऊर्जा भर्ने एउटा अवसरका रुपमा लिई यसबीचमा गाउँगाउँ पुगेर हेर्दा सामान्य लाग्ने तर अरुलाई पनि ऊर्जा थप्न सक्ने खालका विषयवस्तुतर्फ चासो बढाएँ ।

त्यही गाउँका कुनाकुन्दरामा गरिएका काम मेरो डायरी र कलममा उनिँदै जान थाले । राज्यको समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) मा जिल्लाबाट समाचार सङ्कलन गर्नाको अवसर, चुनौती र जोखिम पनि हो भन्ने ठानेर मैले हरेक दिन समाचार सङ्कलन र सम्प्रेषणको कामलाई बन्दाबन्दीमा विराम लगाइन ।

मेरो प्राथमिकता, रोजाइ, गाउँको भोगाइ र लेखाइमा डेस्क र मेरो बुझाइ समान नहुन सक्छ तर अधिकांश विषयवस्तुले राससमा स्थान पाइरहे । अनेक अनलाइन र सञ्चारमाध्यमले ती समाचारलाई शीर्षक र आवश्यकतानुसार थपघट गरी स्रोत उल्लेख गरेर र नगरेर पाठकसमक्ष लगिरहे ।

यो पनि पड्नुहोस..  छठ पर्व : पहिलो दिन "नहाय खाय"

यस्तो विषम परिस्थितिमा यसरी समाचारको यात्रा अविराम हुँदा आफ्ना व्यक्तिगत समस्या र दुःख पनि एक प्रकारले शान्त हुने रहेछ । बन्दाबन्दीमा परेपछि गाउँ छाडेर शहर पसेका अनि भविष्यको उज्ज्वल सपना बोकेर पढाइका लागि शहरमा बसेका सबै युवाका साथै व्यापार व्यवसाय गर्दै आएकाहरु गाउँ फर्किए ।

गाउँ फर्किएका युवालाई सकरात्मक प्रेरणा मिलोस् भनेर तिनले गरेका कर्मलाई समाचारका मुख्य विषयवस्तु बनाएर सकारात्मक सन्देश दिने खालका रिपोर्टिङ गरेँ, थोरै भए पनि केही उत्साह थप्यो । गाउँ फर्केका युवाले बाँझो जमीनमा खेती लगाउन शुुरु गरेका अनि डोकाथुन्से बुन्नाका साथै दूरी कायम राखेर गाउँको विकासनिर्माणका काममा जुटेका समचार देशैभरका पत्रकारका लागि नयाँ विषय बन्न पुगे ।

यसले मेरो पत्रकारिताप्रतिको सकारात्मक मान्यतालााई अझ स्थापित गरेको अनुभूति भयो । कहिलेकाहीँ मनमा लाग्ने गर्छ, पर्याप्त आम्दानी नहुने तर दुःख धेरै गर्नुपर्ने यो पत्रकारिता पेशाबाट पलायन होऔँ तर यस्तै विषम परिस्थितिमा जनताका सुखदुःखको साथी भएर उनीहरुको खबर पाठकमाझ फैलाउँदा त्यस्तो पलायन हुने सोच हराई आनन्द प्राप्त भएको महसुस हुन्छ ।

जिल्लामा जब पहिलोपटक छिमेकी भारतबाट आएर क्वारेन्टिनमा बसेका तीन पुरुषमा कोरोना पोजेटिभ देखियो भनेर लेख्नुपर्ने अवस्थामा आइपुग्यो, त्यसपछि हात लर्बरिने स्थिति आयो । बजार र गाउँगाउँमा पुगेर फर्कँदा कतै आफैँलाई त सङ्क्रमण भएको छैन ? मैले घर परिवारलाई त सारिन भन्ने प्रश्न उब्जिन्थ्यो तर पति मनलाई बलियो बनाएँ ।

परिवारलाई पनि पत्रकारिता पेशाबारेको जिम्मेवारी बताएर सम्झाएँ । आफ्नै जिल्लामा भारतबाट आएका व्यक्तिमा संक्रमणको पुष्टि भएपछि परिवारमा चिन्ता यसरी बढेको थियो कि मैले सम्झाएर मात्रै पुग्ने स्थिति थिएन, सम्झाउनाको विकल्प पनि थिएन ।

मनभित्र त्रास भए पनि परिवारलाई केही हुन्न भनेर सम्झाउन छाडिन । म परिवारलाई सकेसम्म सम्झाउने कोशिश गर्थेँ । श्रीमती भन्थिन्, “घरमै बसेर काम गरे हुन्न र ? यस्तो अवस्थामा बाहिर नजानू ।” म भन्थेँ, “यसरी आत्तिनु पर्दैन । मैले सावधानी अपनाएको छु ।”

यो पनि पड्नुहोस..  नक्कली नागरिकता मुद्धामा धरौटीमा छुटेका शंकर, किर्ते राहदानी मुद्धामा फेरी पक्राउ

हरेक दिनजसो यसरी नै सम्झाउँदै म आफ्नो काममा निस्कने गरेको छु । म घरबाट निस्किएसंँगै सानी छोरीको “बाबा छिटो घर आउनू” भन्ने तारन्तारको फोनले एउटा पत्रकारको परिवारलाई कतिसम्म असर परेको छ भन्ने सहजै बुझ्न सकिन्छ ।

यस्तै असहज अवस्था र जोखिमपूर्ण समयमा झनै बढी खटिनुपर्ने भएकाले आफूभित्रको सन्त्रास र पीडालाई भित्रभत्रै दबाएर परिवारमा सकेसम्म उत्साह भर्नुपर्ने रहेछ ।

गाउँमा रहनुभएका बाबाआमा र आफन्तबाट यस्तो बेलामा बाहिर नहिँड्नू भन्दै आइरहने फोनमा आफू बाहिर नगएको र घरमै भएको भनेर यथार्थ लुकाएर भए पनि पत्रकारिताको स्थलगत रिपोर्टिङको काममा निरन्तर काममा लागिरहनुपर्ने रहेछ । पत्रकारिता क्षेत्रमा लागेका हामी श्रमजीवीको कोभिड –१९ ले ल्याएको बाध्यता हो यो ।

पछिल्लो समय जिल्लामा क्वारेन्टिनमा सरसफाइ गर्ने कर्मचारी, एम्बुलेन्स चालक र व्यापारीमा पनि कोरोना संक्रमणको पुष्टि भएपछि थप त्रास उत्पन्न भएको छ । यस असहज अवस्थामा सकेसम्म घरबाटै र अत्यावश्यक परेको अवस्थामा बाहेक बाहिर नगएर घरबाटै समन्वय गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

जिल्लाका स्थानीय तह र प्रशासनलगायतसँग गर्नुपर्ने छुट्टाछुट्टै समन्यव र स्थलमा हिँड्नु पर्दा घरपरिवारमा सिर्जना हुने त्रासले केही समस्या भए पनि सूचनालाई निरन्तर रुपमा प्रवाह गर्ने कार्यमा मैले कुनै पनि कमी आएको दिएको छैन । स्वास्थ्य सुरक्षाप्रति सतर्क रहँदै सञ्चारमाध्यमबाट अरुलाई पनि सचेत बनाउने अभियान चलिरहेकै छ र चलिरहने छ ।(रासस)

Facebook Comments

अन्तिम अपडेट: १५ असार २०७७, सोमबार २०:१६





-->