‘देवत्वकरण’

खुमकान्त अर्याल :

विभिन्न धर्मको सिद्दान्त अनुसार देवता भनेको प्रकृति भन्दा पर रहेको अभौतिक दैवी शक्तिको प्रतिनिधि दिव्य पुरुष पात्रलाई वुझिन्छ, तेस्तै स्त्री पात्रलाई देवी भनिन्छ । देवी देवताहरुले मानिसलाई आवश्यक पर्ने धनसम्पत्ति पद प्रतिष्ठा ज्ञान आयु आरोग्य भाग्य दिन सक्ने विश्वास गरिन्छ तसर्थ आस्थावान भक्तहरुले उनीहरुको पुजा आराधना व्रत तप गर्ने गर्दछन् । वावु आमा गुरुलाई र सदाचारी परेपकार गर्ने व्यक्तिहरुलाई पनि देवताकै रुपमा मान सम्मान गर्ने हाम्रो प्रचलन रहीआएको छ । प्रचीन समयमा राजा, मठाधीश पोप तथा धर्मगुरुहरुलाइ पनि भगवानको प्रतिनिधि भएको विश्वास गरिन्थ्यो । राजालाई भगवान विष्णुको रुपमा मान्ने चलन हामीकंँहा सकृय राजतन्त्रको अन्त्यको समय सम्म पनि थियो । पद, प्रतिष्ठा र धनसम्पत्ति आर्जन गर्ने अवसर प्राप्तिका लागि राजा वा शासकलाई देवतालाई जस्तै स्तुति गानगरी अवसर लिने वर्ग हुन्थ्यो एकथरी । सर्वसाधारण जनताहरु भने राज्यवाट केही नपाउदा पनि शासक वर्गको स्तुतीगान गर्न वाध्य हुन्थे ।

निरास र असहाय अवस्थामा कसैले मद्दत गरे भने मद्दत गर्नेलाई देवता जस्तै मानेर प्रशँसा गर्नुलाई देवत्वकरण भनिन्छ भने स्वार्थ शिद्दिका लागि कुनै शासक वा राजनैतिक व्यक्तिको गुणगान चलाउने कार्यलाई पनि देवत्वकरण नै भनिन्छ । पुँजी विज्ञान प्रविधिको विकास गर्ने राज्यहरुले जव मानिसको निम्नतम आवस्यक पर्ने वस्तुहरु उपलव्ध गराई जीवन सहज गराए र उनीहरुको हकलाई पनि स्वीकार र सम्मान गर्न थाले तेस पछि भने मानिसहरुले भाग्यको भरोसा गर्नुभन्दा निष्ठापुर्वक काम गरेर राज्यलाई वलियो र सम्वृद्द वनाउने तर्फ लागे ।

देशको राजनैतिक सामाजिक आर्थिक विकास तथा पारदर्शि र जवाफदेहीताकोलागि आधारभुत संयन्त्रहरु वलियोे वनाए, जसले गर्दा राजनीतिमा व्यक्ति हावी नभएर पद्दति हावी भयो यसले गर्दा मानिसहरुमा राजनीति गर्ने, यसको माध्यमवाट समाजमा प्रतिष्ठित वन्ने, चर्चामा आएर रस लिने कुरामा रुची लिन छाडेकोले पदको लागि लुछाचुडी गर्ने संस्कार नै वसेन । तर हाम्रो मुलुकमा भने अहिले सम्मको राजनैतिक अवस्था भने धेरै भिन्न छ । परिवर्तनको वाधक भनिएको राजतन्त्र फ्रयाकेर गणतन्त्रको स्थापना त भयो तर तेही राजतन्त्र फ्याक्न नेत्रृत्व गर्ने पात्रहरुमा तिनै राजाको जस्तो शान मान शक्तिवान वन्ने मनको कुनै पत्रमा वासनाले प्रवेश गर्यो ।

