‘हाम्रो जीवनशैलीमा परिवर्तनको खाँचो छ’

pratibha regmi

प्रतिभा रेग्मी अर्याल :

अबको हाम्रो भविष्य कोरोनासँगैको भविष्य हो । हामीले बन्दाबन्दी (Lockdown) को अन्तिम दिनको प्रतीक्षा नगरौं । सरकारले एउटा निश्चित समयसम्म मात्र बन्दाबन्दी राख्न सक्छ । विस्तारै विस्तारै यो बन्दाबन्दी सकिन्छ । सरकारले पनि त्यति धेरै कडा रुपले लिने छैन । किनकी अहिलेसम्म सरकारले कोरोना रोगको बारेमा राम्रो जानकारी र सतर्कताका उपायहरु दिईसक्यो जस्तै सामाजिक दूरी राख्ने, सरसफाईमा ध्यान दिने, मास्क लगाउने जस्ता कुराहरु सबै सम्झाईसक्यो ।

कोरोना भाईरसको शिकार भईसकेपछिको अवस्था पनि हामीले संसारका सबै ठाउँहरुमा देखिसकेका छौं । अव हामी मध्ये जो कोही पनि समझ्दार छौं भने अगाडि आउने लामो समय सम्मको हाम्रो दैनिक जीवनलाई बुझ्न आवश्यक छ ।

सरकारले २४ घण्टा ३६५ दिन हाम्रो रेखदेख गर्न सक्दैन । हामी र हाम्रो परिवारको भविष्य हाम्रो आफ्नै हातमा छ । बन्दाबन्दी खुलेपछि पनि हामी विचार गरेर मात्र घरबाट बाहिर निस्कनुपर्ने हुन्छ, काममा जाऔं, एकदमै सावधान रहेर आफ्नो काम गरौं । के लाग्छ तपाईंलाई बन्दाबन्दी सकिएपछि एकाएक कोरोना भाग्छ ? हामी एककाएक पहिले जस्तै जीवनशैलीमा आउन सक्छौं ? होईन यो कदापि हुन सक्दैन ।

यो कोरोना भाईरसले हाम्रो पूरै संसारको कुना कुनामा जरा गाडिसकेको छ । अब हामीलाई यो कोरोना भाईरससँगै लड्दै लड्दै जीउन सिक्नुपर्छ । तर कसरी लड्दै जिउने ? प्रकृतिबाट टाढिएर कृत्रिम बन्दै गएको हाम्रो जीवनशैलीलाई परिवर्तन गरेर । आफ्नो शरीरको रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) लाई अझ बलियो बनाएर ।

प्रकृतिलाई हामीले केही पनि माया मानेनौं, प्रकृतिप्रति हामी संवेदनशील हुन सकेनौं । वनजङ्गल मासिँदै गयो, मानव जीवनमा जङ्गली जनावरहरुसँगको सम्पर्क बढ्न थाल्यो, अनि हामीले तिनै पशुपंक्षी जनावरहरुलाई स्वादिलो मानेर खान थाल्यौं, हाम्रो खानामा पशुपंक्षी तथा जनावरहरुबाट विभिन्न परिकार थपिँदै गयो, जसको परिणाम अहिले संसारले भोगिरहेको छ ।

यस्ता भाईरसहरु त लाखौं छन् पृथ्वीमा, तर कुन भाईरस कतिबेला मानव शरीरमा प्रवेश गर्छ र हानीकारक बन्छ भन्ने कुरा हामीलाई थाहै हुँदैन । त्यसैले अब हामीले सयौं/हजारौं बर्ष पहिलेदेखि चल्दैआएको पूरानो जीवनशैली वा खानपानलाई अपनाउनुपर्ने हुन्छ । सबैभदा पहिले शुद्ध र शाकाहारी खाना खान प्रेरित होऔं । शुद्ध मसला प्रयोग गरौं, अमला, घ्युकुमारी, मरिच, टिमुर ल्वाङ, दालचिनी, अदुवा, बेसार, लसुन इत्यादि औषधीय गुणभएका र मसलाजन्य कुराहरुलाई हाम्रो खानाको परिकारमा उचित तरिकाबाट मिलाएर खाने गरौं ।

प्राकृतिक जडिबुटीजन्य वस्तुमा निर्भर रहेर अनेक किसिमका एन्टिवायोटिकहरुबाट बचौं । हामीले खाने खानामा पौष्टिक तत्वको मात्रालाई बढाउनुपर्ने हुन्छ । फाष्टफुड, पिज्जा, बर्गर, मःमः, चाउमीन तथा कोल्डड्रिंक्स जस्ता वस्तुहरुलाई बिर्सेको धेरै राम्रो । अब हामीले प्रयोग गर्ने भाँडाकुडालाई बदल्नुपर्ने हुन्छ । अल्मुनियम, स्टील, प्लाष्टिक जस्ता भाँडाकुडालाई अव प्रयोगमा नराखौं । अब हामीले गह्रौं भाँडाकुडा जस्तै पित्तल, काँस, तामा तथा माटोबाट बनेका भाँडाकुँडाको प्रयोग गर्नुपर्ने हुन्छ जसले प्राकृतिक रुपबाट अनेक भाईरसलाई नष्ट गर्छ ।

अब हाम्रो खानामा हामीले दूध, दही, घ्युको मात्रा बढाउनुपर्ने हुन्छ । बिर्सौं ती खानेकुराहरु जसलाई हामी जीब्रोको स्वादका लागि मात्र खाने गथ्र्यौं । कमसेकम आउँदो १–२ बर्षसम्म त हामीले यो गर्नै पर्छ । सकेसम्म कृषिकर्ममा लागौं, शहरीया जीवनशैली रहेकाहरुले योग अभ्यास तथा ध्यान आदिलाई अनिवार्य बनाऔं । तब मात्र हामी यो कोरोनासँग लड्दै बाँच्न सक्छौं ।

यी कुराहरुलाई हल्का रुपमा लिँदा कोरोना लगायतका विभिन्न भाईरस तथा बिषाणुहरुबाट हामी सँधै त्रसित हुनुपर्ने हुन्छ । समझ्दार र व्यवहारिक बनौं, चनाखो रहौं, हाम्रो जीवन हाम्रै हातमा छ ।

(लेखक, मदनपोखरा पाल्पा निवासी, हाल दिल्लीमा स्टाफ नर्स हुनुहुन्छ ।)

Facebook Comments Box
TOP