वाहिर निर्मोही,निर्लोभी, न्याय,समानताका हिमायती, दीनवन्धु, प्रगतिशील, अग्रगामी के के भनिएता पनि उनीहरुमा राजाजस्तै वन्ने भित्री चाहनाहरु हो भन्ने अहिले व्यवहारवाट छर्लङ्गै भैसकेको छ । विज्ञान र प्रविधिको विकास गरी समाज समुन्नत नहुने समय सम्म भाग्यवादमा विश्वास गर्ने चलन घट्दो रहेनछ तेसै भएर हेर्नुहोस हामी कँहा अहिले दैनिक राषिफल हेरेर नयाँ काम गर्ने, हरेककाममा ज्योतिस हेराउने ग्रहकटाउने चलन व्यापक छ, राज्यका ठुला पदाधिकारीमा पनि यो चरित्र देखिन्छ । हाम्रोमा मात्र होइन अल्पविकसित र केही विकासोन्मुख मुलुकमा समेत पदमा वसेर कोही अघाउदैनन, तेसैले अस्वस्थ प्रतिस्पर्धा, कुटिल षडयन्त्र गरेर पनि पदमा टिक्ने प्रयास गर्दछन् । मोहको कारणले आँफुवाट जनताको काम हुन नसकेको कुरा स्वीकार गर्न, आलोचना सुन्न सहन गर्न सक्दैनन किन भने मोहले कहिल्यै पनि हार स्वीकार गर्न दिदैन । आलोचना धेैर्य पुर्वक सुनेर सुधार गर्नुको सट्टा साधनको दुरुपयोग गर्दै र निकटस्थ कार्यकर्ता लगाएर उ नै उत्कृष्ट छ, उस्को कार्यक्रम उत्कृष्ट छ भन्दै देवत्वकरण गर्ने प्रयास गर्दछन ।

एउटा भनाइ छ एउटै कुरालाई सय पटक ढाँटेपछि त्यो कुरा सत्य ठहरिन थाल्छ वरु त्यसको विरोध गर्ने उल्लु ठहरिन्छ । कोही कसैले जिम्मेवारी भित्रको अलिकति काम गरेमात्र पनि उसलाई पनि यति धेरै सम्मानको अपेक्षा हुन्छ तर आँफु सोही कामको लागि नियुक्त भएको हो र त्यसवापत राज्यले कति सुविधा सम्मान दिएको छ भन्ने कुरा चटक्कैे विर्सन पुग्छन् ।

देश र जनताका लागि समर्पित भएर तेसवापतको सम्मान र प्रचारको आसा नराखी राजनीति तथा समाजिक र अन्य क्षेत्रमा खुरुखुरु सेवा गर्ने धेरै महानुभाव हरु पनि हुनुहुन्छ अहिले पनि, तर वँहाहरु छाँयामा पर्नुहुन्छ । राज्यका गतिविधि प्रति खरो टिप्पणी गर्ने, जनतालाई न्याय तथा राहत दिलाउनको लागि डटेर सहयोग गर्ने राष्ट्रिय स्तरको पहिचान वनाउने केही व्यक्तिहरु अहिले देखिएका छन् ,जनताले उनीहरुलाई देउता जस्तै मान्दछन् तर के गर्ने उनीहरुको कुनेै संगठन नभएकोले प्रभावकारी हुन सक्दैन । के तेसो भए संधै यथास्थितिमा रहनुपर्ने नियत हो हाम्रो ? अव धेरै तिरवाट सुधारका लागि दवाव श्रृजना हुने क्रममा छ । सायद अव व्यवस्था फालेर होइन कि पार्टिमा वा राज्यमा व्यक्ति प्रधान होइन पद्दति प्रधान हुने परिपाटी सुरु गरिने छ यसले व्यक्ति पुजा विस्थापित हुने छ ।

अदालत, भ्रष्टाचार नियन्त्रण गर्ने संस्था तथा निकायहरुलाई वलियो र स्वतन्त्र गराउन सकियो भने २। ४ वर्षमानै देशले सम्वृद्दि र प्रगतिको वाटो समात्न थाल्छ । मानिस जुन कुराको अभावमा गुज्रनुपर्दा आँफुलाई अभागी ठान्द छ, दुःखी ठान्दछ तेसकुराको समाधान भएर सम्वृद्दहुन थालेपछि कुनै मानिसलाई देवता ठान्नुको वदला यो मेरो हक हो भन्ने विश्वास गर्दछ तव भाग्यवाद, रुढीवादी मान्यताहरु र देवत्वकरण स्वतः समाप्त हुनेछ तव अनेक प्रपन्च गरी देवता जस्तै घोषित हुन चाहने हरुको मन पनि अल्लि धनी हुने छ र साँच्चै भलाद्यी वन्नेछन् ।

Facebook Comments Box
TOP